लकडाउन डायरी : लक्ष्यण विनाकै कोरोना…

  •   
  •  

खेमराज रिजाल
नवीन (नाम परिवर्तन) ठीक एक सातापछि त्यही चोकमा भेटिँदा बकिरहेको थियो– नन सिम्प्टम कोरोनाज्…। लक्षण नै नदेखिएकामा पनि कोरोना भाइरसको संक्रमण । ऊ रनभुल्लमा प¥यो । सहकर्मी स्वास्थ्यकर्मीलाई फोन गर्दा मोबाइलमा कोरोनाका लक्षणहरु पनि बोलिएनन् । उसले सुन्यो, ‘तपाई जो–कोहीलाई पनि कोरोना लाग्न सक्छ ।’

केही साता अघिसम्म सुख्खा खोकी लाग्ने, उच्च ज्वरो आउने, श्वास फेर्न गाह्रो हुने कोरोनाका लक्षणहरु हुन् भनेर नेपाल टेलिकमले सन्देश फैलाइरहेको थियो । तर यो सन्देश अब फेरिएको छ । लक्षणविनाका कोरोनाका संक्रमित हुने अवस्थाले ऊ फेरि झस्कियो । उच्च ज्वरो आएका बिरामीहरुलाई नवीनले सावधानीपूर्वक ज्वरो नाप्ने र लक्षणअनुसारका औषधि दिने गरेको थियो । किनकि प्यारामेडिक्सको धर्म यही हो ।
बेलझुण्डीको कोरोना विशेष अस्पतालबाट शुक्रवार डिस्चार्ज हुनेहरुमा सामान्य रुघाखोकी समेत लागेन । उच्च ज्वरो आउने र श्वास फेर्न अप्ठ्यारो हुने त टाढैको कुरा । विदाइ हुँदा कोरोनाका संक्रमितहरुले भनेका थिए– ‘दाङको कोरोना विशेष अस्पताललाई विशेष धन्यवाद, यहाँ हामीहरुलाई एक क्याप्सुल औषधि पनि खानुपरेन, हामीहरु कोरोना संक्रमणमुक्त भएर घर फिर्दैछौं ।

त्यसो त कोरोना विशेष अस्पताल बेलझुण्डीमा साधन श्रोत नभएको होइन, ६ वटा आइसियु, ४ वटा भेन्टिलेटरसमेत तयारी अवस्थामा छन् । यद्यपि यहाँ आएका कम्तीमा अढाइ दर्जन बिरामीलाई आइसियुमा राखेर उपचार सेवा प्रवाह गर्नुपरेको छैन । किनकि यहाँ आउने बिरामीहरुमा कुनै पनि खालको गम्भीर स्वास्थ्य समस्या देखिएको छैन । नवीनले यी सबै घटनाक्रम नियालिरहेको छ । कोरोना भाइरस कोभिड–१९ का लक्षणहरु कुन देशका बिरामीहरुलाई लक्षित गरी बनाइएको हो, नवीन रनभुल्लमा छ । उसले ज्वरो आएका मान्छेलाई कोरोनाको संक्रमण हुनसक्ने अड्कल काटेको थियो । विशेषगरी भारतीय सीमा नाकाबाट प्रवेश गर्ने अधिकांश नेपालीलाई कोरोनाको भनिएका लक्षणहरु नै देखिएका छैनन् । अन्य नागरिकहरुजस्तै छन्, संक्रमित बिरामीहरु । नवीनले मात्र होइन, नेपालभरका सरकारी अस्पतालले समेत ज्वरो आएका बिरामीलाई कोरोनाको संक्रमण हुनसक्ने भन्दै त्यस्ता बिरामीलाई जाँच्ने मात्र होइन, नजिक आउनसमेत सकेसम्म नदिने दाउमा देखिए । त्यसैकारण नेपाल सरकार दिक्क भएर सरकारी अस्पताललाई विशेष अनुदान दिएर सबै अस्पतालमा फिवर क्लिनिक सञ्चालन गर्न निर्देशन दिएको थियो ।

