गुनासो सुन्ने कोही भएन : क्वारेन्टाइनवासी

सन्तोष शर्मा
होलेरी(रोल्पा)१८ जेठ । रोल्पाको क्वारेन्टाइनमा बसेकाहरुले आफूहरुलाई पिउने पानीसम्म नभएको भन्दै गुनासो गरेका छन् । तर, उनीहरुले गुनासो गर्ने र त्यसको सम्बोधन गर्ने निकाय फेला पार्न सकेका छैनन् । ‘पटक पटक सम्बन्धीत निकायसगँ फोन गरेरै आफ्नो गुनासो राखेपनि त्यसको कुनैपनि सुनुवाइ हुन नसकेको’ उनीहरु वताउँछन् ।

रोल्पाको होलेरीमा रहेका नव निर्मीत प्रा.स्वा.केन्द्र र महेन्द्र मावि होलेरीको क्वारेन्टाइनमा बसेका अधिकांसले आफूहरुको क्वारेन्टाइनको वसाई निकै नै कष्टपूर्ण रहेको गुनासो गरे । मावि होलेरीमा वसेका लोकराज वहकरीले पिउने पानी समेत खाना खाँदा मात्रै पाएको र अन्य समयमा पानीसम्म पिउन नपाएको वताउदै क्वारेन्टाइनवाट आफूहरुलाई झनै रोग सर्ने खतरा वढेको वताए । उनका अनुसार एउटै शौचालय ५० वढीले प्रयोग गर्नुपरेको र वसाइ पनि अव्यवस्थीत रुपमा भएकाले झनै संक्रमण बढ्ने खतरा देखिएको हो ।

त्यस्तै स्वास्थ्य केन्द्रमा १२ दिन अगाडि क्वारेन्टाइनमा आएका कमल थापाले आजसम्म आफूहरुको आरडीटि टेस्ट समेत हुन नसकेको भन्दै गुनासो पोखे । १२ दिन कृष्णनगर वसिसकेको र होलेरीमा समेत १२ दिन गरी २४ औ दिन पुग्दा पनि अझसम्म जाँच नहँुदा आफूहरुप्रति सरकारले कुनै चासो नदेखाएको महसुस भएको गुनासो गरे ।

उनका अनुसार त्यहाँ चिसोले सुत्न समेत समस्या छ । माक्सको व्यवस्था नभएको, वेलावेला स्वास्थ्यकर्मीको जाँच समेत नभएकोलगायतका समस्याले आफूहरुलाई दिनानुदिन कोरोनासंगै अन्य रोगको समेत सम्भावना बढेको गुनासो गरे । साथै उनले आफ्ना गुनासो पटक पटक सम्बन्धीत निकायसगँ फोन गरेरै राखेपनि त्यसको कुनैपनि सुनुवाइ हुन नसकेको वताए ।