अधिवक्ता निकेश कुमार लम्साल
नेपाली समाजमा एउटा दन्त्य कथन छ, ‘अभागीको चानाँ पर (भोग्नु), भाग्यमानीको कानाँ पर (थाहा पाउनु)।’ नेपालीको कानाँ परेको थियो तर चाना नपरेसम्म सचेत भएनौँ । विश्वमा कोभिड–१९ को संक्रमण देखिएको झण्डै पाँच महिना भइसक्यो । विश्वभरि नै यसको संक्रमण र ज्यान गुमाउनेहरुको संख्या बढिरहेको छ । नेपलमा पनि संक्रमणको जोखिमलाई मध्यनजर गर्दै देशैभरि लकडाउन गरेको झण्डै दुई महिना पूरा हुँदा कोभिड–१९ को संक्रमण तीव्र गतिमा बढिरहेको छ र यसले जनजीवनमा त्रास, अन्योल र हतास मानसिकता विकास भइरहेको छ ।
कोभिड–१९ को वैज्ञानिक अध्ययन अनुसन्धान र यसको रोकथाम र उपचार पद्धति विकास गर्न संसारभरिकै वैज्ञानिकहरु लागिपरेकाले निकट भविष्यमै सफलता हासिल हुनेछ भन्ने आशा गर्दै हालसम्म पत्ता लागेका तथ्यमा आधारित भएर यसको रोकथाम र नियन्त्रणमा लाग्नुपर्ने अवस्था विद्यमान छ । नेपालको परिवेशमा पनि लकडाउन गरेको दुई महिना पुग्दा पनि कोरोना संक्रमितको संख्या बढ्नुले यस अवधिमा चालिएका कदमहरुको प्रभावकारिताबारे विश्लेषण गर्नुपर्ने र कमीकमजोरीहरुलाई सुधार गर्दै जानुपर्ने अवस्था देखिन्छ । विद्वान्हरु भन्ने गर्छन् कि कुनै कार्य सुरु गर्न ढिला भएको हुँदैन । नेपालमा पनि तुरुन्तै संवेदनशीलता र गम्भीरताका साथ आवश्यक थप कार्यहरु गर्नु जरुरी भएको छ ।
वर्तमान परिपे्रक्षमा पहिलो चुनौती भनेको कोभिड–१९ को संक्रमण फैलन रोकथाम, नियन्त्रण गर्नु र संक्रमितहरुको उपचार गर्नु हो । त्यसपछिको चुनौती कोभिड–१९ को कारणले सिर्जित परिस्थितिकै कारणले कुनै पनि व्यक्तिको मृत्यु नहोस्, असामान्य वा अतिकष्ट व्यहोर्नु नपरोस् र अपुरणीय क्षति नहोस् भन्ने हो । त्यसपछिको आवश्यकता भनेको मानिसका आधारभूत आवश्यकता र स्वतन्त्रताको प्रत्याभूति हो र सरकार यस विषयमा निकै संवेदनशील हुन आवश्यक छ । समस्या समाधानमा सार्थक पहल नदेखिने तर आम नागरिकले आफ्ना आवश्यकता र स्वतन्त्रतालाई सीमित गरिरहनु पर्दा त्यसले अप्रिय परिणाम दिन्छ । त्यस्तै अर्काे प्रमुख चुनौती सार्वजनिक शान्ति सुव्यवस्था कायम राख्नु हो । यस खालका संकटको समयमा गैरकानुनी धन्दा गर्नेहरुको चहलपहल बढ्ने खतरा हुन्छ भने अर्कोतर्फ आम नागरिकको दैनिकीमा अप्ठ्यारो महशुस हँदा विशेष रुपमा लागू गरिएका कानुनको पालना नगर्ने र केही व्यक्ति तथा समूहहरुले कानुनलाई आफ्नो स्वार्थ वमोजिम अनुचित ढङ्गले कार्यान्वयन गर्ने प्रवृत्ति बढ्छ र अराजकताको सिर्जना हुन्छ । साथै संकटको अवस्था बढ्दै जाँदा विभिन्न कारणले विद्रोहको अवस्था सिर्जना हुने खतरा समेत रहन्छ । त्यसैगरी संक्रमणका कारण आर्थिक, सामाजिकलगायत क्षेत्रमा पुग्ने क्षति न्यूनीकरण गर्नु र यस पछिको अवस्थामा त्यसलाई पूर्ति गर्नु अर्को चुनौती हो ।
