Goraksha

National Daily

मनमा उब्जिएका प्रश्न

मनोज पौडेल

मैले समाजशास्त्रको विद्यार्थीको रुपमा धेरै कुरा पढेको हुँला, तर बुझेको एउटा कुरा के हो भने राजनीति भनेको राष्ट्रको मुटु हो । जसले कुनै पनि देशको नीति तथा कार्यक्रम, कानुन निर्माण तथा कार्वान्वयन, स्वास्थ्य, शिक्षा, उद्योग तथा वाणिज्य, अर्थ व्यवस्था, विकास निर्माण, परराष्ट्र मामिला, कूटनीतिक व्यवस्था, सामाजिक सुरक्षा, सूचना सम्प्रेषण तथा सञ्चार, सीमा सुरक्षा, सेना तथा प्रहरी आदिलाई परिचालन गर्ने तथा नियन्त्रण मात्र होइन जनताको सम्पूर्ण जीविकोपार्जन, मानसिकता तथा राष्ट्रको समद्धि, सम्प्रभूत्व, स्वाधीनता तथा सार्वभौमिकता अधिनस्त रहेको हुन्छ । यी सबै कुराहरुको सवलता तथा दुर्बलता राजनीतिज्ञहरुको विचार, बौद्धिक स्तर, कार्यशैली, ज्ञान, सुझबुझ, अध्ययन, दृष्टि, मानवीय गुणले प्रभाव पार्छ ।

एक असल राजनीतिज्ञले यी सबै कुरामा दख्खल राख्नु त पर्छ नै, सबैभन्दा महत्वपूर्ण कुरा के हो भने यदि कुनै राजनीतिज्ञ वा राजनेता देशको वास्तविक भूगोलको बारेमा जानकारी राख्दैन वा अनभिज्ञ छ भने उसले राजनीति गर्ने हैसियत पनि राख्दैन । मैले यहाँनेर ऊ पढेलेखेको हुनुपर्छं भनेको होइन तर विवेक भएको हुनुपर्छ । उसलाई केही कुरा थाहा होस् अथवा नहोस् तर जनताको आत्मसम्मान, देशको सीमा सुरक्षा, सम्प्रभूत्व र सार्वभौमिकता जहिल्यै पनि पहिलो प्राथमिकता र संकल्पको विषय हुनुपर्छ र बनाइनु पर्छ । म एक सामान्य नागरिकको हैसियतले नेपालको राजनीतिले यो कुरा कहिल्यै सम्बोधन गरेको पाइन ।

राजनीतिबाट हामी जति टाढा गए पनि, जति वेवास्ता गरे पनि राजनीति हामीबाट टाढा जान सक्दैन । यो एक सर्वमान्य सिद्धान्त पनि हो । एक विद्वान्ले भनेका छन्– ‘हरेक कुराले हामीलाई विभाजन गर्छ, धर्म, जाति, वर्ग, परम्परा, रीतिरिवाज, भूगोल, भाषा, भेषभुषा, विचार, सोच, पार्टीको राजनीति आदि, तर एक कुरा जसले हामी सबैलाई एकढिक्का बनाउँछ र एकताबद्ध भइ एउटै दिशामा केन्द्रित गर्छ त्यही नै राष्ट्रियता हो, हाम्रो माटो प्रतीको प्रेम र राष्ट्रिय झण्डा प्रतिको सम्मान हो ।’ यो कुरामा मेरो विचार पनि यही नै हो ।

पीडा त हुँदै गर्लान्, दुःख सहँदै गरौँला, संघर्ष रोकिने छैन भन्ने दृढ संकल्प सहित सरकारले जारी गरेको नेपालको पूर्ण सीमाको नक्सा जब निस्कियो मेरो खुशीको सीमा रहेन । सायद यति खुशी म कहिल्यै भएको थिइन । यो नक्सा सँगसँगै मलाई के पनि ज्ञात भयो भने मलाई अहिलेसम्म नेपालको भू–राजनीतिबारे जति पढाइयो र पढे, नक्सा, सीमाड्ढन, क्षेत्रफल, आदिइत्यादि सबै गलत रहेछ । कस्तो विडम्बना ! आफ्नै देशको भूगोलको बारेमा लेख्न र पढाउन नसक्ने सरकारहरु…? आफ्नै भूगोलको पूर्ण नक्सा बनाउन २०४ वर्ष कुर्नुपर्ने ? हामी नयाँ पुस्तालाई यस्तो गुम्राहमा कसले राख्यो ? आम नागरिकका हैसियतले मेरा मनमा उब्जेका प्रश्नहरु हुन्, यी ।

