सधैंका लागि त्यागौं सुर्तीजन्य पदार्थ

के.पी. सुवेदी

शाब्दिक अर्थमा धुम्र भन्नाले धुवाँ र पान भन्नाले पिउनु भन्ने बुझिन्छ । अंग्रेजी भावानुवाद पनि यस्तै–यस्तै हुन आउँछ । तर आजभोलि धुम्रपान भनेको घुवाँ पिउनुमात्र नभई सुर्तीजन्य पदार्थको विभिन्न तरिकाले गरिने सेवनलाई धुम्रपान भन्ने बुझिन्छ । सुर्तीजन्य पदार्थलाई विभिन्न अवस्था र आकारमा तयार गरी आफ्नो छनोट अनुसारको विधिले सेवन गर्ने गरी बनाइएको हुन्छ । जस्तै कागजको नलीमा सुर्ती भरेर बनाइएको, पातको सोलीमा सुर्ती भरेर बनाउने, खुल्लै सुर्ती हुक्का या चिलिममा भर्ने र आगोमा सल्काएर धुवाँ तानेर सेवन गर्ने धुम्रपानको एउटा तरिका हो ।

सुर्तीजन्य पदार्थको खाने चुनामा मिलाएर पानको पात या सुर्तीमात्र मुखमा हालेर चपाएर रस निल्ने गर्छन् । यसरी विभिन्न तरिकाले सुर्तीको धुवाँ वा सोझै रसपान गर्नु नै धुम्रपान हो । सिग्रेट या चुरोटबिँडी, कक्कड, तमाखु पान, खैनी, सुर्ती सबै सुर्तीजन्य प्रार्थना हुन् । यिनको सेवन गर्नुलाई खराब बानी व्यहोरा मानिएको छ । यस्ता पदार्थहरु सुरुमा रहरले सेवन गर्ने र विस्तारै त्यसको लतमा फस्दै जाँदा नोक्सानदायक अथवा प्राणघातक पदार्थ भन्ने बुझेर पनि त्याग्न नसक्ने गरी फसिसकेको हुन्छ । त्यसैले यस्तो लतलाई दुव्र्यसन र लतमा फसेको व्यक्तिलाई दुव्र्यसनी भनिन्छ ।

कुनै समय थियो, सुर्तीजन्य पदार्थ स्वास्थ्यको लागि हानिकारक छ भन्ने कसैलाई ज्ञान थिएन । महँगो चुरोटको सर्को तानेर गद्दीमा रवाफिलो गफ लगाउने साहु महाजन महँगो चुरोटले आफ्नो हैसियत अरुभन्दा उँचो रहेको देखाउँथे । निम्नवर्गका मानिसहरु मागेर भए पनि खाने गर्थे । जब–जब सुर्तीको बारेमा अध्ययन हुन थाल्यो र त्यसको नतिजा नकारात्मक हुन थाल्यो तब मानव स्वास्थ्यमा यसको असर र दुव्र्यसनीहरुको क्यान्सरजस्ता घातक रोगबाट मृत्यु भएको तथ्यहरु बाहिर आउनथाले । विशेष गरी फोक्सो, आन्द्रा, कलेजो, मुख, घाँटीलगायत विभिन्न अङ्गमा अर्वुद रोग अथवा क्यान्सर लागेर मर्नेको संख्या अत्यधिक भएको कहालीलाग्दो अवस्था देखिनथालेपछि सुर्ती सेवन स्वास्थ्यको केवल हानिकारक मात्र होइन प्राणघातक हुन्छ । यसको सेवनले सेवन गर्ने व्यक्तिलाई असर गर्छ । त्यसभन्दा पर उसले उडाएको धुवाँ र फ्याँकेका छिटाहरुबाट पनि नजिकको व्यक्तिमा असर पर्नसक्छ । जब मानिस सुर्तीजन्यवस्तुको लतमा फस्छ त्यतिखेर शरीरलाई जोखिममा राखेर सेवन गरिरहेको छु भन्ने थाहा भएर पनि त्याग्न नसकिने अवस्थामा हुन्छ । त्यसैको परिणामले धुवाँ छोडेर खैनी सुर्ती, गुट्खा, पानपराग, यस्तै–यस्तै धेरै नाममा स्वास्थ्यलाई वर्वाद गर्ने पदार्थको प्रयोग गर्दै जान्छ ।

