मुख्यमन्त्रीलाई खुल्ला पत्र
मुख्यमन्त्री शंकर पोख्रेलज्यू,
तपाईको विशेष पहलमा बेलझुण्डीको आयुर्वेद अध्ययन संस्थानअन्तर्गतको शिक्षण अस्पतालमा कोरोना विशेष अस्पताल निर्माण भएकोमा हामी सम्पूर्ण दाङबासीहरु हजुरलाई विशेष धन्यवाद दिन चाहन्छौं ।
विश्वव्यापी कोभिड–१९ को संक्रमणसँगै नेपालमा पनि यसको उच्च जोखिम प्रमाणित भइसकेको छ । यस्तो अवस्थामा पहिले प्रादेशिक राजधानीका रुपमा चर्चित भवनमा अहिले कोरोना विशेष अस्पताल तपाईकै विशेष पहलमा स्थापना भएको हो ।
अहिले ५ नं. प्रदेशभरका बिरामीलाई यही अस्पतालमा उपचारसेवा प्रदान गर्न सकेकोमा हामी स्थानीयवासी पनि गौरवान्वित भएका छौं । कोरोना विशेष अस्पतालले पनि दाङलाई चिनाएको छ ।
बाँके बर्दियादेखि कपिलबस्तु नवलपरासीसम्मका बिरामीहरुले यस अस्पतालमा उपचारसेवा लिइरहेका छन् । केही संक्रमित निको भएर फर्किक पनि सकेका छन् । कोरोनाको संक्रमणले अहिले विश्व नै त्रसित भएको छ । मान्छे देखेर मान्छे डराउने अवस्था आएको छ ।
आफ्ना अंग प्रत्यंग देखाएर हिँड्ने मान्छेलाई अहिले मुखसमेत छोपेर हिँड्ने समयले बनाएको छ । हामी पनि त्यसैको नियति भएका छौं ।
मुख्यमन्त्रीज्यू,
अस्पताल त बनाइदिनुभो, योसँगै कोरोनाको संक्रमण नरहे पनि यो अस्पताल रहिरहने छ भन्ने हाम्रो आशा हो । हो, उहिल्यै विफरले सताएको थियो, त्यसपछि मलेरियाको महामारी, त्यसपछि स्वाइनफ्लु, डेंगु हुँदै अहिले कोरोना ।
पछि फेरि अर्को महामारी पनि आउन सक्ने छ । त्यो बेला अर्को बेलझुण्डी खोज्नुपर्ने अवस्था नआओस् भन्न चाहन्छु । त्यसका लागि मुख्यमन्त्रीले अर्थपूर्ण भूमिका निर्वाह गर्नुहुनेछ ।
बेलझुण्डीमा कोरोना अस्पताल त सञ्चालनमा आएको छ तर त्यहाँ चाहिने पर्याप्त उपचार सामग्रीहरुको व्यवस्थापनका सन्दर्भमा विभिन्न गुनासाहरु आइरहेको सुन्छौं । कोरोना विशेष अस्पतालमा आफ्नै स्वामित्वका सरसामानहरु पनि जुटाउने अवसर यही हो भन्ने मुख्यमन्त्रीले बुझ्नुहुनेछ ।
विशेष अस्पतालमा विशेष सेवा उपलव्ध हुनुपर्छ भन्ने हामी आम दंगालीहरुको मान्यता हो । त्यसका लागि विशेषज्ञ चिकित्सकको दरबन्दी पनि सिर्जना होस्, स्टाफ नर्सहरुको दरबन्दी सिर्जना होस्, ल्याव प्राविधिकहरुको दरबन्दी सिर्जना हुन सकोस् ।
अस्पतालको आफ्नै स्वामित्वको भिडिओ एक्सरे मेसिन होस्, आइसियु मेसिन होस्, आफ्नै स्वामित्वको भेन्टिलेटर होस् । ताकि अर्को महामारीमा पनि यी चिकित्सक र यी सामग्रीहरु सहयोगी बन्न सकून् भन्ने हाम्रो चाहना हो ।