प्रस्तुत चुनौतीहरुलाई सम्बोधन गर्ने दिशामा नेपाल सरकारले चालेका कदमहरुको सन्दर्भमा आलोचकहरुले नेपालको तयारी र कार्यसम्पादनको अवस्था सन्तोषजनक नभएको बताइरहेका छन् । नेपाल सरकारले भने यो दुई महिनाको अवधिमा दुई दर्जनभन्दा बढी आदेश, निर्देशिका, कार्यविधि, मापदण्ड, मार्गदर्शनलगायतका आज्ञा आदेशहरु जारी गरिसकेको छ । तर सरकारको तयारीको सैद्धान्तिक आधार नै फितलो र अपूर्ण देखिन्छ भने त्यसको कार्यान्वयन समेत प्रभावकारी हुनसकेको छैन । सरकार कोभिड–१९ को रोकथामभन्दा पनि नियन्त्रण र उपचारमा बढी केन्द्रित भएका कारण संक्रमणको संख्या बढ्नसक्ने देखिन्छ भने अन्य चुनौतीका लागि तयार नहुँदा त्यसबाट सिर्जित अवस्थामा पनि संक्रमण बढ्ने सम्भावना रहन्छ । उदाहरणका लागि सीमापारि आइपुगेका नागरिकलाई जबर्जस्ती प्रवेश निषेध गर्न खोज्दा लुकीछिपी भित्रनेको संख्या बढ्यो र उनीहरुले सूचना लुकाउँदा संक्रमण फैलिन पुग्यो । सरकार कोभिड–१९ को नियन्त्रण र उपचारका लागि नयाँ संयन्त्र र संरचनाको विकास गर्नेभन्दा पनि भएकै व्यवस्थामा काम चलाउने तयारीमा छ । त्यो प्रभावविहीन र अपर्याप्त हुनसक्ने खतरा छ । उदाहरणका लागि सरकारले तयारी गरेको अंकगणितलाई नै आधार मान्दा पनि दश हजार जनासम्मलाई संक्रमण हुँदासम्म उपचार गर्ने क्षमता भएको अनुमानित तयारी गरिएको छ, तर अंकगणित बाहेक अन्य आधारहरुलाई पनि विचार गर्ने हो भने एक हजार जनामा मात्र पनि संक्रमण देखियो भने व्यवस्थापनमा भयावह अवस्था सिर्जना हुन्छ (अस्पताल बेड, आइसियु बेड, त्यसको अकुपेन्सी रेट, अस्पतालहरुको भौगोलिक अवस्था, स्वास्थ्य उपकरणहरुको वितरण, स्वास्थ्यकर्मीहरुको उपलब्धता र वितरण, आदिलाई आधार मानेर विश्लेषण गरिएको) र त्यसलाई नियन्त्रण गर्न निकै कठिन हुनेछ । यस बाहेक माथि उल्लेखित अन्य चुनौतीको सम्बन्धमा सरकारको मौनता कायम नै छ र त्यसले आम नागरिकमा अन्योलको अवस्था सिर्जना गरेको छ । उदाहरणका लागि लाखौँ मानिसहरुले साविकको आय आर्जन अस्थायी वा स्थायी रुपमा बन्द भइसकेको छ ।
उपरोक्त सबै तथा अन्य तथ्यहरु समेतलाई गम्भीरताका साथ विश्लेषण गरी नेपाल सरकारले के मनन् गर्नुपर्छ भने कोभिड–१९ को संक्रमणबाट सफलताका साथ मुक्ति पाउन सरकारी प्रयास मात्रको विशेषज्ञता र क्षमताले पुग्दैन । यस परिस्थितिमा मात्र होइन, सामान्य अवस्थामा पनि नेपाल सरकार कार्यसम्पादनका दृष्टिले कमजोर रहेको तथ्यलाई हामीले लज्जा वा हीनताबोधको विषय नठानी हाललाई यस विषम परिस्थितिको सामना