नयाँ चक्रवातसँगै मनसुन

काठमाडौं १९ जेठ । नेपालमा फेरि अर्को चक्रवातको असर पर्ने भएको छ । यो चक्रवातको कारण यस वर्षको मनसुन समयमै शुरु हुनेमा मौसमविद आशावादी देखिएका छन् ।

हाल दक्षिण–पूर्वी अरब सागरमा रहेको न्यून चापीय प्रणाली उत्तरतर्फ सर्दै गरेको छ । आउँदो २४ घण्टामा उक्त प्रणाली विकसित हुँदै चक्रवातको रुप लिनेछ । त्यसको प्रभावले नेपालमा जेठ २२ गतेदेखि २४ गतेसम्म वर्षा हुने र उच्च हिमाली क्षेत्रमा हिमपात हुनसक्ने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

यसअघि बंगालको खाडीमा विकसित शक्तिशाली चक्रवात अम्पुनको अप्रत्यक्ष असर पर्दा नेपालका पूर्वी र मध्य भू–भागमा हावाहुरीसहित वर्षा भएको थियो । अरब सागरमा विकसित यो नयाँ चक्रवातको प्रकृति कस्तो हुन्छ र यसले नेपालका कुन–कुन क्षेत्रमा प्रभाव पार्दछ भनेर मौसमविद्द्दले विस्तृतमा आँकलन गर्न सकेका छैनन् ।

तर नेपालका मौसमविद्ले तत्काललाई भने सुदूरपश्चिम क्षेत्रमा पानी पार्ने र उच्च हिमाली भागमा हिमपात हुने मात्र बताएका छन् । जल तथा मौसम विज्ञान विभागकी वरिष्ठ मौसमविद् विभूति पोखरेल भन्छिन्– ‘यो नयाँ चक्रवातले नै हामीलाई प्रत्यक्ष असर गर्दैन । हामीसम्म आइपुग्दा त्यो एकदमै कमजोर भइसकेको हुन्छ ।

यद्यपि सुदूरपश्चिममा चाहिँ वर्षा गराउने र उच्च हिमाली क्षेत्रमा हिमपात गराउने देखिएको छ ।’ चक्रवातको रुप लिइसकेपछि त्यसको वेग र दिशा हेरेर थप अपडेट गराउने उनले बताइन् । अरब सागरमा विकसित यो चक्रवातले यस वर्ष नेपालमा मनसुन छिटो भित्रिन सहयोग मिल्ने मौसमविदको पूर्वानुमान छ ।

यसअघि बंगालको खाडीमा विकसित अम्पुन चक्रवातको कारण नेपालमा मनसुन कम्तीमा एक हप्ता ढिलो आउने पूर्वानुमान मौसमविद्ले गरेका थिए । तर अरब सागरमा विकसित नयाँ प्रणालीका कारण भने त्यो पूर्वानुमान फेरिएको छ ।

मौसमविद् विभूति पोखरेलका अनुसार यो चक्रवातका कारण मनसुन छिटो आउनलाई झन् सहयोग गरेको छ । सामान्यतया नेपालमा १० जुनमा पूर्वी भेगबाट मनसुन प्रवेश गर्दछ र २३ सेप्टेम्बरमा पश्चिम भेगबाट बाहिरिन्छ ।

यसअघि यस वर्ष नेपालमा कम्तीमा एक हप्ता ढिलो मनसुन भित्रिने अनुमान मौसमविद्ले गरेका थिए । यस वर्षको मनसुनमा नेपालभर सरदर नै पानी पर्ने मौसमविद्को पूर्वानुमान छ ।