त्यो दरबार हत्याकाण्ड र परिणतिहरू

अमृतकाजी शर्मा

तत्कालीन राजा श्री ५ वीरेन्द्र वीरविक्रम शाहदेव सहित परिवारको अल्पआयुमै भएको अकल्पनीय र कहालिलाग्दो बज्रपात भएको आज १९ वर्ष पूरा भएको छ । नेपालको इतिहासमा दरबार हत्याकाण्डका रुपमा अंकित त्यो घटना २०५८ साल जेठ १९ गते भएको थियो ।
नेपालका दशौँ शाह वंशीय तत्कालीन राजा वीरेन्द्रले नारायणहिटी राजदरबारमा प्रत्येक महिनाको तेस्रो शुक्रवार राति नियमित रुपमा राजपरिवारको पारिवारिक झमघटको आयोजना गर्ने परम्परा बसालेका थिए । सोही अनुसार २०५८ साल जेठ १९ गते शुक्रवार नारायणहिटी राजदरबारको त्रिभुवन सदनमा राजपरिवारका सबै सदस्यहरुलाई पारिवारिक जमघटको लागि निमन्त्रणा गरिन्छ । पोखरा भएका कारण राजाका माइला भाइ ज्ञानेन्द्र शाह उपस्थित हुन नसके पनि परिवारका अन्य लगभग सबै सदस्यहरु त्यहाँ उपस्थित भए ।

त्यो पारिवारिक जमघट नै तत्कालीन राजपरिवारका लागि विषाक्त हुन पुग्यो । किन पूर्व राजा वीरेन्द्रको सन्ततीमाथि छानी–छानी गोली बर्साइयो ? त्यो हत्याकाण्डका नायिके राजा वीरेन्द्रका जेठा छोरा अधिराजकुमार दीपेन्द्र नै थिए या अरु कोही ? रहस्यकै भुमरीमा रहेको त्यो दरबार हत्याकाण्ड, तत्कालीन राजा वीरेन्द्र मात्र होइन रानी ऐश्वर्य, जेठा सुपुत्र अधिराजकुमार दीपेन्द्र, कान्छा सुपुत्र निराजन र एकमात्र छोरी श्रृतिका साथै राजा वीरेन्द्रका कान्छा भाइ अधिराजकुमार धीरेन्द्रलगायत अन्य राजपरिवारका नातेदारहरु पनि मारिए । तत्कालीन राजा वीरेन्द्रको शुक्रवारसँगको प्रगाढ साइनो नै जीवनको अन्तिम साइनो बनेको देखिन्छ ।

जब २०५८ साल जेठ १९ गते शुक्रवार राति राजदरबारभित्र जहाँ पारिवारक जमघट भइरहेकै बेलामा अत्याधुनिक हतियारको आवाज आउँदासम्म पनि घटना स्थलमा जाने आँट कसैको पनि भएन या आदेश दिइएन ? अनुसन्धानको विषय हो । घटनाको भोलिपल्ट अर्थात् ०५८ साल जेठ २० गते शनिवार जुन देश र देशवासीका लागि कालो दिन सावित भयो चोक, गल्लीगल्ली स्तब्ध भयो र धेरैले शोकमा कपाल मुण्डन पनि गरे । यो जनताले आफ्नो अभिभावक गुमाएको सन्देश थियो ।

हत्याकाण्डमा गम्भीर घाइते भएर छाउनी सैनिक अस्पतालमा सघन कक्षमा उपचार गराइरहेका राजकुमार दीपेन्द्रलाई अर्को दिन राजा घोषणा गरियो र उनका काका अधिराजकुमार ज्ञानेन्द्रलाई नायवी अधिकार सुम्पिइयो । देश शोकमा डुबिरहेकै बेला जनमानसमा थरि–थरिका आशंका उत्पन्न भइरहेकै थियो । हत्याकाण्डको दुई दिनपछि अर्धमृत अवस्थामा राजा दीपेन्द्रको पनि औपचारिक रुपमा मृत्युको घोषणा गरियो । त्यसपछिको अवस्थामा संवैधानिक राजतन्त्रको रुपमा र संवैधानिक मर्यादामा पहिलो व्यक्ति राजा वीरेन्द्र र उनका उत्तराधिकारी समेत हत्याकाण्डमा मारिँदा देशमा ठूलै संवैधानिक संकट उत्पन्न हुने निश्चित थियो । त्यसपछिको रिक्तता अकल्पनीय नै बन्न सक्थ्यो तर राजतन्त्रको रुपमा त्यसपछि देशमा वीरेन्द्रका माइला भाइ नायवी अधिकार सुम्पिएका अधिराजकुमार ज्ञानेन्द्र नयाँ राजा घोषित भएसँगै श्रीपेच पहिरिए र राजगद्दी सम्हाले । दरबार हत्याकाण्डमा वीरेन्द्रको सन्तती नै मारिएपछि राजा ज्ञानेन्द्र बन्नु स्वभाविक थियो ।

