दाङमा एकै व्यक्तिमा कोरोना र डेंगु !

गोरक्ष समाचारदाता
तुलसीपुर, १८ जेठ । विश्व समुदाय कोरोनाको विश्वव्यापी संक्रमणसँगै जुधिरहेकै बेला दाङ जिल्लाको बेलझुण्डीमा रहेको कोरोना विशेष अस्पतालमा कोरोनाको संक्रमणसँगै डेंगुको पनि संक्रमण देखिएको छ । बबई गाउँपालिकाको क्वारेन्टाइनमै रहँदा उच्च ज्वरो आएपछि उनको सोही गाउँपालिकाबाट स्वाब परीक्षण गर्दा कोरोना पोजेटिभ देखिएको थियो । कोरोना पोजेटिभ देखिएसँगै उच्च ज्वरो नियन्त्रणमा नआएपछि फेरि डेंगुको आशंकामा डेंगु परीक्षण गरिएको बेलझुण्डी कोरोना अस्पतालले जनाएको छ । ‘एन्टिवायोटिक खाएको अवस्थामा पनि ज्वरो नघटेपछि डेंगुको परीक्षण गर्दा पोजेटिभ देखियो’, अस्पतालका व्यवस्थापक दोर्ण वलीले भने– ‘अब लक्षणअनुसारको उपचार भइरहेको छ ।’
बेलझुण्डी कोरोना विशेष अस्पतालले उनलाई कोरोना र डेंगु कुनै संक्रमणको जोखिम छैन । उनको स्वास्थ्य अवस्था सामान्य रहेको अस्पतालले जनाएको छ । अस्पतालमा आइसोलेसन वार्डमा बस्ने बिरामीहरुका लागि झुलसमेतको व्यवस्था र सरसफाइको पूरा व्यवस्थापन भएकाले ती बिरामीले भारतमै रहँदा डेंगुको संक्रमण फैलिएको हुनसक्ने स्वास्थ्यकर्मीहरुको अनुमान रहेको छ । उनी एक साताअघि भारतबाट आएका व्यक्ति हुन् । यहाँ आएलगत्तै उनी बबई गाउँपालिकाले व्यवस्थापन गरेको क्वारेन्टाइनमा एक साता बसेका थिए । त्यहाँ रहँदा उच्च ज्वरो आएपछि त्यहाँका स्वास्थ्यकर्मीले उनलाई सिप्रोफ्लोक्सासिन एन्टिवायोटिक र प्यारा सिटामोल प्रयोग गरिएको थियो । त्यसै क्रममा कोरोना पोजेटिभ रिपोर्ट आएसँगै उनलाई बेलझुण्डी कोरोना विशेष अस्पतालमा लगिएको थियो ।
जिल्लाको बबई गाउँपालिका वडा नं. ६ का ३० बर्षीय कोरोना संक्रमित एक पुरुषमा आइतवार चेकजाँच गर्दा डेंगु भेटिएको अस्पतालका हेल्थ असिष्टेन्ट दोर्ण वलीले बताए । ‘उहाँलाई ज्वरो आउने समस्या देखिएपछि रगत चेकजाँच गर्दा डेंगु फेला परेको हो’, वलीले भने– ‘अहिले उहाँको अवस्था सामान्य छ र सोहीअनुसार उपचार भइरहेको छ ।’ यो वर्ष जिल्लामा डेंगु फेला परेको उनी नै पहिलो व्यक्ति हुन् । राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको परीक्षणमा ती व्यक्तिमा जेठ १६ गते कोरोना भाइरस पुष्टि भएपछि बेलझुण्डी अस्पताल ल्याइएको थियो ।
उनलाई भारतमै डेंगुको रोग लागेको थियो वा क्वारेन्टाइनमा बसेपछि लामखुट्टेले टोकेपछि डेंगु लाग्यो भन्ने स्पष्ट नभएको वलीले बताए । बबई गाउँपालिकाले भने आफ्नो तहमा डेंगुको प्रकोप नदेखिएको स्पष्ट पारेको छ । तैपनि क्वारेन्टाइनमा बस्नेहरुलाई एक व्यक्ति एक झुल उपलव्ध गराइएको बबई गाउँपालिकाका अध्यक्ष भुवनेश्वर पौडेलले बताए । ‘यहाँ संक्रमित हुने अवस्था छैन, कोरोना भारतबाटै आएको हो, र डेंगु पनि उतैबाट आएको हो’, गाउँपालिका अध्यक्ष भुवनेश्वर पौडेलले भने । बेलझुण्डीस्थित कोरोना विशेष अस्पतालमा दाङ, बाँके, बर्दिया, रुकुमपूर्व, कपिलबस्तु, रुपेन्देही, गुल्मीलगायतका जिल्लाका गरी ४२ जना संक्रमितलाई राखेर उपचार भइरहेको छ । शुक्रवार मात्रै बेलझुण्डी अस्पतालबाट दाङका १, बाँकेका ३ र कपिलबस्तुका ४ जना कोरोनामुक्त भएर घर फर्किएका थिए ।