थिनिङमा मोनोपोली : उपभोक्तालाई हरिस दिइएन, व्यापारीलाई काठ

खेमराज रिजाल

तुलसीपुर, १४ जेठ । नेपाल सरकार वन मन्त्रालयको कार्ययोजनाबमोजिम जिल्ला वन कार्यालयको निगरानीमा सामुदायिक वन तथा सरकारी वनहरुमा वन पातल्याउने (थिनिङ) काम शुरु भएको छ । बैज्ञानिक वन व्यवस्थापनको अवधारणाअनुरुप वन पातल्याउने काममा मोनोपोली देखिएको छ । नियम मिचेर वन फडानी भइरहेको तुलसीपुर उपमहानगरपालिका–७ स्थित धारापानी सामुदायिक वनका उपभोक्ताहरुले दावी गरेका छन् ।

कार्यसमितिले उपभोक्ताको समन्वय र सहमतिविनै मनोमानी ढंगले वन फडानी गरिरहेको तथा उपभोक्ताहरुलाई हरिस र एक भारी दाउरासमेत नदिएर व्यापारीलाई काठ बिक्री गरेको पनि उपभोक्ताहरुको आरोप छ । घाटगद्धी गरेर काठ बिक्री गर्नुपर्नेमा सम्बन्धित फिल्डमै ट्याक्टर लगेर ढालिएका काठहरु ओसार–पसार भइरहेको पनि उपभोक्ताहरुको आरोप छ । पटक–पटक यो समस्या समाधानका लागि वर्तमान कार्यसमितिलाई आग्रह गरिए पनि उपभोक्ता समिति अध्यक्ष नन्दा जिसीले यो विषयमा आफूइतरका उपभोक्ताले राखेका कुराहरु नै नसुन्ने गरेको तथा सम्बन्धित टोल विकास संस्थालाई समेत वास्ता नगरेको बताइएको छ । बुधवार दिउँसो सामुदायिक वन उपभोक्ता समूहको कार्यालयमा टोल विकास संस्थाका पदाधिकारी र उपभोक्ताहरुसँगै बसेर समस्या समाधान गरिने बताइए पनि वन भवनमा समूहका पदाधिकारीहरु भने कोही आएनन् । कार्यसमितिका पदाधिकारीहरु कोही नआएपछि वन समूहको कार्यालयमा भेला भएका दर्जनौं उपभोक्ताहरु फर्किएका थिए ।

‘मनोमानी ढंगले कटान गरिएका काठहरु रातारात बेचिएको छ, म उपभोक्ताका नाताले एउटा हरिस किन्न जाँदा पनि दिइएन’, उपभोक्ता भूपालसिंह बुढाथोकीले भने । आफूहरुले हुर्काए÷जोगाएको वन पातल्याउने क्रममा उपभोक्ताहरुलाई कुनै सहमति नै नजुटाएर धमाधम कटान भइरहेको अर्का उपभोक्ता विष्णु बस्नेतले बताएका छन् । सयौं उपभोक्ताहरुले मनोमानी ढंगले वैज्ञानिक वन व्यवस्थापनको कार्यविधिविपरीत सिचाइ कुलो र खानेपानीका मुहानै सुक्नेगरी वन फडानी भएकोमा महिला उपभोक्ताहरुले समेत तीव्र विरोध गरेका छन् । ‘रुख कटानका विषयमा हामीलाई एकपटक पनि जानकारी गराइएन, अर्को कुरा बिक्री वितरण पनि कार्यसमितिका अध्यक्षको मनोमानीमा भइरहेको छ’, उपभोक्ता भीमा डाँगीले भनिन्– ‘मैले एक भारी दाउरा पनि पाइनँ ।’

