दाङ, १६ जेठ । पश्चिम रुकुमको चौरजहारी नगरपालिका ८ मा जातीय विभेदका कारण भएको घटनाका दोषीलाई हदैसम्मको कारबाही गर्न नेपाल महिला सामुदायिक सेवा केन्द्रले माग गरेको छ ।
दलित युवा र गैर दलित महिलाबीचको प्रेमका विषयमा भएको विवादमा दलित युवासहित अन्य युवाहरुको हत्या र बेपत्ता बनाएको कार्यप्रति दुःख व्यक्त गर्दै केन्द्रले दोषीहरुलाई हदैसम्मको कारबाही गर्न माग गरेको हो ।
केन्द्रका संस्थापक अध्यक्ष विमला योगीले शुक्रवार विज्ञप्ति जारी गर्दै जातीय विभेदका कारण भएको दुःखद् घटनामा संंलग्न पीडकहरुलाई हदैसम्मको कारबाही र पीडितलाई न्याय प्रदान गर्न राज्यसँग माग गरेकी छिन् । ‘अन्तरजातीय प्रेमको कारण भएको यो घटनाले नेपाली समाज अझै मध्ययुगीन असभ्यताको अभ्यासमा ब्यस्त छ भन्ने कुरा स्पष्ट भएको छ ।
जातीय छुवाछूतको विभेदीकरण भएको र मानिसले स्वतन्त्रतापूर्वक बाँच्न पाउनुपर्ने मानवअधिकार हनन् भएको अवस्थामा मानिसको ब्यक्तिगत स्वतन्त्रताको अधिकार सुनिश्चितताका कायम रहोस् । यस असंबैधानिक तथा गैरकानुनी अपराधको घोर भत्सर्ना गर्दछौं ।’ विज्ञप्तिमा भनिएको छ– ‘यस दुःखद् घटनामा संलग्न दोषीलाई हदैसम्मको कारवाही, पीडितलाई न्याय प्रदान होस् र राज्यले आग्रह÷पूर्वाग्रह नराखी जातीय विभेदको घटनाबाट खिन्न नेपाली समाजलाई न्याय प्रदान गर्न यस्ता जातीय बिभेदकारीलाई कडा कारबाही होस भन्ने माग गर्दछौ ।’ साथै विज्ञप्तिमा सोही घटनालाई लिएर दाङ जिल्ला संयुक्त दलित संघर्ष समितिले गरेको बिरोध कार्यक्रममा ऐक्यबद्धता रहेको उल्लेख गर्दै राज्यमा सामाजिक न्याय, सामाजिक सद्भाव र मानवअधिकारको सुनिश्चिताको प्रत्याभूतिका लागि अपिल पनि व्यक्त गरिएको छ ।