मधुसूदन सुवेदी
हाम्रा लागि विकासको उत्कृष्ट मोडेल भनेको आत्मनिर्भरता हो । यदि हामी आफू आत्मनिर्भर हुन र बन्न सकेनौं भने हामीजस्ताका लागि तिलको पहाड बनि नै रहने छ । प्राकृतिक प्रकोप तथा महामारी चलिरहने प्रक्रिया हो ।
मौसमअनुसार कुन बेला कस्तो प्रकोप र महामारी भित्रिन्छ, त्यो कसैको ज्ञानको कुरा होइन । ज्ञान भए पनि त्यसलाई टार्ने र बटार्ने कोही कसैसँग कुनै उपाय र जुक्ति छैन । हामी आज मात्र होइन, अस्ति, हिजो र विगतका समयमा हामीमाथि प्राकृतिक विपत्ति पर्दा त्यसमाथि थप संकट र अप्ठ्यारो परिस्थिति झेल्नुप¥यो र सहनुप¥यो ।
यदि प्राकृतिक प्रकोप र पीडामाथि फेरि अर्को कृतिम पीडा र प्रकोप थपिन्छ भने त्यो आफैमा भयावह बन्दछ । त्यसकारण हामीसँग वा हाम्रो हातमा प्राकृतिक पीडत र प्रकोपसँग लड्ने र जुध्ने यन्त्र र संयन्त्र नभए पनि कृतिम पीडा र प्रकोपबाट बच्ने त उपाय हुनुप¥यो नि ? पटक–पटक यो कृतिम पीडा भोग्दै र ब्यहोर्दासमेत हामीमा जनचेतना जाग्दैन भने हामी मानव कोटीको कि पशु कोटीको ?
यो प्रश्न हामीले आफैलाई सोध्नै पर्दछ । हामीमा यदि आत्मनिर्भरता छ भने हामीभित्रको शक्ति अर्थात् प्राकृतिक प्रकोपले थलिने मन त्यति साह्रो छिया–छिया हुँदैन । किनभने हाम्रा लागि चाहिने अत्यावश्यक चिज तथा पदार्थ हामीसँगै मौज्दात रहन्छन् ।
मानिसमा जे–जस्तो भए पनि एउटा मात्र पीडा भयो भने त्यससँग लड्ने सबै शक्ति त्यही प्रहार गर्छ र त्यो एकल प्रकारले त्यसलाई जित्न र परास्त गर्न पनि सक्दछ । यदि मानिससँग एकभन्दा बढी पीडा भयो भने उसलाई सामान्य बल र बुताले काम गर्दैन ।
उसलाई दुबैतिर दिने शक्ति पनि कम हुँदै जान्छ र मानिस आफ््नो जिन्दगीबाट हार खान थाल्दछ । आज हामी यही अवस्थामा छौं । एकातिर हामीमा कोरोना भाइरसको महामारी छ भने अर्कोतर्फ बिहानी हुँदा साँझ के खाने र साँझ हुँदा बिहान के खाने ? पीडाले सताएको छ ।
यदि यो के खाने ? भन्ने प्रश्नको उत्तर मात्र खोज्यो र त्यसका लागि आत्मनिर्भरताको बाटो पहिल्यायौं भने हाम्रा लागि यही आत्मनिर्भरताको बाटो बलियो पार्नुपर्दछ । भनिन्छ– ‘आकाश राहु, पाताल केतु, एकचोटी नपरे कसरी चेतु ?’ हामी त एकपटक होइन, दुईपटक होइन, तीनपटक होइन, पटक–पटक भोगिसक्यौ र चेतिसक्यौं ।
यो चेताईले पनि हाम्रो होश खुलाएन, जगाएन, उघारेन र सिकाएन भने हामी जस्ताका लागि दुःख र पीडाबाहेक अरु के नै पो होला र ? हाम्रो देश के हो र कस्तो छ ? यसलाई विचारेर हामीसँग भएका सारा प्राकृतिक सम्पत्तिलाई प्रयोगमा ल्याएर त्यसको सदुयोग गर्न नितान्त ध्यान दिन जरुरी छ ।
हामी र हाम्रा लागि पानीजहाज बनाउन कठिन होला, हेलिकप्टर बनाउन कठिन होला, रकेट बनाउन कठिन होला, ठूला–ठूला मेसिन बनाउन कठिन होला, यान्त्रिकीकरण तथा उपकरण बनाउन कठिन होला तर आफ्नै भूमि, जमिन र माटोमा समय, मौसम, बेला र महिनाअनुसार बीउ–बिजनको प्रयोग गरेर खनखोसर तथा जोतखन गरेर खेतीपाती गर्न त सक्छौं नि ?
