दाङ, १९ जेठ । मानवअधिकार तथा शान्ति समाजका केन्द्रीय महासचिब सुशील बस्नेतले रुकुम पश्चिम चौरजारी घटनालाई सत्ता पक्षकै जिम्मेवार नेताहरुबाटै घटनालाई तोडमोड गर्न खोजेको आरोप लगाएका छन् ।
शान्ति समाजको २५औं स्थापना दिवसका अवसरमा सोमबार तुलसीपुरमा आयोजना गरिएको कार्यक्रममा सम्बोधन गर्दै महासचिव बस्नेतले सदनमा समेत गलत रिपोर्टिङ भएको बताए । जिम्मेवार नेताबाट नागरिकलाई गुमराह बनाउने कोशिस गरिएको छ, यो पनि सामाजिक अपराध भएको बताउँदै महासचिव बस्नेतले यस किसिमका क्रियाकलापले समुदायमा द्वन्द्व बढाउने भएकाले घटनामा संलग्न ब्यक्तिहरुलाई संरक्षण गर्न नहुने बताए ।
शाखा सभापति शरद रेग्मीको अध्यक्षतामा भएको कार्यक्रममा शान्ति समाज दाङ शाखाका संस्थापक सभापति एवं बरिष्ठ अधिवक्ता डिल्लीराज धितालले राजनीतिक अधिकार, सामाजिक न्याय, समुन्त समाज निर्माणका लागि शान्ति समाजले अग्रणी भूमिका निर्बाह गरिरहेको बताए । दलित नागरिक समाजका छवि परियारले शान्ति समाजले जातीय बिभेदका बिरुद्ध गरिरहेको अभियानप्रति खुसी ब्यक्त गरेका थिए ।
त्यस अवसरमा शान्ति समाजका पूर्ब केन्द्रीय सदस्य निर्मल नेपाली, शाखाका पूर्ब सभापति सुरेश श्रेष्ठ, विभागीय संयोजक नवीनकुमार पोख्रेल, सामाजिक अभियन्ता टोपबहादुर महतरा, नेपाल निजामती कर्मचारी युनियन संघका जिल्ला उपाध्यक्ष रेश्मीराज अधिकारी, लायन्स क्लवका अध्यक्ष यज्ञबहादुर केसी, नेपाल रेडक्रस सोसाइटी दाङका विश्राम अधिकारी र भीमलाल मरासिनी, त्रिशिद्धेश्वरी टोल विकास संस्थाका होमराज शर्मा, पत्रकार गोपाल शर्मा भट्टराई र प्रकाश डाँगीलगायतले शुभकामना मन्तव्य ब्यक्त गरेका थिए ।
कार्यक्रममा स्वागत मन्तव्य उपसभापति तुलसीराम सुनार, धन्यबाद ज्ञापन कोषाध्यक्ष अमृतप्रसाद शर्मा र सहजीकरण सहसचिब उषा गौतमले गरेकी थिइन् । २०५३ साल जेठ १९ गते शान्ति समाजको स्थापना भएको हो ।