दाङमा परीक्षणको दायरा बढाऊ

दाङमा दुईजना स्वास्थ्यकर्मीमा कोरोना संक्रमण देखियो । अहिलेसम्म भारतबाट आएकाहरुमा मात्र देखिएको छ र उनीहरु क्वारेन्टाइनमा छन् भनेर नआत्तिन बारम्बार आग्रह गरिएको थियो । संक्रमितहरुलाई राखिएको गढवाको क्वारेन्टाइनमा खटिएका स्वास्थ्यकर्मीहरुलाई संक्रमण सरेको देखिन्छ । यसरी क्वारन्टाइनबाट स्वास्थ्यकर्मीलाई सर्दै गर्दा संक्रमण समुदायमा फैलन समय लाग्दैन ।

तसर्थ दाङमा थप सतर्कता अपनाउनुपर्ने देखिएको छ । ‘कम्युनिटी ट्रान्सफर्म’ भनेको महामारीको तेस्रो चरण हो र यो खतरनाक हुन्छ भनेर बिज्ञहरुले भनिरहेका छन् । यो अवस्थामा क्वारेन्टाइनहरुलाई थप व्यवस्थित गर्नेदेखि त्यहाँ खटिनेहरुको सुरक्षा व्यवस्था अनि निरन्तर जाँचको व्यवस्थामा विशेष ध्यान दिन आवश्यक देखिएको छ ।

दाङमा परीक्षणका लागि ल्याव छ । यो ल्यावको अधिकतम् उपयोग गर्दै परीक्षणको दायरा बढाउन आवश्यक छ । पहिलेदेखि नै भनिदै आएको हो, फ्रन्ट लाइनरहरुलाई प्राथमिकता दिएर परीक्षणको दायरामा ल्याउनुपर्दछ ।

फ्रन्ट लाइनरहरुमा जोखिमको खतरा त हुन्छ नै उनीहरु संक्रमित भए भने कम्युनिटी ट्रान्सफरमेसनको चरणमा पुग्न कुनै समय लाग्दैन । यसकारण यहाँको प्रशासन, जनप्रतिनिधिहरु र स्वास्थ्य संस्थाहरुका बीचमा तत्काल सुमधुर र प्रभावकारी परिणाम दिनेगरी समन्वय हुन जरुरी छ ।

यस्तो समन्वयमा कता–कता कमी भएको महसुस भइरहेको छ । यो कमीले अब क्षति निम्त्याउने शिवाय केही पनि गर्ने छैन । त्यसकारण कुनै पनि हालतमा समन्वयका लागि सरोकारवालाहरु अग्रसर हुन जरुरी छ ।

समन्वय हुन नसकेमा नागरिकस्तरबाट दबाव र आक्रोश प्रकट हुनेछ, त्यसले अर्को खतरा वा समस्या थपिने छ । क्वारेन्टाइनमा खटिने स्वास्थ्यकर्मीहरु, नियमित स्वास्थ्य सेवा दिइरहेका स्वास्थ्यकर्मीहरु, सुरक्षामा खटिएका सुरक्षाकर्मीहरु, फिल्डमा रहेका र लामो दूरी पार गरेर कार्यालयमा पुग्नुपर्ने सञ्चारकर्मीहरु, अनुगमनका क्रममा हिँड्ने अधिकारवादीहरु, उपभोक्ताका प्रतिनिधिहरु, राहत तथा क्वारेन्टाइनको व्यवस्थापनमा खटिरहेका जनप्रतिनिधिहरु, प्रशासक, कर्मचारी, सामाजिक अगुवाहरुको भूमिका प्रशंसनीय छ ।

त्यो भूमिका यो संकटमा समयमा अझ प्रभावकारी ढंगले निरन्तर रहनु पनि पर्दछ । तर अब यसरी भूमिका खेल्ने वर्ग र ती वर्गभित्रका पात्रहरुको सूची बनाएर उनीहरुलाई परीक्षणको दायरामा ल्याउन विलम्ब गर्नु हुँदैन । यसका लागि समन्वय र प्राथमिकीकरण गर्ने निश्चित मापदण्ड निर्माण गर्न आवश्यक हुन्छ । यसका लागि सरोकारवालाका बीचमा छलफल जरुरी छ । यसको अगुवाई जनप्रतिनिधिले गर्दा उत्तम हुनेछ ।

संक्रमणले व्यक्ति हेर्दैन, आफ्नो पहुँच पुग्यो भने आक्रमण गरिहाल्छ । त्यसकारण संक्रमणलाई पहुँचमा आउन नदिनु नै कोरोनासँग बच्ने उत्तम उपायका रुपमा विश्वभर सुझाइएको छ । हामी पनि यो कुरालाई ध्यानमा दिएर मात्र आफ्ना गतिविधि गरौं ।

यो नागरिकको ड्यूटी हो । तर, जिम्मेवार निकाय वा पक्षलाई यो ड्यूटीले मात्र पुग्दैन । उनीहरुले नागरिकको स्वास्थ्यमा पहलकदमी लिन जरुरी छ । आवश्यक समन्वयका साथ परीक्षणको दायरामा फ्रन्ट लाइनरहरुलाई ल्याउने र क्वारेन्टाइनमा रहेका सबैको परीक्षण गर्ने काममा अब कुनै विलम्ब गर्नु हुँदैन । संक्रमणको महामारीकालमा कसैले पनि लापरवाही नगरौं ।