नारायणप्रसाद श्रेष्ठ
प्राकृतिक सत्यभित्र लुकेर जन्ममरणको इतिहास बोकेको समयको गति निरन्तर गतिशील भइरहेको छ । हिजो, आज र भोलि हुँदै सत्य, त्रेता, द्वापरको अन्त्यसँगै कलियुगले पनि अन्तिम क्षण सुरु गरिसकेको छ ।
सत्य र असत्य, राम्रो र नराम्रो अवस्थाको सिर्जना गर्दै मानव जीवन स्वयम् यसको अधिनमा रही गतिशील भइरहेको छ । एक दिन, दुई दिन हुँदै महिनौँ, वर्षौं भएर जीवन बितिरहेको छ । समयले मानिसलाई यसरी नै चलायमान गराइरहेको छ ।
गतिशीलता प्रकृतिको नियति नै हो । तसर्थ, यो नियममा आउने प्रत्येक क्षण यसरी नै बगिरहने सत्यलाई अंगीकार गर्दै मानव जीवनले आफूलाई प्राप्त अवसर सदुपयोग गर्न जान्नु पर्छ । यो नै बुद्धिमानी हो ।
समयले दिने चुनौती र अवसरलाई यो जीवनको गोरेटोमा आउने सुनौलो क्षण हो भन्ने सोचको विकास गरी मानव जीवनले आफूलाई चलायमान बनाउनु पर्छ । जीवन क्षणभंगुर हो । यो कुनै पनि बेला नष्ट हुनसक्छ, यस कुरालाई सधैं यादमा राखी आफूलाई प्राप्त अवसरको प्रयोग गर्न कदापि पछाडि पर्नु हुँदैन । घुमिरहने जीवनचक्रको क्षणलाई सदुपयोग गर्नु नै बुद्धिमानी मानिन्छ ।
प्रत्येक विहानले मनुष्यलाई नयाँ गति दिइरहेको हुन्छ । जीवन र जगत के हो ? यो कसरी चलायमान भई बाँच र बचाउन उत्प्रेरित भइरहेको छ ? यसबारे प्रत्येक विहानीले मानिसलाई नयाँ उत्साह थपिरहेको हुन्छ । जीवन किन र कसका लागि आएको हो ? यसको अन्तिम गन्तव्य कहाँ हो ? जड स्वरुप बनेको पञ्चतत्व शरीर कहाँ गएर अत्य हुन्छ ? यस कुराको छिनोफानो गर्दै प्रत्येक विहानीले मानिसलाई सचेत गराइरहेको पनि हुन्छ ।
जन्मपछि मृत्यु सत्य छ । एक दिन मानिसले यो भौतिक शरीर, संसार छोड्नै पर्दछ । धनी, गरीब, उच, नीच, ठूलो सानो यसमा भेद रहँदैन । आज एक दिन भोलि एक दिन गर्दै मानिसको प्रत्येक विहानी यसरी नै गुज्रिरहेको छ ।
आज जसरी बित्यो त्यसरी नै भोलि पनि बितिरहेको लाग्ने मानव सोच दिन प्रतिदिन बदलिरहेको पत्तै नहुने गरी अगाडि बढिरहेको हुन्छ । विभिन्न रुप, रंग र विचारले विविधिकरण भएको मानवीय चिन्तनमा देख्दा उस्तै लागे पनि कसैले यसलाई अवसरको रुपमा लिई सगुन साकारतर्फ प्रदर्शन गरिरहेका हुन्छन् भने कसैले यसलाई देहअभिमानी भएर अगाडि बढिरहेका हुन्छन् ।
तसर्थ, प्रत्येक विहानीले ल्याउने परिवर्तित सत्यलाई बुझी प्रत्येकले आफ्ना विवेक र कर्मलाई परिमार्जित गर्नुपरेको छ । यसका लागि पहिले म र मेरो अस्तित्वको पहिचान गर्न जरुरी हुन्छ । म को हुँ, कहाँ जाने हो ? जीवन कसरी निर्वाह भइरहेको छ ? विगत कसरी बित्यो ? वर्तमान कसरी गुज्रिरहेको छ, र भविष्य कसरी गुज्रने हो ? यो कुरालाई हृदयंगम गरी अनादि सत्यको पहिचानसँगै आत्मतत्वको पहिचान दिनु परेको छ ।
अहिले हामी देहअभिमानी भएर दिनको २४ घण्टामा १८ घण्टा दौडधुप गरिरहेका छौँ र ६ घण्टा सुतेर बिताइरहेका छौँ । हामीलाई एकछिन पनि जीवनबारे सोच्ने फुर्सद छैन । शरीरधारी जीवनचक्रको अभिमानमा आफूलाई प्रस्तुत गरेका छौँ ।
