युवराज शर्मा
नेपालको राजनीति परिवर्तनशील छ । यहाँ जलवायु पनि परिवर्तन भइरहन्छ । नेपालीले आफ्नो विचार पनि परिवर्तन गरिरहन्छन् । खेतीपातीमा समय बिताउने किसानले लगाउने बालीविरुवामा पनि परिवर्तन गर्दै आएका छन् । उनीहरुको उब्जनीमा पनि परिवर्तन भइरहेको छ । नेपालका व्यापारीहरुले बेच्ने मालसामानहरुमा पनि मूल्य बृद्धिको परिवर्तन भइरहेको हुन्छ ।
गाउँलेहरुले गाउँको जीवनशैलीलाई त्यागेर सहरबजारको जीवनशैली अपनाएको परिवर्तन भइरहेको छ । नागरिकको स्वास्थ्य र उनका बालबालिकाको शिक्षामा पनि परिवर्तन भएको छ । घरघरमा लोग्नेस्वास्नीबीचको भावनामा र समझदारीमा परिवर्तन भइरहेको वातावरण बनेको छ ।
मान्छेका पोशाक र गहनाहरुमा आएको परिवर्तनले गर्दा आधुनिक समाज बढिरहेको छ । राजनीतिज्ञहरुको राजनीतिक खिचातानीले समाजमा नैराश्यता बढेकोले परिवर्तन भएको छ । समाजमा भएका सामाजिक कार्य गर्ने मनुष्यहरुमा व्यक्तिगत नैतिकता र चरित्रहरुमा परिवर्तन भइरहेको छ । रोगहरुमा नयाँ–नयाँ रोगहरु हरेक देशमा भत्रिरहेका छन् । विदेश गएर कमाई गर्नेहरुले पठाएको रकमले सरकार चलिरहेको छ । वर्तमान समयमा कोभिड–१९ कोरोना भाइरस नेपालमा पनि भित्रिरहेको छ । रोग भिœयाउनेहरु रेमिट्यान्स सरकारलाई बुझाउनेहरु नै छन् ।
पहिलो कोरोना भाइरसले मृत्यु हुनेमा सिन्धुपाल्चोककी २९ वर्षीया महिला बनिन् । जो सुत्केरी व्यथाले विक्षिप्त भएकी थिइन् । बालकको जन्म भयो । आमाको मृत्यु भयो । कस्तो विजोग ?
सामाजिक परिवर्तन गर्न नसके पनि राजनीतिक परिवर्तन ग¥यौँ भन्ने नेताहरु धेरै भएका छन् । त्यस्तावर्गका मान्छेहरुले अर्काको घरमा बिना सोधपुछ पस्छन् र बस्छन् । उनीहरुले यसैलाई सामाजिक परिवर्तन भन्छन् । घरधनीहरुले भन्छन्– कोरोना रोगको कारण रोग सार्ने काममा घर–घर पस्ने कोरोना रोगी हुन्छ भन्छन् । धेरैलाई गाउँलेहरु भएर लखेटेको सुन्छौँ र कोराना छेक्न तारबार गरेको पाउँछौँ । के कोरोना रोग दृश्य छ ? उसको स्वरुप लडाकू प्रवृत्तिको छ ? पढेलेखेकाहरुले सरुवा रोग हो र अदृश्य छ भन्छन् । परजीवी कोरोना भाइरस हो पनि भन्छन् । यसले धनी र गरिब मान्छे वा देश छुट्याउँदैन । त्यसैले विश्वमा फैलिन सकेको छ । यसको क्षमतालाई वशमा ल्याउनसकेका छैनन्, जान्न सकेका छैनन् ।
गाउँघरका नेताहरुमा स्वार्थीपन धेरै मात्रामा छ । आफ्नो दलको सिद्धान्त थाहा छैन । तर पार्टीको नाम र दलीय गुटको थाहा छ । उनीहरु भन्छन् – गाउँलेहरु मिलेर कोरोनालाई लखेट्नु पर्छ । तर गाउँका विद्यार्थीहरु भन्छन्– कोरोना भाइरस हावाबाट वा स्वासबाट एक मान्छेदेखि अर्को मान्छेमा सर्ने सरुवा रोग हो । यो गाउँका कुखुरा चल्ला खाने स्याल होयन । राष्ट्रिय स्तरका नेताहरु पनि भन्छन्– यो रोगलाई लखेट्नु पर्छ । गाउँलेहरु भन्छन् – लखेट्ने काम भ्रष्ट राजनीतिज्ञहरुले गर्नुपर्छ । नेपाललाई भ्रष्टाचार नगर्ने देश बनाउनु पर्छ । तब मात्र कुर्सीको लडाई नेपालमा नेताहरुबाट हुने छैन । सुनदर शान्त नेपाल र शरल नेपाली जनजीवन देखिने छ । विकृतिको वातावरण राजनीतिले ल्याएको हो । त्यसैले मानिसहरुमा दाय, माया, श्रद्धा, सहानुभूति र सहयोग हराएको छ, स्वार्थी भावना बढेको छ । सबैभन्दा बढी स्वार्थी भावना नेताहरुमा छ ।
