अमेरिकन फौजी किरा रोक्न विषादी प्रयोग

देवी भण्डारी
हापुरे, १५ जेठ । दाङलगायत देशभर मकै बालीमा फौजी किराको प्रकोप देखिएको छ । केही वर्ष पहिलेदेखि दाङको पूर्वी भगमा देखिएको फौजी किराको प्रकोप अहिले जिल्लाका सबै क्षेत्रमा देखिएको छ । मकैमा लागेको फौजी किरा नियन्त्रणको लागि स्थानीय किसानले स्थानीय सरकारको ध्यानाकर्षण गराएका छन् । सरकारको ध्यानाकर्षण पश्चात किङ स्टार विषादी छरिएको किसान पे्रम चौधरीले बताए । चौधरीले पहिलो चरणमा किङ स्टार नामक विषादी छर्किएको र विषदीले कीरा मर्छ कि भन्ने आश लागेको बताए ।

त्यस्तै शान्तिनगरमा पहिलो पटक देखिएको फौजी किराको प्रकोप नियन्त्रणको लागि विषदीको प्रयोग गरिएको छ । वडा कार्यालय तथा व्यक्तिगत रुपमा खरिद गरेर विषादी प्रयोग गरिएको शान्तिनगर–५ रगैँचाका किसान इन्द्रकुमारी चौधरीले बताइन् । चौधरीले वर्षौं खेती गरेको भए पनि यस प्रकारको रोग अथवा किरा पहिले नदेखिएको बताइन् । विषदी छर्किएका छौँ तर नियन्त्रण हुने कुनै संकेत नै देखिएको छैन’– इन्दकुमारी चौधरी भन्छिन्–‘समयमै विषादी प्रयोग गर्नसके फौजी किरा नियन्त्रण गर्न सकिन्छ ।’ पात हुँदादेखि देखिन सुरु गर्छ । मकैको गुब्बामा लाग्ने फौजी किराले बोट नै सुकाइदिने गरेको छ । मकै बालीमा दुई खाले किरा देखिएको र यस अघि आफूहरुले यस्तो किरा नदेखेको कृषकले बताएका छन् ।

फौजी किरा नियन्त्रणका लागि सुरुको चरणमा खरानी बालुवा तथा धुलो छर्केर पनि फौजी किरा नियन्त्रण गर्न सकिने कृषि ज्ञान केन्द्र घोराहीका बाली संरक्षक अधिकृत रुद्र पौडेलको भनाई छ । साथै पौडेलले बजारमा पाइने विषदी प्रयोग गरेर पनि यो किरा नियन्त्रण गर्न सकिने बताए । किरा नियन्त्रणको लागि, खेती समय भन्दा अगावै वा थोरै समयपछि मकै रोप्दा पनि यो केही हदसम्म कम देखिने बताए । गत वर्ष नवलपरासीमा देखिएको अमेरिकन फौजी किरा यो साल दाङमा पनि देखिएकाले समयमै किरा नियन्त्रण गर्न नसके समस्या हुने कृषि ज्ञान केन्द्र घोराहीका बाली संरक्षक अधिकृत पौडेलले बताए ।