व्यवस्थित हुन सकेनन् क्वारेन्टाइन

लिलाधर वली
दाङ, १८ जेठ । नेपाल सरकारले बनाएको क्वारेन्टाइन सञ्चालन तथा व्यवस्थापनसम्बन्धी मापदण्डले क्वारेन्टाइनमा बस्ने व्यक्तिहरु, स्वास्थ्यकर्मी र सुरक्षाकर्मीहरुको लागि खानपिनसहितको व्यवस्थापन एवं क्वारेन्टाइनभित्रकोे बन्दोबस्ती नेपाली सेना वा नेपाली सेनाले तोकेको सुरक्षा निकायको जिम्मामा रहनेछ भनिएको छ ।

मापदण्डको दफा ७ को उपदाफा १ को १ नम्वरमा स्वस्थ्य खाना र शुद्ध पिउने पानीको व्यवस्था गर्ने र २ नम्वरमा बालबालिका, जेष्ठ नागरिक, गर्भवती तथा दीर्घरोगीहरुलाई आवश्यकताअनुसारको खानाको व्यवस्था गर्ने उल्लेख गरेको छ ।

तर जिल्लाका क्वारेन्टाइन सरकारी मापदण्डअनुसार नभएको क्वारेन्टाइनमा बस्नेहरुले गुनासो गर्दै आएका छन् । मापदण्डअनुसार क्वारेन्टाइनमा बस्नेहरुका लागि क्वारेन्टाइन भएको ठाउँमै खानाको व्यवस्था हुनुपर्ने उल्लेख छ । तर जिल्लाका अधिकांश स्थानीय तहहरुमा निर्माण गरिएका क्वारेन्टाइनमा घरबाटै खाना ल्याउने गरिएको छ ।

यसले जोखिमसमेत बढाउने काम गरेको घोराही उपमहानगरपालिका–५ नैनवारको क्वारेन्टाइनमा बस्दै आएका विमल डाँगीले बताए । उक्त क्वारेन्टाइनमा उनीसँगै १६ जना भारतबाट आएका बस्दै आएका छन् । ‘हामी १६ जना क्वारेन्टाइनमा बस्दै आएका छौं, आज ११औं दिन भयो’, डाँगीले भने– ‘क्वारेन्टाइनमा शुद्ध पिउने पानी समेत छैन, अरु त के कुरा गर्ने ?’ क्वारेन्टाइन भएको विद्यालयमा पानी खान लायक नभएपछि घरबाटै खानेपानी ल्याइदिने गरेको समेत उनले बताए । घरबाट खाना ल्याइदिँदा पानी पनि ल्याइदिने गरेको उनले बताए ।

मापदण्डअनुसार दिनमा दुई पटक खाना र २ पटक नास्ता खुवाउने व्यवस्था भए पनि उनी ११औं दिनसम्म क्वारेन्टाइनमा बस्दा २ दिन मात्र चाउचाउ र विस्कुट नास्ता खाएको बताए । ‘क्वारेन्टाइनमा खानाको त व्यवस्था छैन, नास्ता झन् हुने कुरै भएन’, उनले भने– ‘नास्ताको नाममा एक दिन चाउचाउ र अर्काे दिन विस्कुट दिएका थिए, त्यही हो हामीले क्वारेन्टाइनमा खाएको ।’ नाम मात्रको क्वारेन्टाइनमा बस्दा जोखिम बढी रहेको समेत उनले बताए ।