गर्ने एउटै संकल्पका साथ स्वीकार्नु पर्छ । त्यसपछि मात्र हामी सही मार्गदर्शनमा आइपुग्छौँ । सामान्य कानुनले परिकल्पना गरेको कुनै पनि दैनिक प्रशासनिक संयन्त्रले यस संकटको सामना गर्न सक्दैन, किनभने यो कानुनको परिकल्पनाभन्दा बाहिरको विषय हो । कहीँकतै कानुनी प्रक्रियाहरुले कठिनाई भइरहेको छ भने प्रतिपक्षलाई विश्वासमा लिएर कानुनी जटिलता फुकाऔँ तर कानुनलाई ढाल बनाएर आफ्नो अकर्मण्यता लुकाउने वा दुनो सोझ्याउने काम नगरौँ (यसले कानुनप्रतिको आम धारणामा समेत नकारात्मक असर पर्दछ) । अब असामान्य तरिकाले यसको सामना गर्नु पर्दछ । त्यसका लागि नयाँ रणनीति र कार्यनीतिको तर्जुमा गर्नु पर्दछ । उदाहरणका लागि मन्त्रिपरिषद् सबैभन्दा माथिल्लो तहको कार्यकारी अधिकार प्राप्त निकाय हुँदाहुँदै मन्त्रीहरु, सचिवहरुले भरिभराउ समितिहरु चाहिँदैन । यस संक्रमणबाट बच्नुपर्ने सँगसँगै अन्य धेरै चुनौतीहरु समेत सामना गर्नुपर्ने भएकाले सम्बन्धित विभिन्न क्षेत्रका विशेषज्ञ र सरोकारवालाहरु रहेको निर्देशक समितिहरु (उदाहरणका लागि कोभिड–१९ को नियन्त्रण र उपचार, राहत वितरण, आपूर्ति तथा बजार व्यवस्थापन, आर्थिक क्षति न्यूनीकरण तथा रोजगारी प्रबद्र्धन आदिका लागि छुट्टाछुट्टै) बनाऔँ र त्यसले दिएको कार्यक्रम मन्त्रिपरिषद्बाट जुनसुकै हालतमा लागू गरौँ, विशेषज्ञ (त्यो पनि आफ्नै नागरिक) को निर्देशन पालना गर्दा मन्त्रिपरिषद्लाई लाज हुँदैन, प्रतिष्ठामा आँच आउँदैन । आम नागरिक र विभिन्न संघसंस्थाहरुलाई सरकारसँगको समन्वयमा व्यवस्थित र नियन्त्रित ढङ्गले परिचालन गरौँ । संघ, प्रदेश र स्थानीय तहको असल समन्वय कायम गरी काभिड–१९ का विरुद्ध एकताबद्ध तथा केन्द्रित अभियान थालौँ ।
कोभिड–१९ सामान्य असहजताको परिस्थिति मात्र होइन भन्ने प्रमाणित भइसकेको छ । तर पनि कुनै दिन विश्व यस संक्रमणबाट मुक्त हुनेछ र त्यतिबेला नेपाल पनि मुक्त हुनेछ । सबै मुक्ति सफलता हो भन्ने भ्रम चाहिँ हुनु हुुँदैन । हामीले के कति गुमाउँछौँ र कुन अवस्थामा मुक्त हुन्छौँ भन्ने सन्दर्भ निकै महत्वपूर्ण हुन्छ । अंकगणितमा सय वटा मृत्युको तुलनामा एउटा मृत्यु तुलनात्मक रुपमा सफलता कहलाउला, तर एउटा जीवनको मूल्य (दर, भाउ होइन) सयवटा जीवनको मूल्यभन्दा कम चाहिँ हुँदैन । एक जना विद्वान्ले भनेका छन् कहिलेकाहीँ समस्याको समाधान यति सहज हुन्छ कि हामी त्यसलाई समाधान नै ठान्दैनौँ, बरु समस्यालाई ठूलो समस्या ठानेर रोमाञ्चित हुन्छौँ । हामी त्यस्तो भुल नगरौँ । समस्या र समाधानको सही आँकलन गरेर मात्र त्यस उपर सफलता हासिल गर्न सकिन्छ । हामीलाई बाँच्नु छ, हामीलाई सम्मानपूर्वक बाँच्नु छ ।