कृषकको रोजाइँको धान बीउ बजारमा अभाव

आधिकारिक निकाय भन्छ– ‘यो साल अब आउँदैन, विकल्प खोज्नुस्’
देवराज भण्डारी
दाङ, १९ जेठ । किसानहरुले धानको व्याड (बीउ) राख्ने समय शुरु भएको छ, तर बजारमा अत्यधिक माग हुने धानको बीउको भने अभाव देखिएको छ ।

पछिल्ला बर्षहरुमा यु.एस. ३१२ हाइब्रिड धानको बीउ कृषकको रोजाइँमा पर्ने गरेको छ । अन्य धानको तुलनामा छिटो पाक्ने, पानी कम हुने जमिनमा पनि उव्जाउ हुने, उत्पादन पनि स्थानीय जातको धानभन्दा झण्डै दोब्बर बढी हुने हँुदा यो धान कृषहरुको रोजाइँमा पर्दै गएको हो ।

कृषकको अत्यधिक माग रहेको यो धानको बीउको अभावले कृषकहरुमा एक प्रकारको चिन्ता देखिएको छ । ‘धानको व्याड राख्ने बेला भैसक्यो तुलसीपुर बजारभरी युएस ३१२ हाइब्रिड धानको बीउ खोजेँ कतै पाएन’, तुलसीपुर–७ घुसेरीका कृषक टोपबहादुर विकले भने ।

अझै १२–१५ दिनसम्ममा धानको बीउ नआए खेत बाँझै हुने हो कि भन्ने चिन्ता उनीसँगै धेरै किसानहरुमा रहेको छ । ‘अरु धान यो जति फल्दैन’, चिन्तित मुद्रामा विकले भने ।

त्यस्तै घोराही–६ लखवारकी कृषक सीता नेपालीेको गुनासो पनि उस्तै छ । ‘म एक हप्ता पहिले बजारमा आएर सम्पूर्ण एग्रोभेट पसल चहारेँ कतै पाएन, फेरि आजसम्म आयो कि भनेर आएको हुँ, आज पनि पाइएन’, बजारमा भौतारिँदै गरेको अबस्थामा भेटिएकी सीताले भनिन्– ‘यो धान अरु धानभन्दा छिटो पाक्थ्यो, पानी कम हुने ठाउँमा पनि फल्थ्योे, उत्पादन पनि अन्यको तुलनामा धेरै नै हुन्थ्यो, खानको लागि पनि मिठो–मसिनो, बेच्दा मूल्य राम्रै थियो ।’

अरु धान आफ्नो खेतमा सोचे अनुसारको उत्पादन नहुने भएकाले अझै पनि युएस ३१२ नै पर्खने उनको सोच छ । ‘फेरि ढिलो भएर खेत बाँझै हुने हो कि ?’ तनावयुक्त हाउभाउमा टाउको कन्याउँदै उनले भनिन् ।

युएस ३१२ धानको बीउ दाङमा लकडाउन हुनुअघि ६ सय क्वीन्टल आएको थियो । तर अझै २० प्रतिशत कृषकलाई अपुग भएको अनुमान गर्छन् तुलसीपुरमा लामो समयदेखि बिटी एग्रोभेट सञ्चालन गर्दै आएका निर्मल आचार्य ।

‘अरु थप धान आउने समयमा लकडाउन भयो त्यसैले गर्दा नआएको हो’, आचार्यले भने– ‘लकडाउन खुले अझै पनि आउन सक्छ तर लकडाउन लम्बिइरह्यो भने केही दिनमा नै अन्य प्रकारका हाइब्रिड धानको बीउ पनि पाइने छैन ।’

घोराहीको सौर्य एग्रोभेटका सञ्चालक हिरालाल थापाको अनुभवमा पनि सोही जातको धानमा कृषकको आकर्षण ह्वात्तै बढेको छ । ‘मैले यो विगतमा ७० देखि ८० क्वीन्टल बेच्थेँ, यो साल ४५ क्वीन्टल मात्र आयो, त्यो दुई हप्ताअघि नै बेचिसकेँ’, उनले भने– ‘यद्यपि युएस ३१२ को विकल्पमा अन्य प्रजातिका हाइव्रिड धानको बीउ रहेकाले उक्त कृषकलाई नआत्तिन सुझाव दिने गरेको छुँ ।’

युएस ३१२ बीउ धान उत्पादक कम्पनी नेपालका मध्यपश्चिम सेल्स इन्चार्ज बालकृष्ण लामिछानेका अनुसार कम्पनीमा स्टक सकिएकाले धानको बीउ नआएको हो । ‘आवश्यकताअनुसार गत वर्षको मागलाई आधार मानेर पहिले नै कम्पनीमा माग गर्नुपर्दछ सोहीअनुसार हामीले दाङका लागि १ सय ५० टन मगाएका थियौं तै पनि पुगेन’, लामिछानेले भने ।

अब यो साल युएस ३१२ धान नआउने हँुदा सम्पूर्ण कृषकलाई अन्य विकल्प खोज्न उनले आग्रह गरेका छन् । यो बीउ धानको बजार मूल्य प्रतिकिलो ५ सय रुपैयाँ थियो । यो साल धानको बीउमा यसरी माग आउनुमा कोरोना भाइरसको प्रभाव रहेको जानकारहरु बताउँछन् ।

मुलुकमा कोरोना भाइरसका कारण लकडाउन छ, स्वदेश तथा विदेशमा रोजगारी गर्ने केही जनशक्ति अहिले घरमा छ त्यसकाण विगतका वर्षमा बाँझै रहने जमिनमा यो साल खेती हुने सम्भावना भएको हँुदा बीउ–बिजन बढी बिक्री भएको हुनसक्ने बिक्रेताहरुको अनुमान रहेको छ ।