त्यस्तै बताउँछन् घोराही उपमहानगरपालिका–२ का केशव चौधरी पनि । उनी घोराही–२ मा रहेको गंगा माध्यमिक विद्यालयको क्वारेन्टाइनमा बस्न थालेको १० दिन भयो । क्वारेन्टाइनमा उनीसँगै करिव १ सय जना मानिसहरु बस्ने गरेका छन् । उनीहरु सबैले घरबाटै खाना खाने भएकाले साँझ र बिहान खाना ल्याउनेको गेटमा भीड हुने गरेको बताए । ‘म बसेको विद्यालयको क्वारेन्टाइनमा करिब सय जना बस्ने गरेको छौं’, चौधरीले भने– ‘धेरै मानिसहरु एकै ठाउँमा बस्दा थप जोखिमसमेत बढेको छ ।’ कोरोना भाइरसबाट जोगिनका लागि हरेक व्यक्तिले सरसफाईसँगै खानपिनमा ध्यान दिनुपर्ने सूचना सामाजिक सञ्जालदेखि रेडियोबाट सुन्ने गरे पनि स्कुलमा नुहाउनलाई पानी समेत नहुने गरेको बताए ।

त्यस्तै शौचालयमा दिशा–पिसाव गर्न जाँदा धारामा पानी थप्नका लागि आवश्यक पर्ने बाल्टीसमेत नहुँदा आफू समस्या रहेको बताए । ‘क्वारेन्टाइनमा खानलाई राम्रो पानी छैन, नजिककाले घरबाटै पानी ल्याउने गरेका छन्’, उनले भने– ‘विहान मात्रै धारामा पानी आउने भएकाले कहिलेकाहीँ त पानी खानलाई नै समस्या हुने गरेको छ ।’ त्यस्तै उनले क्वारेन्टाइनमा मास्क र सेनिटाइनजर नै नभएको जानकारी पनि दिए ।

यी दुई उदाहरण मात्र हुन् । अहिले जिल्लाका अधिकांश क्वारेन्टाइनको अवस्था यस्तै छ । विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरसको संक्रमणबाट लाग्न सक्ने रोगबाट नागरिकलाई सुरक्षित राख्न शंकास्पद व्यक्तिलाई कम्तीमा १४ देखि १७ दिनसम्म सुरक्षित तथा सुव्यवस्थित तरिकाले राख्ने भनिए पनि त्यस्तो हुन सकेको छैन ।

मापदण्डअनुसार छैनन्, तर प्रयास राम्रो छ : प्रजिअ

प्रमुख जिल्ला अधिकारी गोविन्दप्रसाद रिजालले जिल्लाका विभिन्न स्थानीय तहमा निर्माण गरिएका क्वारेन्टाइन मापदण्डअनुसार नभएको स्वीकार गरेका छन् । तर उनले मापदण्डअनुसार नभए पनि पालिकाहरुले विदेशबाट फर्किका नागरिकहरुलाई राख्नका लागि राम्रो प्रयास गरेको बताए ।

‘सरकारले जारी गरेको मापदण्डअनुसार जिल्लामा निर्माण गरिएका क्वारेन्टाइनहरु हुन सकेका छैनन्’, प्रमुख जिल्ला अधिकारी रिजालले भने– ‘तर त्यसो भन्दैमा नराम्रो भन्न मिल्दैन, बाहिरबाट फर्किएलाई ल्याउनेदेखि व्यवस्थापनमा राम्रो प्रयास पनि भएको छ ।’ समस्या देखिएका ठाउँमा थप सुधार गर्न सकिने समेत बताए ।

उनले क्वारेन्टाइनमा बसेका मानिसहरुलाई कसरी व्यवस्थापन गर्ने भन्ने काम स्थानीय तहको हो । ‘स्थानीय तहमा बसेका मानिसहरुलाई कसरी राख्ने, खाना, नास्ता खुवाउने वा घरबाटै व्यवस्था मिलाउने भन्ने काम सम्बन्धित स्थानीय तहको हो’, प्रमुख जिल्ला अधिकारी रिजालले भने– ‘त्यहीअनुसार उहाँहरुले काम गर्नुभएको छ, हाम्रो काम अनुगमन गर्ने र नराम्रो देखिएको ठाउँमा सुधारका लागि सुझाव दिने हो ।’ उनले जिल्लामा विद्यालयसँगै कतिपय स्थानीय तहमा सामुदायिक भवनलाई समेत क्वारेन्टाइनका रुपमा प्रयोग गरिएको बताए ।