लकडाउनमा कुकुरलाई मासु र भात

तुलसीपुर, १९ जेठ । तुलसीपुरको एक गल्लीबाट सधै एउटा सानो भ्यान भात र मासु बोकेर निस्किने गर्छ । साँझको साढे ५ बजेको हुन्छ भ्यानको पछि–पछि कुकुरहरु लाग्छन् ।

भ्यानको ढोका खोल्न नपाउँदै कुकुरहरु भ्यानको अगाडि–पछाडि जम्मा हुन्छन् । कुकुरहरुले भ्यानको आवाज सुन्नेवित्तिकै चोक–चोकमा केही कुरेर बसेका हुन्छन् त केही हतारिएर आउने गरेका छन् ।

लकडाउनको समयमा यहाँका युवाहरु भोका कुकुरलाई मासु र भात खुवाउने गरेपछि यसरी नै कुकुरहरु जम्मा हुने गरेका छन् । उनीहरुले यसरी नै सरकारले घोषणा गरेको लकडाउनको पहिलो सातादेखि शुरु गरेको अभियानलाई निरन्तरता दिँदै सडकमा भएका कुकुरहरुलाई दैनिक मासु र भात खुवाइरहेका छन् ।

सडकमा रहेका कुकुरहरुलाई प्रत्येक दिन तुलसीपुर उपमहानगरपालिका वडा नंं. ५ का वडाध्यक्ष बीरेन्द्र शाहसँगै स्थानीय ललितजंग शाह, महेश गुप्ता, रितु अधिकारी, भूपेन्द्र बुढाथोकी, सन्दीप गुप्तालगायतको टोलीले साँझ साढे ५ बजेपछि आफैले मासु र भात बोकेर सडकमा कुकुरलाई खुवाउँदै आएका छन् ।

उनीहरुको टिम अहिले सडकमा रहेका कुकुरलाई लकडाउन अवधिमा खाने कुरा खुवाइरहेको शाहले जानकारी दिएका छन् । ‘हाम्रो अभियान नै अहिले लकडाउनमा सडकमा रहेका भोका कुकुर, गाईलाई खाने कुरा खुवाउने हो’, अध्यक्ष शाहले भने– ‘गाईलाई भने अहिले खाने कुरा दिन बन्द गरेका छौं, घासहरु पलाइसकेको छ कुकुरलाई भने दैनिक खाने कुरा खुवाइरहेका छौं’, उनले भने ।

एउटा गाडी लिएर बजारका विभिन्न रोडमा खाने कुरा खुवाउँदै आएको उनको भनाइ छ । जनावर पनि बाँच्न र खान पाउनुपर्छ भनेर व्यक्तिगत लगानीमा आफूहरुले दैनिक खाना खुवाउने गरेको शाहले जानकारी दिए ।

दैनिक १ सय बढी कुकुरहरुलाई घरबाट खाना पकाएर गाडीमा हालेर वितरण गर्दै आएको युवा सन्दीप गुप्ताले बताए । गाडी खाना बोकेर आएपछि कुकुरहरु पनि पछि–पछि खानको लागि आउने गरेका छन् । लकडाउनको ८औं दिनबाट अभियान शुरु गरेका उनीहरुले ३३ दिनसम्म यात्रुहरुलाई पनि खाना खुवाएका थिए ।