जिम्मेवारीबोध र सजगताका साथ कोरोना विरुद्ध लडौं

दाङमा १५ जना संक्रमित थपिएका छन् । झ्वाट्ट सुन्दा तर्सिने जस्तो समाचार सुन्न सबै बाध्य भएका छौँ । यो संख्या अझै थपिने नै हो । संख्या थपिनबाट रोक्नका लागि र तर्सनेभन्दा सतर्क हुनका लागि बुधवारको संक्रमितको संख्याले सबैलाई सचेत गराउनु पर्दछ । अथवा यो समाचारसँगै सबैले आफूलाई थप जिम्मेवार र गम्भीर बनाउन जरुरी छ । दाङमा देखिएका सबै संक्रमितहरु भारतबाट आई सिधै क्वारेन्टाइनमा बसेकाहरु रहेको भनिएको छ । तर, यसो भन्दै गर्दा पनि उनीहरुमध्ये कतिपय आफ्नो परिवारको सम्पर्कमा गएको भन्ने पनि बुझिन आएको छ । तसर्थ, उनीहरुको परिवारको पनि परीक्षण जरुरी छ । यसतर्फ समयमै ध्यान दिन आवश्यक छ ।

दाङमा समुदाय स्तरमा संक्रमण देखिएको छैन । बाहिरबाट आएकाहरुमा मात्र सीमित छ । महामारीका बारेमा जानकारी राख्नेहरुका अनुसार यो पहिलो चरण हो । दोस्रो चरणमा फेमिली ट्रान्सफर्म र तेस्रो चरणमा कम्युनिटी ट्रान्सफर्म हुन्छ । पहिलो चरणमा रहेको यो संक्रमणलाई दाङमा नियन्त्रण गर्न प्रभावकारी उपाय अपनाउन जरुरी छ । पहिलो गल्ती त भइसक्यो । नेपाल भारत सीमामा आएर बसेकाहरुलाई सहजै नेपाल ल्याई क्वारेन्टाइनमा नराख्दा उनीहरु त्यहाँ हुलमुलमा बस्नुप¥यो र कतिपय लुकेर घरमा बसेका पनि होलान् । यसले संक्रमण फैलने जोखिम बढेको छ । क्वारेन्टाइनमा बसेको तुलनामा त्योभन्दा धेरै ठूलो समूह दाङ भित्रिएको छ । यस्तो अड्कल राज्यकै संरचनाहरुले गर्दै आएका छन् । क्वारेन्टाइनमा नबसेको त्यो ठूलो समूहलाई पहिचान गर्दै परीक्षण गर्ने रणनीतिमा अब कुनै विलम्ब गर्नु हुँदैन । राज्यको रणनीति र गति हेर्दा यो काम गर्न उसका संरचनाहरु सक्रिय नै छैनन् । त्यसकारण सरकारको भूमिकाको आलोचना गर्नुभन्दा पनि यो बेलामा आफ्नो भूमिका के हुन सक्छ ? भनेर हरेक नागरिकले सोच्नुपर्ने र आफ्नो भूमिका आफै तय गर्नुपर्ने बेला हो, यो । सरकारको भूमिकाका बारेमा समय मिल्यो भने व्याख्या गर्ने र चुनावका माध्यमबाट दण्डित गर्ने अधिकार हरेक नागरिकलाई छँदैछ । कुनै पनि हालतमा नआत्तिएर सतर्कता अपनाउनु नै अहिलेको अपेक्षित भूमिका हो ।

जिल्लामा कोरोना संक्रमणका सम्बन्धमा काम गर्ने सबै संरचनाहरुबीच थप समन्वय हुन जरुरी छ । त्यस्तो समन्वयको अभाव विगतदेखि महशुस हुँदै आएको छ । यो ‘ग्याप’ले कोरोना विरुद्धको लडाईलाई कमजोर बनाउने हो । प्रशासन, स्वास्थ्य विज्ञान प्रतिष्ठान, जनस्वास्थ्य कार्यालय, कोरोना अस्पताल तथा स्थानीय सरकारबीचको समन्वयको पाटो कमजोर छ । यसो हुनुमा कुनै एक निकायको मात्र गल्ती औल्याउन आवश्यक छैन । सबैमा धेरथोर समस्या छन् । प्रतिष्ठाको लडाईले पनि काम गरेको छ । यी असमझदारीहरु हटाउँदै कोरोनाका विरुद्धमा साझा पहल जिम्मेवार राज्यका संरचनाहरुले थाल्न जरुरी छ भने आफ्नो आनिबानीमा समेत परिवर्तन गर्दै सजग, सतर्क रहनेतर्फ नागरिक पनि गम्भीर बन्न जरुरी छ । तर्सनेभन्दा पनि जिम्मेवारी बोध र सजगताका साथ कोरोनाको संक्रमण फैलनबाट रोक्न सबैले योगदान पु¥याऔँ ।