राजनीतिज्ञहरुको अदूरदर्शीताले गर्दा गाउँघरका खेतीयोग्य जमिनहरु घरघडेरीमा टुक्रिएका छन् । भएका जमिनहरुमा उब्जनी गर्न जनशक्ति छैन । सरकारी प्रेरणा पनि छैन । खेती गर्नेवर्गलाई कुनै प्रकारको राहत–अनुदान पनि सरकारबाट उपलब्ध छैन । सरकारी योजना र नीतिहरु ठूला–ठूला छन् । खेतीपाती गर्ने साना किसानहरु मात्र छन् । कोरोना रोगको भयावह भएपछि विदेशिएकाहरुलाई आफ्नै माटोको माया बढ्यो । नेपाल फर्कने नेपाली विश्वका विभिन्न मुलुकहरुमा काम गर्न गएका ८१ लाख छन् भने भारतमा मात्र ३१ लाख छन् । करिब ३१ लाख ८१ लाखका लागि खेतीपातीमा कस्ता प्रकारका नीति ल्याएमा परिवर्तन गर्ने योजना कार्यान्वयन हुने हो ? यो पनि राजनीतिक परिवर्तनको नमुना बन्ने छ । कतै सहकारी संस्थाहरुका माध्यमबाट आफ्ना मानिसहरुलाई अर्बौं रकम बाँडेका नमुना बन्ने त होइन ? किसानहरु राजनीतिज्ञहरुको कार्यशैलीमा शंका गर्छन् । किसानहरुलाई सरकारी राहत, अनुदान दिने भनाई विश्वासिलो छैन ।
अहिले गाउँघरमा गोरु पाल्न छाडे । टेक्टरबाट खेतीपाती गर्छन् । टेक्टरको खर्च, मल–वीऊको लागत रकम किसानले व्यहोर्छन् । स्थानीय सरकार भन्छ– पैसा तिरेर टेक्टर ल्याऊ, मलवीऊ र कीटनाशक ओखतीहरु पैसा तिरेर खरिद गर, पैसा नहुनेले खेतीपाती नगर । विदेशतिर बाटो लाग । किसानको अवस्थामा परिवर्तन आएन । २०५२ फागुन १ गतेदेखि माओवादीले जनयुद्ध चलायो । नेताहरु गाउँलेहरुका घरमा लुकेर बसे । उनीहरुले गाउँलेहरुका घरमा वास र खाना खाए ।
गाउँलेहरुको नून माओवादी नेताहरुका पेटमा अझै नूनिलो होला । राजनीतिक परिवर्तन गरेर सत्तामा बसी चिल्ला गाडीहरु दगुराउने सुविधाधोगीहरुले आफू बास बसेको कटेरोलाई बिर्से र अन्धो मान्छे बनेको राजनीतिज्ञ भए । यो पनि राजनीति गर्नेहरुको परिवर्तन थियो । किसानहरुका समस्या जहाँको त्यही छन् । उनीहरुले परिवर्तनको अनुभूति गर्न पाएका छैनन् । तर नेताहरुको परिवर्तनलाई राजनीतिक परिवर्तन भयो भन्छन् – राजनीतिक दलहरुका राजनीतिज्ञहरु । सत्तामा रमाउनेहरुको भनाई छ – धन कमाउने मौका आएको छ । यो अवसरको उपयोग गर्नुपर्छ । नागरिकलाई भुलाउन र झुलाउन सक्नुपर्छ । यही नै हो परिवर्तन ।
कोभिड–१९ कोरोना भाइरसले मानिसहरुलाई आफ्नो देश, स्थान र वासस्थानको सम्झना गरायो र घर फर्कने अवस्था ल्यायो । यो वातावरण बनाउनु कोरोनाको उपलब्धि हो । लाखौँको धनसम्पत्ति बेचेर धनी राष्ट्रमा गएर काम गर्दा ठूलो रकम कमाउने सपना बनाएकाहरुको सपना विपना हुन सकेन । व्यौँझँदा खाली हात देखियो । अहिले विदेशबाट नेपाल फर्कनेहरुको लर्को छ ।