हाड, मासु, छालाले बनेको शरीर नै सबैथोक हो भनी यसैको स्याहार गर्दैमा आफूलाई सर्वोपरी र भाग्यमानी ठानिरहेका छौँ । पञ्चतत्वले बनेको शरीर नाशवान् छ । प्रकृतिबाट उत्पन्न भएको शरीर प्रकृतिमै विलय हुन्छ भन्ने जान्दाजान्दै पनि शरीरधारी जडतत्वको पहिचानमै हामी भागदौड गरिरहेका छौँ । आज नभए त भोलि पक्कै हुन्छ भनी प्रत्येक विहानीलाई कुरिरहेका छौँ ।
समयको परिवर्तनसँगै शारीरिक बनावटमा आएको बाल, युवा र बृद्ध नै जीवन हो भनी यसैभित्र रुमलिरहेका छाँै । जसले गर्दा हाम्रो प्रत्येक कर्म र व्यवहारमा जडस्वार्थ प्रतिबिम्व भइरहेको छ । देखावटी र बनावटी चालभित्र आफूले आफैलाई बिर्सिरहेका छौँ । के यही सत्य हो र ? के नयाँ विहानले यही सन्देश दिन खोजेको हो त ? कतै हामी यस्तै अहंकार र स्वार्थभित्र परिपोषित त छैनौँ ? प्रत्येक दिन जसरी विहान भएर गुज्रन्छ त्यसैले जडतत्व शरीर पनि बदलिरहन्छ ।
यो हामी किन भुलिरहन्छौँ ? शरीरलाई भौतिक आनन्दभित्र परिपोषित गर्नु मात्रै के जीवन हो र ? तसर्थ यस कुरालाई आत्मसात गरी यस कुराको गम्भीर रुपले चिरफार गर्नु जरुरी छ । अग्नि, जल, वायु, पृथ्वी र आकाश यी पाँच तत्वभित्र संरचना भएको मानव शरीर केवल केही दिनको पाहुना मात्र हो ।
यो सुरुमा जहाँबाट आयो त्यहीँ गएर विलिन पनि हुन्छ । यो सत्यलाई स्वीकार्न प्रत्येक विहानीले हामीलाई घचघच्याइरहेको छ र प्रेरणा जगाइरहेको छ । तसर्थ, प्रत्येक विहानीले दिने उत्साह, उमंग र हौसलालाई जीवनको सही गन्तव्यभित्र परिचालित गर्न प्रत्येक जिवात्मा स्वयम् जिम्मेवार भएर प्रस्तुत हुनु पर्छ यो सबैले बुझ्न जरुरी छ ।
हाम्रा प्रत्येक कर्म र व्यवहार जडशरीरको माध्यमबाट प्रदर्शन भइरहे पनि वास्तवमा कसबाट परिचालित छौँ ? कतै हामी वाह्य आवरणमा मात्र सीमित त भएनौँ ? हामीलाई परिचालन गर्ने चैतन्य शक्ति आत्मा हो वा शरीरधारी जडतत्व हो ?
चैतन्य स्वरुप जिवात्मा जडशरीरमा प्रवेश गरी हामी हाम्रो कर्मलाई विचार र संस्कारले परिपोषित गरी अगाडि बढेका छौँ वा आत्मा नै यसको मालिक हो, यही मालिकबाट भए गरेको निर्देशन अनुसार हामी चलायमान भएका छौँ । यसको गम्भीर रुपले चिन्तन गर्नुपरेको छ । वास्तवमा भन्ने हो भने चैतन्य शक्ति आत्मा हो । यही आत्माले जडशरीर धारण गरी मानव चेतना जागृत गराइरहेको हुन्छ ।
भनिन्छ शरीर घर हो, आत्मा यसको मालिक हो । शरीर रथ हो, आत्मा रथ हाँक्ने शक्ति हो । तसर्थ, आत्मस्वरुप मानव शरीरको पहिचान गरी मानिसले आफूलाई परिचय दिनु पर्छ । तर यो सोच्ने मानिसलाई फुर्सद नै छैन । मानिस पदप्रतिष्ठा र विविध नाम, उपनाममा आफूलाई रुमलिरहेका छौँ ।