हामीले आजसम्म सिकेको र जानेको कुरा त किनेर खाने र बेचेर किन्ने मात्र हो । हामीले यो संस्कारलाई हटाउन र पन्छाउन अब भूमिको जगेर्ना गर्नैपर्छ । उर्बर भूमिको संरक्षण गर्नैपर्छ । जमिनलाई मासेर बाटो बनाउने सपना देखेका हामी नेपालीलाई प्रकृतिले गाली गरिसक्यो र भनिसक्यो कि– ‘हे नेपाली हो ! अब उर्बर भूमिलाई सडक बनायौ भने तिमी पनि भोक–भोकै सडकमै भौतारिनेछौं र सडकमै माग्न बाध्य हुनेछौं ।
तसर्थ अब सडकलाई खेतबारी बनाउने कि खेतबारीलाई सडक बनाउने ? फेरि सोच । यदि भोक–भोकै बस्दा पनि सडकमा हिँड्दा तिम्रो भेट भरिन्छ भने खेतबारीलाई नष्ट पारेर सडकमा रुपान्तर गर । यदि भोकको बेला सञ्जिवनी भनेको एकगास अन्न हो भने अब एक गास अन्नको लागि चाहिने एक मुठ्ठी खन्न उबाज्ने संसकार हेर, भूमि हेर, जमिन हेर, माटो हेर र खेतबारी हेर ।
हाम्रा लागि हाम्रा पूर्खाले दिएको दिव्य उपदेश के हो भने उत्तम खेती, मध्यम व्यापार र निच चाकडी । अर्थात् खेती गर्नु हाम्रा लागि पहिलो सफल उपाय हो । व्यापार गर्नु हाम्रा लागि दोस्रो चुनौतीको मध्यम उपाय हो । जागिर खानु वा नोकरी गर्नु हाम्रा लागि तेस्रो गुलामी र चाकडीको अशक्त उपाय हो । त्यसैले कहिल्यै असफल नहुने खेतीमै हाम्रा लागि एक अपरिहार्य कर्म हो ।
जसले हामीलाई आत्मनिर्भरताको बाटोमा हिँडाउने काम गर्दछ । हामीलाई थाहा छ, आज छिमेकी मुलुक भारतबाट कति नेपाली स्वदेश आउँदै छन् ? हिजो छिमेकी मुलुक चीनबाट कति नेपाली स्वदेशमा फर्किए ? भोलिका दिनमा छिमेकी मुलुकलगायत अन्य मुलुकबाट फर्कने नेपाली कति होलान् ? ती सबैका लागि तुरुन्त, झट्ट र उत्तिनैखेर व्यस्त बनाउने उपाय के छ ? हामीले विदेशको जस्तो मेसिन, ऊर्जा, यन्त्र, संयन्त्र, प्रविधि, उद्योग, कलकारखाना तथा व्यापारिक धन्दा दिन सक्ने अवस्था त छैन ।
हामीले दिने भनेको हाम्रै नेपाली भूमि तथा खेतबारी नै हो । त्यसैले यदि हामी सबै मिलेर केही समय हाम्रो सम्प्ूर्ण नेपाली भूमि अन्नबालीले हराभरा र बाली–नालीले टन्न पार्न सक्यौ भने हाम्रो आत्मनिर्भरता बढेर जानेछ । यदि हामीसँग धान, मकै, गहुँ, जौ, कोदो, फापर, दाल, तोरी, मसुरो, सिमी, भाङ्गो, तरकारी, फलफूल, माछा, कुखुरा, अण्डा, गाई, भैसी, भेडा, बाख्रा यावत कृषिसँग सम्बन्धित बाली तथा पशुपंक्षी भएर नेपालभरि भरिपूर्ण भयो भने हामी केका लागि भौतारिने ? यदि पेटभरि आफ्नै देशमा बसेर खान र बस्न पाइन्छ भने विदेशी भूमिको सपना किन देख्नुप¥यो ?
अबको समयमा नेपालमा भएका र नेपालमा भित्रिने सबै नेपालीले सडकलाई मासेरै भए पनि खेतबारी बनाउने र खेतबारीमा अन्न फलाउने सपना देखेनन् भने हाम्रो भविष्य निकै पर धकेलिनेछ । हामीलाई दैवी प्रकोपले त सताउला, सताउला त्यसको सँगसँगै भोकमरी तथा परनिर्भरताले पनि हामीलाई गुलामी बनाउला । त्यसैले यो पछिल्लो दुःखद् घडी हाम्रा लागि सुनौलो अवसर पनि बन्न सक्छ । यदि हाम्रो सरकार र हाम्रो मनले भविष्यको मीठो नक्सा कोर्न र लेख्न जान्यो र सिकाउने भने हाम्रा लागि यो आत्मनिर्भर बन्ने एउटा दरिलो र भरपर्दो समय हो । ख्याल गरौं ।