१२ को मृत्यु, २१ घााइते
प्रियास्मृति ढकाल
नेपालगञ्ज, १९ जेठ । भारतका विभिन्न स्थानमा मजदुरी गर्दै आएकाहरु कोरोना संक्रमणका कारण नेपाल फर्कने क्रम चलेसँगै आइतबार बेलुका रुपैडिहा आइपुगेको एउटा समूहले अध्यारो भैसकेपछि एउटा गाडी बुक गर्न खोज्यो ।
नेपाल प्रहरीसँगको समन्वयमा त्यहाँ रहेकामध्ये एउटा हाइस गाडीसँग उनीहरुको कुरा मिल्यो, सिधै सल्यान छाडिदिने र त्यसवापतको भाडा दिने ।
हतार–हतार सबै गाडीमा चढे । झोला झिम्टाहरु गाडीको छत र भित्र मिलाएर राखे । केहीबेर सुस्ताए, खाजा पानी खाए पनि । ढुक्क देखिन्थे उनीहरु अब घर पुगिने कुरामा । नेपाल भित्रिएपछि त घर पुगेको अनुभूति भयो कतिलाई ।
त्यसैक्रममा दाङ आउनेको सानो समूह पनि उनीहरुसँग सम्पर्कमा आयो र त्यही गाडीमा मिलेर सँगै यात्रा गर्ने सहमति भयो । राति १० बजे हाइस गाडीले नेपालगञ्जबाट आफ्नो यात्रा प्रारम्भ ग¥यो । अँध्यारो र खाली सडक अनि ‘लाहुरे’हरुको जत्था ।
रमाइलो गर्दै हुइकिए पूर्वतिर । एक्कासी अकल्पनीय क्षण आइपुग्यो । ‘लाहुेर’हरु बोकेर हुइकिँदै आएको बा ४ ख ९०६४ नम्बरको फोर्स गाडी पूर्व पश्चिम राजमार्गको अगैया नजिकै एउटा रोकिएको ट्रकमा ठोक्किन पुग्यो । त्यो भयंकर दुर्घटना हुँदा १२ जनाको मृत्यु भयो भने २१ जना घाइते ।
एक महिलासहित मृतक १२ जनामध्ये एकको उपचारको क्रममा भेरी अस्पतालमा निधन भएको थियो भने अन्यको अस्पताल पुराउँदै गर्दा नै मृत्यु भइसकेको थियो । अन्य घाइतेहरुको उपचार भइरहेको छ । तीमध्ये ४ जनाको अवस्था गम्भीर रहेको अस्पताल स्रोतले जनाएको छ ।
भेरी अस्पतालमा पुराइएका शवहरुबाट कोरोना परीक्षणका लागि विहान स्वाब निकालियो । घाइतेहरुको पनि परीक्षण गरियो । तर सबैको कोरोना संक्रमण नभएको देखियो । लकडाउन भएका कारण आफन्तहरु आउन सकेका छैनन् भने उनीहरुसँगको कागजातका आधारमा उनीहरुको सम्पूर्ण पहिचान खुल्न पनि सकेको छैन ।
सोमबार दिउँसोसम्म नाम खुलेकाहरुमा नाम खुलेका मृतकहरुमा बुद्धिराम बिक, भीमबहादुर बिक, दिलबहादुर बिक, नरेन्द्र बिक, मोहनचन्द्र बिक, रामबहादुर पुन, पूर्णबहादुर पुन, सीता पुन, दानबहादुर खड्का, पवन भण्डारी र रितेश खड्का रहेका छन् । मृतकहरु गाडीका चालक, सहयोगी तथा भारतबाट फर्केका मजदुरहरु रहेको प्रहरी स्रोतले जनाएको छ ।
त्यसैगरी घाइतेहरुमा दाङ धर्नाका ४५ वर्षीय मेगराम केसी, राजपुर गाउँपालिका–६ गग्लीखोलाका २० वर्षीय दिपेश चौधरी, तुलसीपुर उपमहानगरपालिका–२ खैरीकोटका २६ वर्षीय रुपलाल केसी, राजपुर गाउँपालिका–२ रैयनियाका २१ वर्षीय जीवन घर्ती, गढवा गाउँपालिका–६ मननपुरका २० वर्षीय भरत थापा, तुलसीपुर उपमहानगरपालिका–२ खैरीकोटका ३९ वर्षीय विष्णु गिरी रहेका छन् ।
त्यसैगरी रोल्पा त्रिवेणी गाउँपालिका–७ तिनाका १७ वर्षीय सुनिल परियार, २० वर्षीय वीरेन्द्र परियार र १८ वर्षीय पुरन परियार, कुरैनी गाउँपालिका डालीमगाउँका ५२ वर्षीय नरबहादुर विक, रुरु–८ का ४० वर्षीय दिलबहादुर विक रहेका छन् ।
त्यस्तै सल्यान शारदा गाउँपालिका–६ कजेरीका २६ वर्षीय टीका चलाउने, सल्यान कुपनीमा गाउँपालिका–६ घागरीकाराकोटका २० वर्षीय मिनराज विक, सिद्धकुमाख गाउँपालिका–५ दहका ४० वर्षीय तेजबहादुर बुढाथोकी, १८ वर्षीय धनबहादुर बोहरा, सोही गाउँपालिका–४ का २८ वर्षीय लोकेश घर्ती, ५२ वर्षीय दिपबहादुर बुढा, सिद्धकुमाखका २८ वर्षीय शिव भण्डारी, २६ वर्षीय निमबहादुर वली, सिद्धकुमाख–५ का सोही गाउँका १८ वर्षीय देवेन्द्र बुढाथोकी, सोही गाउँका १७ वर्षीय ज्ञानबहादुर बोहरा रहेका छन् ।