उनीहरुले देशमा रोजगार गर्न नचाहेर विदेशिएका थिए । आफ्नो जग्गाजमिन त्यागेका थिए । कतिपयलाई आफ्नो जमिन कहाँ छ ? थाहा पनि छैन । उनीहरु त्यस ठाउँका वासिन्दा हुन् भन्ने उनीहरुसँग नागरिकता प्रमाणपत्रमा लेखेको ठेगाना र गाउँघरका पुराना वासिन्दाहरुमध्ये कोही भए यसै गाउँको हो भन्न सक्नेछन् अन्यथा नौलो व्यक्ति मानिने छन् । गाउँबाट बाहिरिएकाहरु गाउँमा आउँदा उनीहरुलाई न्यास्रो लाग्छ । सहरबजारमा बसेर जीवन सुखमय बिताएका थिए । गृहिणीहरुका लागि सहर राम्रो थियो । गाउँमा खोलाको पानी पिएर, पानी गाग्रोमा बोकेर गृहस्थी चलाउनु कष्टकर जीवन हुने छ । यसता व्यक्तिहरुले गाउँमा खेतीपाती गर्लान् भन्नु आदर्शवादी नारा मात्र हुने छ । विदेशबाट फर्कनेहरुले धुलोहिलो सहन गर्न समस्या हुने छ । उनीहरुको जीवन पद्धतिलाई सरकारले कसरी परिवर्तन गराउने हो ? प्रतीक्षामा विदेशबाट फर्केकाहरु छन् ।
गाउँले जीवनयापन गर्ने मुख्य आधार खेतीपाती र पशुपालन व्यवसाय हो । जो परम्परादेखि गर्दै आएको पेशा पनि हो । जसले यो पेशालाई बिर्सेर घरवास छोडी परदेशी बने, उनीहरुका लागि विदेशी राष्ट्र प्यारो छ । नेपालप्रति राम्रो धारणा छैन । धारणा बसालेर विकास र समृद्धिका लागि जुट्न मन लगाउने छैनन् । विश्वका धनी देशहरु कोरोनाबाट प्रभावित भएपछि वाध्य भएर आफ्नो देश फर्केका हुन् । त्यसमा पनि भारतमा कोरोनाको प्रभाव मात्र नभएर रोगबाट मृत्यु हुनेहरुको संख्यात्मक बृद्धिले गर्दा आफनै देशका नागरिक आफ्नै प्रान्त, जिल्ला र गाउँ–ठाउँमा फर्कने क्रम बढ्यो । विदेशीहरुलाई आफ्नो देश फर्कन भन्यो । कम्पनी र व्यवसायहरु बन्द भए । बनदको सीमा निश्चित भएन । कमाई गर्न गएकाहरुलाई खाद्य समस्या भयो । खर्च थाम्न सकेनन् । अन्त्यमा घर फर्कन ुपर्ने वाध्यता कोराना रोगले ल्यायो । हरेक देशमा सरकारहरुले रोकथाम गर्न औषधि नभएपछि लकडाउन नै उत्तम ठाने र बन्दाबन्दीको वातावरण यद्यपि छ । लकडाउनको कारणले आर्थिक मन्दी र अर्थअभावको समस्याले धनी राष्ट्रभन्दा गरिब राष्ट्रहरु धेरै प्रभावित हुने छन् । यो पनि राजनीतिक परिवर्तनले ल्याएको परिवर्तन हो । जहाँ गरिबीको रेखामुनि नेपाल दुःखद अवस्थामा गुज्रनुपर्ने छ ।
नेपालको राजनीतिक परिवर्तनले नागरिकको आर्थिक, सामाजिक, शैक्षिक, चारित्रिक, स्वस्थ जीवनशैलीमा कमजोर मानवीय स्वभाव र सभ्यतामा परिवर्तन भएन । कोरोना भाइरसको प्रभावलेविकास र समृद्धिमा अवरोध, रुकावट र हानीनोक्सानी गरायो । योग्य व्यक्तिहरुले विदेशीको दासत्व स्वीकार्ने अवस्था भयो । राजनीतिज्ञहरुले आफ्नो जीवनकालमा आर्थिक उननति गर्ने अवसरहरु पाए । राष्ट्रसेवकहरुको जीवनशैलीमा परिवर्तन आएर राष्ट्र विकसित भएको पाइयो । देश खुम्चिएर सानो हुँदै गए पनि राजनीतिज्ञहरु शक्तिशाली भए । अन्त्यमा नेपालमा परिवर्तन आएर काठमाडौँ उपत्यका हेर्ने राजनीतिक बन्यो । नेपाली राजनीतिमा स्वाथीपन ल्यो । आधुनिक परिवर्तन आयो ।