जातीयताको आधारमा हुने हिंसा अन्त्य गरौं

रुकुम घटनाले चर्को रुप लिँदै छ । ६ जना युवाहरुको भेरीको तिरमा शव प्राप्त हुनु आफैमा हृदयविदारक घटना हो । त्यसमा पनि सामूहिक रुपमा उनीहरुको हत्या गरेर, बाँधेर नदीमा फालिएको देखिएको छ । घटनाको विस्तृत अनुसन्धान स्वतन्त्रपूर्वक हुने नै छ । अझ उदेकलाग्दो त के छ भने जातीयभावको कट्टरताले त्यो नरसंहार हुन पुगेको छ । दलित युवा र गैह्रदलित युवतीबीचको प्रेमलाई अस्वीकार गर्दा यो घटना घटेको छ । त्यो दिन घटना कसरी अगाडि बढ्यो र यो रुप धारण ग¥यो भन्ने एउटा अनुसन्धानको विषय होला । तर, जातीय कट्टरता घटनाको वीऊ हो र घटना अपराधको पराकाष्ठा हो भन्ने कुरा निःसन्देह जो–कोहीले पनि भन्न सक्दछ ।

जातीय कट्टरताको प्रदर्शनलाई पनि हाम्रो कानुनले प्रतिबन्ध लगाएको छ भने हत्याजस्तो जघन्य अपराधलाई संसारको कुनै पनि कानुनले क्षम्य मान्दैन । यो अवस्थामा जतिसके चाँडो घटनाको छानविन गरेर दोषीलाई कानुनको कठघरामा उभ्याउन आवश्यक पर्दछ । रात रहे अग्राख पलाउँछ भन्ने हाम्रो समाजको कथन त्यत्तिकै बनेको हैन । कुनै पनि कुरामा समयमै निर्णय लिन नसक्दा त्यो निर्णय सही हुन नसकेका सैयौँ दृष्टान्तहरुको जगमा त्यो कथन हाम्रो प्रचलनमा आएको कुरामा विश्वास गर्न सकिन्छ । समयमा निर्णय लिन विलम्ब भयो भने यहाँ पनि अग्राख पलाउने छ । यो अवस्थामा दुईवटा समस्या एकै पटक उपस्थित हुने छन् । एउटा अपराधी खुलेआम हाम्रा नियम, कानुन र सोचलाई लल्कार्दै हिड्ने छ अनि अपराधको वीऊ समाजमा कायमै रहने छ । अर्को जातीयताको चोट त्यति चाँडो निको हुँदैन, त्यो निको नहुनु भनेको त्यसले प्रतिक्रिया देखाइरहन चाहनु हो । यी दुवै अवस्था हाम्रो जस्ता अन्तरघुलित समाजका लागि विष हुन्छन् । तसर्थ, घटनाको जरोसम्म पुगेर समाज रुपमान्तरणका बाधक सोचहरुलाई पनि सवक सिकाउने गरी घटनाको छानविन गरेर दोषलाई कारवाही गर्नै पर्छ । अग्राख पलाएझैँ घटनालाई राजनीतिकीकरण गरिँदै छ । आफन्त बचाउन ठूलै नेताहरु लागेको चर्चा चल्दै छ, मिडियाहरुमा पनि आइसकेको छ । घटनालाई लकडाउन उलङ्घन गरेपछिको अवस्थाका रुपमा मोड्ने प्रयास पनि गरिँदै छ । यी सबै गलत कुराहरु हुन् । यस्ता कुरा गर्नेहरुको नियतमा शंका गर्नुपर्ने हुन्छ र स्वतन्त्र छानविनलाई यस्ता कुरामा नअल्मलिएर मूल समस्यामा टेकेर समस्याको पहिचान गर्ने र संलग्नलाई निर्ममतापूर्वक कारवाहीको दायरामा ल्याउने वातावरणमा सबैले सहयोग गर्नु पर्दछ ।

समाजलाई वर्गविहीन बनाउने नारा पनि यो समाजमा वर्षौंदेखि लगाइयो । सामाजिक एकताका लागि पनि प्रशस्त गीत गाइयो । विभेदरहित समाज निर्माणका लागि ठूल्ठूला संकल्प पनि गरिए । रुपान्तरणका आवाजहरु तिनै विकट गाउँहरुमा पनि खुबै लगाइए । यी सबै प्रयासहरुले नागरिक चेतनाको स्तरलाई माथि उठाएको छ । अब यस्तो अवस्थाको अनुभूत गर्न पाउने समय पनि हो । किनभने उल्लेखित सवालहरु कुनै एउटा नेतृत्वको मौलिक चिन्तन हैन, समाजको आवश्यकता र माग थियो । जातका आधारमा हिंसाको संस्कृतिलाई यही घटना निरुपणका क्रममा सदाका लागि विदाई गर्न सकियोस्, सबै तहका नेतृत्वको अग्रसरता सहितको भूमिका यतिबेला अपेक्षित छ ।