मन्त्रालय नयाँ रणनीति बनाउँदै
गोरक्ष समाचारदाता
दाङ, १९ जेठ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोनाका संक्रमितहरुको संख्या बढेसँगै अब लक्षण देखिएका र नदेखिएकालाई फरकरुपमा राख्ने योजना बनाएको छ । बिरामीहरु बढेसँगै लक्षणका आधारमा संक्रमित र बिरामी गरी दुई भागमा विभाजन गर्ने र संक्रमितहरुलाई राख्नका लागि अहिलेका क्वारेन्टाइनहरुलाई अपग्रेड गरेर आइसोलेसनको रुपमा विकास गर्ने योजना बनाएको मन्त्रालयले जनाएको छ ।
‘क्वारेन्टाइनलाई अपग्रेड गरेर त्यहाँ संक्रमितहरुलाई राख्ने र लक्षण देखिएका बिरामीहरुलाई अस्पतालमै राख्ने गरी व्यबस्था मिलाउनपर्ने सोच मन्त्रालयको छ’, सोमवारको नियमित प्रेस ब्रिफिङमा प्रबक्ता डा. विकास देवकोटाले भने । लक्षण नदेखिएका संक्रमितहरुलाई घरमै बसाल्नुपर्ने स्थिति पनि आउनसक्ने उनले बताए ।
क्वारेन्टाइनमा मानिसहरु खचाखच राखिएको सूचनाहरु मन्त्रालयसम्म पुगेको जानकारी दिँदै प्रबक्ता डा. देवकोटाले क्वारेन्टाइनको व्यबस्थापनको दायित्व स्थानीय तहको भएको प्रष्ट्याउँदै प्रदेश सरकार र स्थानीय सरकारले यसतर्फ ध्यान पुराउनुपर्ने बताए ।
‘क्वारेन्टाइनको मापदण्ड स्वास्थ्य मन्त्रालयले बनाएको छ, चेकलिष्ट बनाएर नियमन गर्नुस् र पूरा भए÷नभएको हुर्नुस् र पूरा गर्न कोशिस गर्नुस्’, डा. देवकोटाले क्वारेन्टाइनको व्यवस्थापन गर्ने निकायलाई लक्षित गर्दै भने– ‘त्यसपछि पनि केही गर्न पर्ने भएमा प्रदेश सरकारको सामाजिक मन्त्रालय र संघीय सरकारको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा पत्र लेखिपठाउनुस्, हामीले हेर्नेछौं ।’ उनले क्वारेन्टाइनको खानपिन, सरसफाई, शौचालयलगायतको व्यबस्थापनको जिम्मा स्थानीय सरकारको भएको पनि स्पष्ट पारे ।
थपिने क्रम जारी
स्वास्थ्य मन्त्रालयले सोमबारसम्म नेपालमा कोरोना संक्रमितको संख्या १ हजार ८ सय ११ पुगेको जनाएको छ । मन्त्रालयले दिएको जानकारीबाहेक यता दाङमा फेरि संक्रमित थपिएको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानले जनाएको छ । मन्त्रालयको पत्रकार सम्मेलनभन्दा पछाडि विज्ञप्ति जारी गर्दै प्रतिष्ठानले सोमवार ९ जना संक्रमित थपिएको जनाएको हो । सोमबार थपिएका नौ जनासँगै दाङमा कोेरोना संक्रमितको संख्या ४३ पुगेको छ भने घोराही उपमहानगरपालिकामा १८ जना पुगेको छ ।
राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान दाङमा गरिएको परीक्षणमा घोराही उपमहानगरपालिकाका १, २, ५ र १७ नम्बर वडाका व्यक्तिहरुमा संक्रमण देखिएको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानका निमित्त कायम मुकाय रजिष्ट्रार कैलाशप्रसाद देवले जानकारी दिएका छन् ।
उनका अनुसार कोरोना संक्रमणको आशंकामा दाङको घोराही उपमहानगरपालिका र बंगलाचुली गाउँपालिकाबाट संकलन गरिएका २ सय ३२ नमुना परीक्षण गर्दा ९ जनामा कोरोना संक्रमण देखिएको हो । उनीहरुमध्ये घोराही उपमहानगरपालिका–१ निवासी ३१ बर्षीय पुरुष र ११ बर्षीया बालिका रहेका छन् ।
त्यसैगरी घोराही उपमहानगरपालिका–२ निवासी १९, २६, ४०, ४५ र ४६ बर्षीय पुरुष रहेका छन् भने १९ बर्षीया एकजना महिला रहेकी छिन् । घोराही–५ का ५३ बर्षीय पुरुष र घोराही–१७ का २० बर्षीय पुरुषहरु रहेका छन् ।