दाङमा पेइङ क्वारेन्टाइनको अभ्यास

खेमराज रिजाल
दाङ, १९ जेठ । दाङ जिल्लाका विभिन्न स्थानीय पालिकाहरुले सञ्चालनमा ल्याएका सामुदायिक क्वारेन्टाइनहरु व्यवस्थित हुन नसकेको सर्वत्र गुनासोसँगै केही स्थानीय पालिकाहरुले ‘पेइङ क्वारेन्टाइन’को अभ्यास शुरु गर्ने तयारीमा छन् ।

यसैक्रममा घोराही उपमहानगरपालिकामा ‘पेइङ क्वारेन्टाइन’को अभ्यास शुरु भइसकेको पालिकाले जनाएको छ । होटललाई क्वारेन्टाइनका रुपमा प्रयोग गरिएसँगै त्यहाँ बस्नेहरुको नियमित स्वास्थ्य परीक्षणको व्यवस्थापनसमेत सम्बन्धित पालिकाले मिलाउने बताइएको छ ।

सरकारले तेस्रो मुलुकबाट फर्कने नेपाली नागरिकहरुलाई उनीहरुले चाहेको स्थानमा ‘पेइङ क्वारेन्टाइन’मा राख्ने तयारी गरिरहेकै बेला घोराही उपमहानगरपालिकाले भारतबाट आएका केही दाङका नागरिकहरुलाई ‘पेइङ क्वारेन्टाइन’मा राख्न थालेको हो ।

अहिलेसम्म ४ जना यसरी ‘पेइङ क्वारेन्टाइन’मा बसिसकेको जनाइएको छ । नागरिकले शुल्क तिर्न सक्ने आर्थिक क्षमता भएको अवस्थामा उनीहरुलाई तोकिएको होटलमा राखेर सेवा दिइने नगरपालिकाले जनाएको छ । राखिएको होटल र बस्ने व्यक्तिको नाम भने सार्वजनिक गरिने छैन ।

स्थानीय पालिकाले व्यवस्थापन गरेका क्वारेन्टाइनहरुमा धेरै व्यक्तिहरुसँगै एउटै हलमा बस्नुपर्दा संक्रमण नभएको व्यक्तिलाई पनि सँगै बसेका संक्रमित व्यक्तिबाट कोरोनाको संक्रमण फैलनसक्ने भएकाले पैसा तिर्न सक्नेलाई पेइङ क्वारेन्टाइनमा राखिने बताइएको छ ।

नागरिकको चाहनालाई सम्बोधन गर्दै यस्तो व्यवस्थापन शुरु भएको हो । ‘कुन होटलमा कसलाई राखिएको छ भन्ने विवरण गोप्य राखिने छ, सम्बन्धित व्यक्तिका परिवारले मात्र जानकारी पाउन सक्नेछन्’, घोराही उपमहानगरपालिकाका प्रमुख नरुलाल चौधरीले भने । क्वारेन्टाइनका रुपमा प्रयोग हुने होटलहरुले अत्यधिक सुरक्षा व्यवस्था अपनाउने गरी यो अभ्यास शुरु भएको पनि नगरप्रमुख चौधरीको भनाइ छ ।

भारतका विभिन्न शहरहरुमा दैनिक ज्यालादारीमा काम गरेर फर्केका मजदुरहरुलाई भने उपमहानगरपालिकाले निःशुल्करुपमा खानाको व्यवस्थापन गर्ने समेत नगरपालिकाको तयारी छ । स्थानीय पालिकाहरुले अनुमान गरेभन्दा धेरै नागरिकहरु भारतीय सीमा नाकाबाट आउन थालेपछि सामुदायिक क्वारेन्टाइन व्यवस्थापनमै समस्या हुन थालेको छ ।

दाङ जिल्लाका विभिन्न १० स्थानीय पालिकाहरुमा व्यवस्थापन गरिएका क्वारेन्टाइनहरुमा सोमवारसम्म कम्तीमा ५ हजार नागरिकहरु बसिसकेका छन् । अझै त्यत्तिकै संख्यामा भारतीय सीमाबाट नागरिकहरु जिल्लामा आउने छन् ।

सीमा नाका बाँकेको रुपैडिया, कपिलबस्तुको कृष्णनगर र कञ्चनपुरको गड्डाचौकी नाकाबाट दैनिक करिब एक सयभन्दा बढीको संख्यामा भारतबाट यहाँका नागरिकहरु आइरहेका छन् । ती नागरिकहरुलाई कुनै पालिकाहरुले निःशुल्करुपमा खाना तथा लत्ताकपडाको व्यवस्था मिलाउँदै आएका छन् भने केही पालिकाहरुले भने खानासमेत सम्बन्धित व्यक्तिका घरबाट क्वारेन्टाइनमा उपलव्ध गराउनेगरी व्यवस्था गरेका छन् ।