आत्मतत्वको पहिचानसँगै सगुनसाकार कर्मभित्र आफूलाई चिनाउनुको साटो प्रत्येक विहान आउँछ जान्छ भनी हल्का रुपले प्रत्येक विहानीले दिने ऊर्जा र शक्तिलाई स्वार्थतिर आकर्षित गरिरहेका छौँ । आत्मशक्तिभित्र लुकेको मानवीय क्षमतालाई त्याग र समर्पणको माध्यमबाट जीवनलाई परिवर्तन गरी बुद्धि र विवेकको सहारा खुशी र आनन्द बनाउनुको साटो केवल वाह्य भौतिक आडम्बरलाई हामीले प्राथमिकता दिइरहेका छौँ ।
तसर्थ, यसको वास्तविकतालाई पहिचान गरी चैतन्य शक्तिबाट परिचालन हुने मनको पवित्र गंगालाई दूषित हुनबाट बचाऔँ । हृदयबाट प्रज्वलित प्रकाशस्वरुप शक्तिपुञ्जलाई पहिचान गरी अँध्यारोपछि उज्यालोले दिने सत्यको पहिचान गरौँ । मिरमिरे उज्यालोसँगै झुल्किने विहानीले हामीलाई यही सन्देश दिँदै छ ।
भौतिक युगले शृंगारिएको वाह्य आवरणमा देखिने शक्ति केवल अनुभव मात्र हो । यसले जीवनमा खासै गोरेटो निर्माण गर्न सहयोग पु¥याउन सक्दैन । जेजति कर्म र व्यवहार भएका छन् ती सबै आत्मसत्यले पहिचान गरेको निर्देशनअनुसार भए गरेका छन् । अहिलेसम्म हामी मरेको आत्मालाई मृतआत्मा भन्ने मानसिकताबाट पछि हट्न सकेका छैनौँ ।
आत्मा मर्दैन, जडशरीर मात्र मर्दछ भन्ने पहिचान भएर पनि यस कुराको निक्र्यौल गर्न हामी पछाडि परेका छौँ । न त हामी यसको अस्तित्व स्वीकार्ने योग्य बनेका छौँ न त जीवनको यथार्थ परिचय दिन सक्षम नै छौँ । त्यसैले मानिस–मानिसबीच वा आत्मा–आत्माबीच देखिने भेदभावपूर्ण विचार र भ्रमलाई हटाई हामी र हाम्रो अस्तित्व ईश्वरीय रचनामा रहेको आत्मतत्व हो ।
यही आत्मतत्वले हामी र हाम्रो परिवेशलाई गतिशील बनाएको छ भन्ने सोच राखी प्रत्येक विहानीले ल्याउने सुनौलो अवसरको निर्माणमा आफूलाई परिचय दिन सक्षम बनौँ । समयले यही खोजिरहेको छ । जडतत्वभित्र रहेको आत्मतत्वको निर्देशनअनुसार परिचालित मन, बुद्धि र विवेक नै विचारशक्ति र संकल्पशक्ति हो भन्ने बुझी प्रत्येक नयाँ दिनको सुरु गर्ने नयाँ विहानीले शुभमुहर्तको आभाष दिएको हुन्छ भनी आफ्नो कर्म र व्यवहारमा सकारात्मक गति निर्धारण गरौँ ।
अहिले कोरोनाले मानिसको मन, विचार र कर्ममा अस्वाभाविक किसिमले विचलन ल्याएको छ । हामी आफै छट्पटाइरहेका छौँ । यो के–के न हो भनी भ्रम पनि सिर्जना गरिरहेका छौँ । वास्तवमा यो एक किसिमको सरुवा रोग हो । यस्तो रोग यसभन्दा पहिले पनि आएको थियो । यो जीवनले नभोगेको हुँदा त्रास बढेको मात्र हो ।
तर पनि आत्तिनुपर्ने छैन । किनकि मानव जीवनको यो आत्मसत्यले यसको अवश्य पनि निराकरण गर्न सक्षम हुन्छ । पुनः नयाँ विहानी आउने छ । यस्तो विचार राखी आत्माले पहिचान दिने खोजेको सत्यको यथार्थसँग परिचित हुन सिकौँ । उदायपछि अस्ताउँछ भनेझैँ सुरु भएपछि यसको अन्त्य अवश्य हुन्छ । समयलाई पर्खनु परेको छ ।
धैर्य र सशाहसका साथ समयको परिवर्तनसँगै नयाँ विहानीले ल्याउने सुनौलो भविष्यको लागि हामीले आफूलाई परिचय दिन सिकौँ । हाम्रो कर्म र व्यवहारमा परिस्कृत गरौँ । छाडा प्रवृत्ति वर्तमानको लागि चुनौती भएर आएको छ । यस कुराको हेक्का राखौँ । यही वर्तमानको आवश्यकता छ ।