सुर्ती या सुर्तीजन्य पदार्थमा स्वास्थ्यलाई नोक्सान पु¥याउने सयभन्दा बढी रसायन मिसिएको हुँदा शरीरको जुनसुकै भागमा पर्न गए पनि कम्तिमा क्षति पु¥याउने भएकोले यसलाई निषेध गर्नुपर्छ भन्ने स्वस्थ्यसम्बन्धी विज्ञहरुको सुझावअनुसार सन १९८७ मार्च महिनाको दोस्रो बुधवार धुम्रपान निषेध गरौँ भन्ने दिवस मनाउन सुरु भयो । सुरुमा यससम्बन्धी सचेतना अभियान चलाउने र त्यसको अनुगमन सरकारको औपचारिक कार्यक्रम हुनुपर्ने निर्णय सर्वप्रथम संयुक्त अधिराज्यमा गरिएको भए पनि पछि विश्व स्वास्थ्य संगठनले सबै सदस्य राष्ट्रहरुको कार्यक्रम बनायो । धुम्रपानरहित दिवस भन्नाले धुवाँ नपिउने भन्ने हो तर सुर्तीजन्य पदार्थ निषेध गर्ने विश्व स्वास्थ्य संगठनले गरेको निर्णयानुसार हरेक वर्षको मे ३१ लाई विश्व सुर्तीरहित दिवस मनाउने गरिएको छ । अझै पनि सरकारले पूर्णरुपले निषेध गर्नसकेको छैन । तर प्रयोगलाई निरुत्साहित गर्न धेरै कर लगाएर उत्पादनलाई महँगो गराउने निर्णय वर्षको बजेटमा गरिरहेको हुन्छ । राज्यले कडाई गर्दै जाने र विभिन्न औपचारिक, अनौपचारिक शिक्षाको माध्यमबाट जनचेतना बढ्दै गएपछि धुम्रपान गर्ने व्यवहारमा परिवर्तन आएकोछ । धुम्रपान छोड्न खैनी, सुर्तीको प्रयोग गर्ने चलन बढिरहेकोमा अहिले कोरोना भाइरसको महामारी सुरु भएपछि सुर्तीजन्य पदार्थको जुनसुकै प्रयोग पनि उत्तिकै हानिकारक भएको सबैले बुझ्नुपर्ने छ । सरकारले चुरोट कारखाना चलाएर जनतालाई क्यान्सर जस्तो प्राणघातक रोग राज्यको आम्दानी बढाउने लालसामा बाँडिरहेको थियो । प्रजातन्त्र पुनःस्थापना पछिको वहुमतको सरकारले चुरोट कारखाना बेच्दा सबैतिर विरोध भयो । राज्यको सम्पत्ति विक्री गर्नु कति सही हुन्थ्यो ? त्यसबारेमा आफ्नो तर्क हुनसक्छन् ।

तर जनस्वास्थ्यमा हानीनोक्सानी गर्ने वस्तुको उत्पादन गर्ने उद्योग बन्द गर्नु, उत्पादन रोक्नु वा निरुत्साहित गर्नु लोककल्याणकारी राज्यको कर्तव्य हुनुपर्छ भन्ने अर्थमा निर्णय सही थियो । सार्वजनिक स्थलमा धुम्रपान नगर्ने आदेश पनि २०६३ मा गिरिजाप्रसाद कोइरालाको नेतृत्वमा बनेको सरकारले गरेको थियो । त्यसपछिका सरकारले यसलाई अझै कडाईका साथ अगाडि बढाइरहेका छन् ।
आजकल सुर्तीजन्य पदार्थको प्रयोग वा सेवनलाई दुव्र्यसन मानिएको छ । दुव्र्यसन खराब आचरणभित्र पर्ने भएकोले अरु मानिसको नजिकमा सेवन गर्न दुव्र्यसनीहरु हिच्किचाउने गर्छन् । विकसित देशहरुमा निश्चित क्षेत्रमा मात्र धुम्रपान गर्न पाइने गरी तोकिएको हुन्छ । हाम्रो देशमा पनि सार्वजनिक स्थलमा धुम्रपान निषेध गरिएको छ । तर लुकीछिपी सुर्ती च्याप्ने चलन गइसकेको छैन । सुर्ती, पानजस्ता प्रदूषित पदार्थ पनि निषेध गर्नैपर्छ । कोरोना भाइरस थुकका छिटाबाट नजिकको अर्को जीवनमा सर्ने प्रमाणित भइसकेपछि यसको रोकथामको सबैभन्दा महत्पूर्ण उपाय जहाँ पायो त्यहाँ नथुक्नु, मास्क नलगाई अरुका नजिकमा नजानु, हात नधोई कुनै चीज नखानु वा मुखमा नराख्मु, खुला रुपमा नखोक्नु र हाछ्यूँ नगर्नु स्वयम् आफ्ना लागि र अरुका लागि पनि अनिवार्य छ । समयले हामीलाई चेतावनी दिँदै खराब आचरण त्याग्न लगाउँदैछ । अब अरुलाई नोक्सान पु¥याउने सबै खाले दुव्र्यसन हुन् । विस्तारै यस्ता व्यवहारहरु सार्वजनिक अपराधका रुपमा परिभाषित हुँदै जानेछन् । त्यसैले हामीले आफ्नै लागि बुझ्न नसकेको अथवा बुझ्न ढिलो गरेको विषयमा प्रकृतिले शिक्षा दिनथालेको छ । कुनै समय अज्ञानताबस सिकेका र दैनिकीझैँ अपरिवर्तनीय लाग्ने चलनहरु पनि उपयोगितावादको अध्ययनले तुलनात्मक लाभ लिनसक्ने चेतना अभिबृद्धि हुँदै मानव सभ्यताको अर्को चरणमा प्रवेश गर्न वाध्य हुनुपर्छ ।