यो नक्सा जारी भएसँगै धेरै प्रश्न तथा शंकाहरु उब्जिएका छन, ती आम साधारणको शंका तथा प्रश्नप्रति म केन्द्रित हुन चाहन्न । तर पनि केही कुरा चाहिँ गर्नैपर्छ भन्ने महशुस भएर दुई÷चार शब्द कोरेको मात्र हो । धेरै कुरा गर्न पनि चाहन्न किनभने यिनै कुराका ज्ञान र इतिहासले आज सामाजिक सञ्जाल र सञ्चारमाध्यमहरु भरिएका छन् र मैले यहाँ गरेका कुराहरु ती कुराहरु भन्दा भिन्नै होऊन् भन्ने कुरामा सकेसम्म सचेत भइरहेको पनि छु । यसका वावजुद पनि मैले यो कुरा त गर्नैपर्छ । जब–जब भारत र नेपालबीच सीमा विवाद चर्किन्छ तब–तब मधेशी समुदाय तथा तराईबासीको राष्ट्रप्रेम र स्वाभिनमानमाथि प्रहार गरिन्छ । जसले हामी आफूलाई भित्रभित्रै खोक्रो र कमजोर बनाउँछ । हामी सबैले यो कुरा बुझ्न जरुरी छ कि सुगौली सन्धिपश्चात २०४ वर्षसम्म त्यही तराईबासी मधेशीले रगतको खोलो बगाएर नेपालको सीमा रक्षा गरिरहेका छन् ।

यसको मतलव पहाडी र हिमालीको योगदान कम छ वा उनीहरुको रगत बगेको छैन भनिएको पक्कै होइन । समय सन्दर्भले बोलिएको मात्र हो र सम्मान छ सबै नेपाली सपुतहरुलाई । स्मरण रहोस् गद्दार र राष्ट्रघातीको कुनै धर्म, जात, वर्ग, क्षेत्र, लिङ्ग हुँदैन । उसले कसैको प्रतिनिधित्व गर्दैन, उसको आत्मसम्मान र स्वाभिमान हुँदैन । ऊ देशको नागरिक होइन, ऊ कसैको होइन ।
यो भनिरहँदा म प्रष्ट के गर्न चाहन्छु भने एक नेपालीको हैसियतले अर्को नेपालीलाई उसको राष्ट्रियता र राष्ट्रप्रेममाथि प्रश्न उठाउने र शंका गर्ने अधिकार राख्दैन । यो कुरा सबैलाई थाहा छ कि संस्था कहिल्यै गलत हुँदैन । सरकार कहिल्यै गलत हुँदैन । संसद कहिल्यै गलत हुँदैन । तर त्यस संस्थालाई चलाउने, सरकार चलाउने र संसदमा प्रतिनिधित्व गर्ने व्यक्ति गलत हुन सक्छन्, अपरिपक्व हुन सक्छन् । हामीले सुगौली सन्धि पश्चात ब्रिटिसबाट र भारत स्वतन्त्र भएपश्चात भारतबाट भोगेका पीडाहरु त्यही अपरिपक्वताको नतिजा हो र अझै कहिलेसम्म भोग्नुपर्ने हो, थाहा छैन ।

हाम्रा मतभेदहरु होलान्, दुःखेसोहरु होलान् तर राष्ट्रप्रेम, आफ्नो माटो, राष्ट्रिय स्वाधीनता, राष्ट्रिय झण्डाको सम्मान, राष्ट्रिय सम्प्रभूता र सार्वभौमसत्ताको सवालमा हामी एक हौँ, एक ढिक्को छौँ र रहिरहने छौँ । राष्ट्रियताको सवालमा अन्य कुराहरु गौंण छन् र ती हाम्रा घरभित्रका कुरा हुन् । कुनै बच्चा आफ्नो आमाबुबाको काम गराईप्रति रुष्ठ छ भने यसको मतलव उसलाई आफ्नो परिवारको माया छैन भन्ने हुँदैन, तर त्यसको फाइदा छिमेकीले उठाउने सम्भावना प्रवल रहन्छ । चेतना भया, जय नेपाल !