दरबार हत्याकाण्डपछि राजा बनेका श्री ५ ज्ञानेन्द्र वीरविक्रम शाहले सर्वोच्च अदालतका प्रधान न्यायाधीश केशवप्रसाद उपाध्याय र सभामुख तारानाथ रानाभाट रहेको एक उच्च स्तरीय छानविन समिति गठन गरी दरबार हत्याकाण्डको सत्य–तथ्य छानविन गर्न आदेश दिए । समितिको एक हप्ताको अध्ययन प्रतिवेदनले रक्सीले मातेका युवराज दीपेन्द्रले पहिलो गोलीको निसान राजा वीरेन्द्रलाई बनाए अनि अरुलाई हानेर आफैलाई गोली हाने भनी त्यो नरसम्हारको दोष दीपेन्द्रलाई दिँदै प्रतिवेदन राजा ज्ञानेन्द्र समक्ष पेश गरियो । त्यही नै सार्वजनिक गरियो, तर दरबार हत्याकाण्ड युवराज दीपेन्द्रले नै गराएका हुन् भनेर जनाताले अझै पनि विश्वास गर्न सकिरहेका छनैन् । तत्कालीन हत्याकाण्ड अझै पनि रहस्यको गर्भमै छ र जनाताको मनमा कैयौँ प्रश्नहरु खेलिरहेका छन् । त्यसपछि पनि विभिन्न आयोगहरु बनाइयो, तर पनि स्वतन्त्र रुपमा पुष्टि हुनसकेन । आखिर किन भएन राजदरबार हत्याकाण्डको पुष्टि ?

उनको त्यो दरबार यात्रा न त गन्तव्यमा नै पुग्न सक्यो न त सहज अवतरण । समयको चक्रवातले उनीमात्र होइन उनको सन्तती नै उडाएर गयो । उनको त्यो अप्रत्यासित गमनले मुलुकमा अर्को आँधीबेहरीको सुरुवात थियो । त्यही आँधीले सयौँ वर्ष पुरानो इतिहास भत्काएर गयो । जसले नेपाललाई शान्ति क्षेत्र बनाउन प्रस्ताव विश्व सामू राखेर आफूलाई शान्तिवादी राजाको छवि बनाएका थिए, तर विडम्बना ! उनी नै तातो गोलीको शिकार हुनुप¥यो । परिवर्तनको दिशामा मुलुकको गति बदल्ने उनको जीवनमा अचानक ग्रहण लागेपछि उज्यालो विहान् हेर्ने अभिलाषा पूरा हुन सकेन, त्यही पारिवारिक जमघट नै अन्तिम बन्न पुग्यो ।
विश्वमा चर्चित भएको त्यो घटना तत्कालीन राजदारबार हत्याकाण्ड कसले गरेको हो ? भनेर हत्याकाण्डको १९ वर्ष बितिसक्दा पनि जनताका आ–आफ्नै ढङ्गले व्याख्या र विश्लेषण छन् । राजदरबार जस्तो गरिमा बोकेको ठाउँमा वीरेन्द्रका सन्तती विनाश हुने गरी भएको हत्याकाण्डमा किन अन्तर्राष्ट्रिय छानविन हुन सकेन ? अनि सार्वजनिक भएको प्रतिवेदन पनि विश्वसनीय किन बन्न सकेन ? तत्कालीन राजा वीरन्द्रको पारिवारिक हत्या थियो वा राजनीतिक हत्या ? त्यो नै प्रष्ट हुनसकेको छैन । १९ वर्ष पूरा हुँदासम्म पनि नागरिकको मन विश्वस्त हुन नसकिरहेको बेलामा किन अर्को अनुसन्धान हुन सकेन ? घटनास्थल संरचना बदलिसकेको छ । राजापछि सक्रिय शासनको बागडोर सम्हालेका लोकतान्त्रिक सरकारहरुले पनि यस विषयमा चासो देखाएका छैनन् । दरबार हत्याकाण्डको मुख्य नायिके दीपेन्द्र नै थिए वा अरु कोही यो प्रश्न अनुत्तरित नै छ र इतिहासमा पनि अनुरत्तरित नै नभइरहला भन्न सकिँदैन ।

