गर्मीसँगै डेंगुको विरामी

दाङ, १९ जेठ । गर्मी बढेसँगै डेंगुको संक्रमण बढेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा. बासुदेव पाण्डेले कोरोनासँगै अरु रोगको जोखिम बढेको बताउँदै वर्षाकाल शुरु भइसक्दा क्वारेन्टाइन तथा घरमा बस्दा कोभिडबाहेक अरु रोगजस्तै सरुवा वा किटजन्य रोगहरु डेंगु, मलेरिया, सर्पदंश, झाडापखाला हुनसक्ने बताए ।

पुसदेखि जेठ महिनासम्म ८२ जनामा देशभर डेंगु देखिएको छ । २६ जिल्लामा संक्रमण देखिएको छ । दाङमा १ जनामा डेंगु देखिएको छ । बबई गाउँपालिकाको क्वारेन्टाइनमा बसेका एक पुरुषमा कोरोनासँगै डेंगु पनि पहिचान भएको हो ।

त्यसैगरेर रुपन्देहीमा ३५ र म्याग्दीमा १२ जना, मकवानपुर, गोरखा र तनहुँमा १ –१ जना, कास्कीमा १० जना, काठमाडौंमा ७ जना, नवलपरासीमा १ जना, बाग्लुङमा २ जना, ललितपुरमा ४ जना, सुनसरी ४ जना, पाल्पामा १ जनामा डेंगुको संक्रमण देखिएको छ ।

त्यसैगरी पश्चिम नवलपरासीमा १, मोरङमा ३, कपिलवस्तुमा ३, तेह्रथुममा २, डडेलधुरामा १, बाँकेमा १, झापा र उदयपुरमा १÷१ जना, नुवाकोटमा २, कैलाली र धनकुटामा २–२ जना, रामेछापमा १ र धादिङमा २ जनामा डेंगु देखिएको छ ।

त्यसैगरी हालसम्म १५ जनामा मलेरिया देखिएको छ । गत वर्ष महामारीको रुपमा फैलिएको डेंगु ६८ जिल्लामा फैलिनुका साथै १६ हजारमा मानिसमा यो संक्रमण देखिएको थियो जसमा ६ जनाका मृत्यु भएको थियो ।

यो रोग बैशाखदेखि मंसिरसम्म देखा पर्छ । निर्देशक डा. पाण्डेले डेंगु र मलेरिया रोगका लागि प्रत्येक प्रदेश र स्थानीय तहमा जाँचपड्तालको लागि डाइग्नोष्टिक टेस्ट किटको व्यवस्था भएको बताउँदै लामखुट्टेको टोकाइबाट बच्न सावधानी अपनाउनुपर्ने बताए ।

यो रोग एडिस जातको लामखुट्टेको टोकाइबाट लाग्ने गर्दछ । यो रोग लागेमा अत्यधिक ज्वरो आउने, जीउ एकदमै दुख्ने, टाउको दुख्ने, पेट दुख्ने, वाकवाकी लाग्ने र आँखामुनि दुख्ने लक्षणहरु हुन सक्छन् ।