दाङ, १५ जेठ । गणतन्त्र दिवसका अवसरमा आयोजित एक कार्यक्रमका सहभागीहरुले गणतन्त्रको सही अनुभूति गर्न नपाएको भन्दै चिन्ता व्यक्त गरेका छन् । औपचारिकरुपमा गणतन्त्र आए तापनि जनताको जीवनस्तर उकास्न र अधिकारको उपयोग गर्ने परिवेश निर्माण गर्ने सन्दर्भमा गणतन्त्रको लाभ जनताले महसुस गर्न नसकेको उनीहरुको टिप्पणी थियो ।
शुभकामना साटासाट गर्नका लागि नेपाली कांग्रेस दाङले आयोजना गरेका कार्यक्रमका बक्ताहरुले शुभकामनासँगै यस्तो चिन्ता व्यक्त गरेका हुन् । उनीहरुले गणतन्त्र बलियो बनाउनका लागि नेपाली कांग्रेसलाई बलियो बनाउनुपर्नेमा पनि उनीहरुको जोड थियो । कांग्रेसलाई बलियो बनाउनका लागि पार्टीभित्र एकता कायम गर्नुपर्नेमा पनि बक्ताहरु सहमत देखिन्थे ।
कार्यक्रममा बोल्दै प्रदेश नं. ५ का प्रदेशसभा सदस्य अर्जुनकुमार श्रेष्ठले ठूलो त्याग र तपस्याबाट गणतन्त्र प्रात गरे पनि जनताले गणतन्त्र आएको अनुभूति गर्न नपाएको बताए । ‘जनताले महसुस हुने गरी परिवर्तन हुन आवश्यक छ’, श्रेष्ठले भने । अहिलेको महामारीको समयमा पनि सरकारले ठोस् योजना ल्याएर अगाडि बढ्न नसकेको उनको भनाइ रहेको थियो । ‘सीमामा नेपाली नागरिकहरु अलपत्र पर्दासमेत सरकारले थाहा नपाएजस्तो ग¥यो’, उनले आरोप लगाए ।
नेपालको भूमि संरक्षण गर्नका लागि सरकारलाई नेपाली कांग्रेसले सहयोग गर्ने समेत उनको भनाइ रहेको थियो । कार्यक्रममा बोल्दै नेपाली कांग्रेसका जिल्ला सभापति कीर्तिबहादुर खड्काले अहिले व्यक्तिगत स्वार्थभन्दा पनि राष्ट्रको स्वार्थमा अगाडि बढ्नुपर्ने बताए । देशमा प्राप्त उपलब्धिलाई रक्षा गर्दै जनतालाई संरक्षण गरेर अगाडि बढ्न आवश्यक रहेको उनको भनाइ थियो ।
नेपाली कांग्रेसका पूर्व सभापति बीरकेशरी गौतमले शहीदले देखाएको बाटोमा हिँड्न सक्नुपर्ने बताए । यसले मात्र देशमा परिवर्तन ल्याउन शहीद भएकाहरुप्रति सम्मान हुने उनको भनाइ थियो । नेपाली कांग्रेसले पनि आफ्ना कमी–कमजोरी सच्चाएर अगाडि बढ्नुपर्नेमा उनको जोड थियो । ‘सबै आ–आफ्नो स्थानबाट सच्चिएर अगाडि बढ्न आवश्यक छ’, गौतमले भने । कार्यक्रममा पूर्व उपसभापति मोहनलाल वली, नेपाली कांग्रेस दाङका जिल्ला उपसभापति कमानसिंह भारती, जिल्ला कोषाध्यक्ष सावित्रा राना, जिल्ला सदस्य निर्मल न्यौपाने, नेका क्षेत्र नं. २ का सभापति भूपबहादुर डाँगी, नेका क्षेत्र नं. २ (क) का सभापति गिरिराज सुवेदी, कांग्रेस नेताहरु खगराज पाण्डे, प्रकाश सुवेदी, रेखबहादुर वली (देउता), बमबहादुर डि.सी., नेपाल महिला संघका जिल्ला अध्यक्ष गोमा रावत, महिला नेतृ शान्ता घिमिरे, तुलसीपुर उपमहानगरपालिका वडा नं. ७ का वडा सदस्य रामबहादुर जिसी, नेपाल विद्यार्थी संघका पूर्व जिल्ला अध्यक्ष राजकुमार धिताललगायतले भनाइ राखेका थिए । कार्यक्रमको सहजीकरण किशोरचन्द्र गौतमले गरेका थिए ।