बालाराम खड्का
तुलसीपुर, १६ जेठ । नवजात शिशुको स्तनपानका लागि दुधालु बाख्रा सहयोग गरिएको छ । तुलसीपुर उपमहानगरपालिका वडा नंं. ९ ले नवजात शिशुलाई स्तनपानका लागि शुक्रवार तुलसीपुर–९ बेलुवाका एक शिशुका लागि दुधालु बाख्रा किनेर परिवारलाई हस्तान्तरण गरेको छ ।
सो वडा निवासी दिलबहादुर चौधरीको नवजात शिशुलाई स्तनपानका लागि बाख्रा सहयोग गरिएको वडाध्यक्ष घनश्याम ढकालले वताए । जेठ १२ गते चौधरीकी श्रीमती गीता चौधरीबाट बच्चा जन्मिएको र शिशुलाई जन्म दिएको ९ घण्टापछि नेपालगञ्जमा उपचारको क्रममा आमाको मृत्यु भएको थियो । नवजात शिशु अञ्जली चौधरीलाई पालन पोषण गर्न दूधको रुपमा बाख्राको दूध पोसिलो हुने भएकाले वडाले शुक्रवार बाख्रा प्रदान गरेको हो । ‘नवजात बालिकालाई दूध खुवाउनको लागि बालिकाका आफन्तलाई बालबालिका लक्षित शीर्षकबाट एउटा दुधालु बाख्रा किनेर हस्तान्तरण गरिएको छ’, वडाध्यक्ष ढकालले भने ।
गाईभैंसीको दूध पोषणका लागि सेवन गर्ने गरे पनि तत्काल गाईभैंसी नपाएपछि शिशुलाई पोषणका लागि दुधालु बाख्रा खोजेर हस्तान्तरण गरिएको वडा कार्यालयले जनाएको छ । ‘तत्काल गाईभैंसी पाउन सकिएन, उहाँहरुको घरमा पनि कुनै बस्तुभाउ छैन, गाउँमा एउटा दुधालु बाख्रा रहेछ त्यसैलाई किनेर स्तनपानका लागि सहयोग गरिएको छ’, अध्यक्ष ढकालले भने । आमाको दूध खाने शिशुलाई गाई, भैँसीको साथै बाख्राको पनि दूध खुवाउन मिल्ने भएकाले बाख्राको दूध पनि पोषणका लागि उपयूक्त हुने नगर स्वास्थ्य प्रमुख ईश्वरीप्रसाद चालिसेले बताए । ‘बाख्राको दूध पनि शिशुका लागि पोसिलो हुन्छ, गाई भैंसीको जस्तै खुवाउँदा केही फरक पर्दैन’, उनले भने– ‘दूध राम्रोसँग उमालेर सुरक्षित तरिकाले शिशुलाई खुवाउनुपर्छ ।’