मुलुकको अवस्था सँगै व्यवस्था पनि फेरियो, तर राजनीतिक दल र सरकारमा बस्ने कैयौँ भ्रष्टहरुको प्रवृत्ति फेरिएन र त राजाप्रतिको समाजको हेर्ने दृष्टिकोण फरक बन्दै गइरहेको छ । उनले ०३६ सालमा जनतमसंग्रह गर्ने तथा ०४६ सालमा प्रजातान्त्रिक व्यवस्था फिर्ता गरेका कारण उनलाई उदारवादी राजाकै रुपमा चिनिएर होला सायद आज यो अवस्थामा पनि उनी भइदिएको भए के हुन्थ्यो होला ? भन्ने छलफल एउटा वृत्तमा चलि नै रहेको पाइन्छ । दाजु वीरेन्द्रको हत्या भएपछि राजा बनेका ज्ञानेन्द्रले २०५९ साल असोज १८ गते तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवालाई पदबाट बर्खास्त गरिदिए । त्यहीँबाटै सुरु भएको थियो सक्रिय राजतन्त्रको यात्रा तत्कालीन प्रधानमन्त्री शेरबहादुर देवउवालाई बर्खास्त गरैसँगै राजा ज्ञानेन्द्र आफैले प्रधानमन्त्री नियुक्ति गरे । पुनः २०६१ माघ १९ गते उनी आफै मन्त्रिपरिषद्को अध्यक्षता गर्ने हैसियत राखे ।

अधिकार आफ्नो हातमा लिई देशको शासक बन्न खोजे । तत्कालीन अवस्थामा उनको त्यो कदम नै विपरित धारमा रहेका दलहरुलाई राजतन्त्र विरुद्ध संगठित हुन उत्प्रेरणा मिल्यो । शासन सत्ता जनयुद्धका साथ स्थापिन हुन्छ भन्ने मान्यताका साथ जनयुद्धमा कम्मर कसेर लागेको तत्काली नेपाल कम्युनिष्ट पार्टी माओवादी र शान्तिपूर्ण जनआन्दोलनबाटै सत्ता परिवर्तन हुनसक्छ भन्ने मान्यता बोकेको तत्कालीन नेपाली कांग्रेस, नेकपा एमाले सहित तत्कालीन सात राजनीतिक दलहरु जुन बाह्रबुँदे सहतिको जगमा निरंकुश राजतन्त्रका विरुद्ध ०६२ चैत्र २४ गतेदेखि निर्णायक रुपमा नेपालका सडकहरु तातिन थाले, जनता सडक संघर्षमा उत्रिए । १९ दिने चर्चित आन्दोलनको सुरुवात भयो । ०६३ साल बैशाख ११ गते जनताको नाशोको रुपमा रहेको लोकतन्त्रलाई जनतालाई नै फिर्ता गरिएको घोषना गर्न बाध्य भएसँगै विघठिट संसद् पनि पुनःस्थापन भयो र यही आन्दोलनको बलमा अन्तरिम संविधान जारी भई सोही आधारमा संविधानसभाको निर्वाचन भएको हो । त्यही संविधान सभाको पहिलो बैठकबाट ०६५ साल जेठ १५ गते सयौँ वर्ष लामो इतिहास बोकेको राजतन्त्र नै मुलुकका लागि सदाको लागि बिदा हुन पुग्यो । तत्कालिन राजा ज्ञानेन्द्रले युग पतनको साक्षी बनेर दरबारमा पत्रकार सम्मेलन गर्दै गद्दी छाडे ।