नयाँ नक्सा संविधानको अंश बनाउन संशोधन प्रस्ताव

दाङ, १८ जेठ । संसदमा संविधान संशोधन प्रस्ताव दर्ता भएको छ । सो प्रस्ताव पास भएपछि नेपाल सरकारले हालै जारी गरेको नेपालको नक्सा नेपालको निशान छापमा अंकित हुनेछ र त्यो संविधानको एउटा अंग बन्ने छ । सर्वदलीय बैठकहरुमा गरिएको आग्रह र पटक–पटक संवैधानिक समितिहरुले दिएको निर्देशनपछि सरकारले कालापानी पूर्वका लिपुलेक, लिम्पियाधुरालगायतको क्षेत्रलाई नेपालको नक्सामा समेटेर नयाँ नक्सा जारी गरेको थियो । प्रतिनिधिसभाको आइतबारको बैठकमा संविधान संशोधन विधेयक पेस गर्न अनुमति माग्ने प्रस्ताव निर्विरोध पास भएपछि मन्त्री तुम्बाहाङ्फेले संविधान संशोधन विधेयक पेस गरेकी थिइन् । कुनै पनि सांसदले उक्त प्रस्तावमा विरोधको सूचना राखेका थिएनन् ।
संविधानको अनुसूचि ३ मा रहेको नेपालको निशान छापमा उल्लेख भएको नक्सा नेपालको परिमार्जित वास्तविक नक्साअनुरुप बनाउनुपर्ने भएकाले संविधान संशोधन विधेयक ल्याएको मन्त्री तुम्बाहाङ्फेले संसदमा बताइन् । यसअघि प्रमुख प्रतिपक्ष नेपाली कांग्रेसले नयाँ नक्सालाई नेपालको संविधानको अंग बनाउने गरी आउने संविधान संशोधनको पक्षमा मतदान गर्न संसदीय दललाई निर्देशन दिइसकेको छ । कांग्रेसको यो निर्णयसँगै सो प्रस्ताव संसदबाट कम्तीमा दुई तिहाई मतका साथ पास हुने पक्का देखिएको छ ।