कोरोनाको संक्रमण सायद केही समयपछि कम हुनेछ वा केही औषधिहरु बन्नेछन् । तर त्यो बेला यो विशेष अस्पताल हट्ने अवस्था नआओस् । किनकि फेरि अर्को महामारीमा पनि यही अस्पतालले विशेष सेवा दिन सकोस् ।
चुनावताका सुरक्षाका लागि म्यादी प्रहरी भर्ना गर्ने र मतगणनाको परिणामपछि उनीहरुलाई सेवाबाट निकालेजस्तै यो अस्पताल पनि म्यादी बन्ने छैन । यसमा मुख्यमन्त्रीज्यूले विशेष भूमिका खेल्नुहुनेछ भन्ने हाम्रो अपेक्षा हो ।
हामीले यो र त्यो बहानामा यहाँ कोरोना अस्पताल स्थापना भएकोमा कुनै विरोध गरेका छैनौं । बरु जतिसक्यो सहयोग नै गरेका छौं । अरु स्थानमा क्वारेन्टाइन स्थापना गर्दा पनि विरोध भइरहेको सुनिन्छ तर हामीबाट यो अस्पतालको विरोध भएको अवस्था होइन, मुख्यमन्त्रीज्यू ।
कोरोना विशेष अस्पताल बेलझुण्डी र अस्पताल आसपास क्षेत्रलाई ५ नं. प्रदेशकै विशेष क्षेत्र बनाउन मुख्यमन्त्रीज्यूले पहल गर्नुहुनेछ भन्ने हाम्रो चाहना हो । अस्थायी राजधानी तोकेको बेला जस्तै यस क्षेत्रलाई निराशा बनाउने काम नगर्नुहोला ।
भन्छन् नि आफ्नाले दिएको चोट धेरै लाग्छ भनेर हामी हजुरको छिमेकीको नाताले पनि कहिल्यै चोट र गाली दिने पक्षमा छैनौं । तर मुख्यमन्त्रीज्यू यो र त्यो बहानामा भोलिका दिनहरुमा कोरोना अस्पताल र यहाँ आएका, भएका सेवालाई हजुरको वा ५ नं. प्रदेशको सरकारको निर्णयमा कोरोनाको महामारीपछि अन्यत्र सार्ने काम नगर्नुहोला ।
यदि त्यस्तो काम भयो भने हामी कुनै पनि हालतमा हजुरलाई माफी दिने छैनौं । र मुख्यमन्त्रीज्यूलाई स्मरण गराउन चाहन्छु कि जब तलाउमा पानी भरिन्छ, त्यहाँ माछाले किरा खाइरहेको हुन्छ, तर जब तलाउमा पानी सुकेर रित्तिन्छ, त्यही रहेको माछालाई साना किराहरुले खान्छन् ।
मुख्यमन्त्रीलाई याद रहोस्, पालो सबैको आउँछ, भोलि फेरि मुख्यमन्त्री नबन्न सक्नुहुन्छ, त्यसैले ५ नं. प्रदेशको स्थायी राजधानी र नामाकरण तोक्न सबै ठाउँका जनतालाई विशेष हुनेगरी विशेष स्थानमा तोक्नुहोला ।
जसरी कोरोना संक्रमित ५ नं. प्रदेशका जनतालाई कोरोनाको संक्रमणको उपचार गर्न सहज वातावरण मिलेको छ । कोरोना विशेष अस्पताल आउँदा डर, त्रासमा भएका यस क्षेत्रका नागरिकलाई स्थायी राजधानी दिएर खुसी साट्ने अवसर दिनुहोला । धन्यवाद ।
शंकर नेपाली (जिल्ला सदस्य)
नेपाल तरुण दल, दाङ