बैज्ञानिक वन व्यवस्थापन होस् वा थिनिङका नाममा सिमसार क्षेत्रका रुखहरु कटान गर्न नपाइने भनिए पनि सयभन्दा बढी रुख सिमसार क्षेत्रबाट कटान भएको उपभोक्ताहरुको दावी छ । त्यसैगरी आवादी, सडक र सिचाइका संरचनाको सीमामा रहेका रुखहरु कटान गर्न नमिल्ने भनिए पनि
सीमाका दर्जनौं सालका रुखहरु कटान गरिएको छ । त्यसैगरी बैज्ञानिक वन व्यवस्थापन गर्दा ३० इन्च भन्दा बढी गोलाइका रुख कटान नगर्ने भनिए पनि ९० इन्चसम्म गोलाइ भएका रुखहरुसमेत कटान भइरहेको उपभोक्ताहरुको गुनासो गरेका छन् । यसरी कटान भई बिक्री गरिएका काठको बिलसमेत लिने व्यक्तिलाई उपलव्ध गराइएको छैन र समुहका कागजात सम्पूर्ण घरमा लगीएको छ । वनमा अनियमितताको सन्दर्भमा उपभोक्ताहरुको व्यापक जनगुनासो आउन थालेपछि मात्र काठ किन्नेहरुलाई बिल दिन थालिएको उपभोक्ता विष्णु बस्नेतले बताए । यसमा सम्बन्धित वन कार्यालयका कर्मचारीहरुको समेत मिलोमतो भएको हुनसक्ने आशंका उपभोक्ताहरुले गरिरहेका छन् । वन थिनिङका क्रममा कम्तीमा एक करोड मूल्य बराबरका काठ काटिएको अनुमान उपभोक्ताहरुले गरेका छन् । कटान भइसकेका ए ग्रेड र बी ग्रेडका काठ बिक्री भइसकेको बताइन्छ । वन समूहको कार्यालय परिसरमा सी ग्रेडका काठ मात्र राखिएको बताइन्छ ।

तर कार्यसमितिले भने यसको हिसाव–किताव उपभोक्ताहरुलाई देखाउन चाहेको छैन । कार्यसमितिका पदाधिकारीहरुको मिलोमतोमा वन पातल्याउने क्रममा वनका कर्मचारीको समेत संलग्नताको आशंका उपभोक्ताहरुको छ ।

मलाई फसाउन खोजियो : अध्यक्ष
यसैबीच धारापानी सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष नन्दा जिसीले यो विषयमा मलाई फसाउन खोजिएको बताएकी छिन् । ‘कहाँ कटान गर्न हुने र कहाँ कटान गर्न नहुने भन्ने कटान समितिले आधार बनाएको तथा त्यसलाई उपभोक्ताहरुबाटै बनाइएको अनुगमन समितिले अनुगमन गरिरहेको अवस्थामा अहिले आएर निहित स्वार्थ पूरा नभएका उपभोक्ताहरुले मलाई फसाउन खोजेका हुन्’, अध्यक्ष जिसीले भनिन् । केही उपभोक्ताहरुले वन कटानका क्रममा सिचाइ कुलो भत्किएको माग राखेको उल्लेख गर्दै त्यसलाई निर्माण गरिदिने आफूले प्रतिवद्धता जनाएको बताइन् । तर लगत्तै उनै उपभोक्ताहरुले सडक निर्माण पनि वनले नै गरिदिने र त्यहाँबाट निस्केको ढुंगा–माटो आफूहरुले बेच्न पाउनुपर्ने माग राखेका थिए ।

त्यो मागलाई आफूले पूरा गर्न नसक्ने बताएपछि आफूलाई फसाउन खोजिएको पनि उनको अभिव्यक्ति थियो । ‘सिमसार क्षेत्र र सीमा क्षेत्रमा कटान गर्न मिल्छ पनि भन्छन्, मिल्दैन पनि भन्छन्, त्यो त कानुनले बताउँला तर मलाई यो विषयमा मात्र नभएर अन्य स्वार्थका कारण फसाउने प्रयत्न भइरहेको छ’, अध्यक्ष जिसीले भनिन्– ‘म कानुनी कारबाही भोग्न तयार छु । रुख कटान फागुन महिनामै भएको थियो भन्दै अहिलेसम्म किन यो विषयमा कुरा उठेन भन्दै अध्यक्ष जिसीले केही उपभोक्ताहरुले वन समूहको कार्यालयमा बोलाएर गाली बेइज्जती र हातपातको समेत प्रयास गरिएको बताइन् ।

वन कार्यालयबाट छानबिन शुरु
यसै सन्दर्भमा डिभिजन वन कार्यालय दाङले धारापानी सामुदायिक वनमा वैज्ञानिक वन व्यवस्थापनका क्रममा थिनिङको काम भइरहँदा यसमा अनियमितता भएको उजुरी परेको जनाएको छ । ‘थिनिङको काम भइरहेको सन्दर्भमा केही कमजोरीहरु भएको भन्ने उपभोक्ताहरुबाट उजुरी आएको छ, त्यसको निष्पक्ष छानबिनका लागी अनुसन्धान अधिकारी खटाइसकेका छौं’, डिभिजन वन कार्यालय घोराहीका प्रमुख दीपक ज्ञवालीले गोरक्षलाई बताए । सो सामुदायिक वनमा भइरहेको थिनिङको काम सेक्टर वन कार्यालय तुलसीपुरको निगरानीमा भइरहेको बताइएको छ ।