यसअघि भारतबाट फर्केका नागरिकहरुलाई क्वारेन्टाइनमा राख्ने क्रममा सम्बन्धित पालिकाको सामुदायिक विद्यालयमा राखिँदै आएको छ । क्वारेन्टाइनमा बस्ने व्यक्तिका परिवारले उनीहरुलाई राखिएको क्वारेन्टाइनमा दैनिक खाना÷खाजा उपलव्ध गराउँदै आएका छन् । यो अवस्थाले यदि कुनै व्यक्ति संक्रमित रहेछ भने उसलाई खाना पु¥याउने परिवारका सदस्यमा पनि संक्रमण फैलन सक्ने सम्भावना देखिएको छ ।

पछिल्ला दिनहरुमा स्वास्थ्य उपचार तथा अन्य काम विशेषले भारत गएका नेपालीहरु गाडी रिजर्भगरी नेपाल फर्कन थालेपछि उनीहरुको आर्थिक अवस्था अनुसार शुल्क लिएर होटलमै क्वारेन्टाइनका रुपमा राख्न थालिएको हो । सम्भवतः केही दिनपछि तेस्रो मुलुकहरु कुवेत, साउदी, कतार, दुबईलगायतका मुलुकबाटसमेत नेपालीहरु फर्कने छन् ।

संघीय सरकारले काठमाडौबाट उनीहरुलाई सम्बन्धित स्थानीय पालिकासम्म पठाउने तयारी गरिरहेको छ । ती नागरिकहरुले आफूले शुल्क तिरेर होटलमा बस्न चाहेमा स्थानीय पालिकाले उनीहरुलाई होटलमा क्वारेन्टाइनका रुपमा राख्ने व्यवस्था मिलाउनसमेत संघीय सरकारले निर्देशन गरिसकेको छ । शुल्क तिर्न नसक्ने भएमा स्थानीय पालिकाले व्यवस्थापन गरेको क्वारेन्टाइनमा ती नागरिकहरुलाई कम्तीमा १४ दिन राखेपछि मात्रै घर जान दिइने छ ।

तुलसीपुर उपमहानगरपालिकाले पनि ‘पेइङ क्वारेन्टाइन’को तयारी गरेको छ । उपमहानगरपालिकाले बेलझुण्डीस्थित कोरोना विशेष अस्पतालमा काम गर्ने चिकित्सक तथा स्वास्थ्यकर्मीहरुका लागि यसअघि नै ‘पेइङ क्वारेन्टाइन’का रुपमा तुलसीपुरका विभिन्न होटलहरुलाई उपयोग गरिसकेको उपमहानगरपालिकाका प्रमुख घनश्याम पाण्डेले बताए ।

‘अहिले बेलझुण्डी कोरोना विशेष अस्पतालमा कार्यरत करिब एक दर्जन स्वास्थ्यकर्मीहरुका लागि केही होटललाई क्वारेन्टाइनका रुपमा प्रयोग गरिएको छ’, नगरप्रमुख पाण्डेले भने– ‘आवश्यक प¥यो र उपलव्ध हुने सम्भावना भएसम्म अन्य नागरिकहरुलाई पनि ‘पेइङ क्वारेन्टाइन’का रुपमा होटलहरु उपलव्ध गराउन सकिने छ ।

कोरोना विशेष अस्पतालमा संक्रमण पुष्टि भएका बिरामीहरु आएसँगै उपचारमा प्रत्यक्ष संलग्न स्वास्थ्यकर्मीहरुलाई एक साता ड्युटी गरेपछि १४ दिन क्वारेन्टाइनमा राखिने र फेरि काममा फर्काउने गरिएको छ । क्वारेन्टाइनमा रहने स्वास्थ्यकर्मीहरुको नियमितरुपमा कोरोना परीक्षण समेत हुने गरेको छ ।

कोरोनाको संक्रमण फैलिएर महामारीकै रुप लिएको अवस्थामा क्वारेन्टाइनमात्र नभएर आइसोलेसन वार्डका रुपमा समेत तुलसीपुरका केही संघसंस्थाका कोठा तथा सभाहल र होटलहरुलाई समेत उपयोग गर्न सकिने तयारी उपमहानगरपालिकाको छ ।

हाल तुलसीपुर उपमहानगरपालिकाका विभिन्न वडाहरुमा १० स्थानमा ५ सय ५० भन्दा बढी नागरिकहरु क्वारेन्टाइनमा बसिसकेका छन् । उनीहरुलाई अहिलेसम्म खाना र लत्ताकपडाको व्यवस्था उपमहानगरपालिकाले नै व्यवस्थापन गर्दै आएको तुलसीपुर उपमहानगरपालिका स्वास्थ्य शाखाका जनस्वास्थ्य निरीक्षक विमल केसीले बताए ।

क्वारेन्टाइनमा आउने क्रम दैनिकजसो बढिरहेको छ । उपमहानगरपालिकाले कम्तीमा २ हजार व्यक्तिलाई क्वारेन्टाइनमा राख्ने व्यवस्थापन गरेको छ ।