नवीन बोलिरहेको थियो– ‘निर्देशन त दिन्छन्, ठीकै हो तर एक्सन लिने निकाय मौन बसिदिँदा समस्या भएको छ ।’ कोरोना कोरोना भन्दै गर्दा धेरै कलेजोका समस्या भएका बिरामीहरुलाई उपचार सेवा पाउनै मुस्किल छ, टाइफाइड र झाडापखालाका बिरामीहरुलाई पनि अस्पतालले लिँदैनन् । प्यांक्रियाजमा घाउ भएर कुहिन थालेका बिरामीलाई काठमाडौं पठाउनुपरे त्यहाँको अस्पतालले कोरोना नेगेटिभ भएको रिपोर्ट खोजिरहेको हुन्छ तर कोरोना परीक्षण त्यस्ता बिरामीहरुलाई सहज छैन ।

अघिल्लो साता एपेण्डिसाइटिसको समस्या भनेर घोराहीको बुद्ध अस्पतालमा शल्यक्रिया गरिएका प्यूठान जिल्लाका कृष्ण केसीको प्यांक्रियाजमै इन्फेक्सन देखिएपछि उनलाई काठमाडौको शिक्षण अस्पतालमा तत्काल लग्न अस्पतालले भन्यो । तर शिक्षण अस्पतालले कोरोना परीक्षण गरेर मात्र आउन भनेपछि बिरामीका आफन्तलाई निकै कठिनाई भएको थियो । किनकि उनको कोरोना परीक्षण राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पनि सहज थिएन, अनि जिल्ला स्वास्थ्य कार्यालयमार्फत गरिने आरडिटी परीक्षण पनि सहज बन्न सकेन ।

नन कोरोनाका बिरामीहरु कसरी लकडाउनमा घरमै मृत्यु कुरिरहेका छन् भन्ने सवालमा सरकार कत्ति पनि गम्भीर देखिएको छैन । किनकि विश्वव्यापी महामारीका रुपमा फैलिएको कोरोनाको संक्रमणको हाउगुजी फैलिइरहेको छ । अस्पतालमा भर्ना भएका बिरामीलाई निकालेर इण्डोरविहीन बनाइएको छ । मानौं मृत्यु कोरोनाको संक्रमणमा छ, उपचार कोरोनाको मात्र हुने हो…। किनकि कोरोनाको उपचारमा अनुदान आउँछ, सहयोग आउँछ, अरु बिरामी उपचार नपाएर मृत्यु भए पनि केही छैन ।

अघिल्लो साता सावुनको फिजले मर्ने कोरोना भइरसले विश्वमा वितण्डा मच्चाएको बोलिरहने नवीनले शनिवार तुलसीपुर उपमहानगरपालिका–१८ कै एक बस्तीमा चालिस रुप्पे किलो लहरे गुर्जोको व्यापार भइरहेको देख्यो । कोरोना भाइरसका विरुद्ध लड्न सक्ने क्षमता बढाउन लहरे गुर्जोको नियमित सेवन भन्ने आयुर्वेद चिकित्सा विधाको प्रचारले अहिले हरेक नागरिकको चिया लहरेगुर्जो र अश्रुगन्धाको धुलो मिसाएर तयार हुन्छ । बिजौरीको आयुर्वेद चिकित्सालयले पनि यस्तै औषधिहरु विभिन्न समुदायमा वितरण गर्दै आएको छ । नवीन बोलिरहेको थियो– ‘जहाँ जे उपलव्ध हुन्छ, त्यहाँ त्यही चिजले उपचार गर्ने न हो । नेपालमा प्रशस्त जडिबुटीहरु भएकाले यो पनि एउटा परीक्षण हुन सक्छ ।’

लक्षणविनाका बिरामी भनिएजस्तै अहिले गाउँबस्तीमा भारतीय सीमा नाकाबाट धेरै नागरिकहरु फर्किरहेका छन् । नेपालकै पनि विभिन्न इटाभट्टामा काम गर्नेहरु घरतर्फ फर्किरहेका छन् । भारतबाट आएकाहरुलाई सकेसम्म क्वारेन्टाइनमा राखिएको छ, काठमाडांै लगायत नेपालका अन्य शहरबाट आएकाहरुलाई सुरक्षितरुपमा आफ्नै घरमा सेल्फ क्वारेन्टाइनमा बस्न भनिएको छ । कसैमा पनि कोरोनाको लक्षण देखिएको अवस्था छैन । त्यसैले नवीनको मनस्थिति फेरि बदलिएको छ– ‘कतै मलाई पनि कोरोनाको संक्रमण त छैन, किनकि यहाँ देखिइरहेका छन् नन सिम्प्टम कोरोनाज्… ।