प्रतिष्ठानद्वारा देउखुरीका ४ वटा पालिकालाई स्वास्थ्य सामग्री सहयोग

घोराही,१५ जेठ । प्रदेश ५ भरीका स्वास्थ्य केन्द्रहरुको सुधारसंगै समन्वय गर्ने उदेश्यले राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानले आफ्ना छिमेकी जिल्लासंगै दाङका विभिन्न स्थानिय तहसंगको भेटघाटलाई निरन्तरता दिएको छ ।

विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरसको विषम परिस्थीतिमा प्रतिष्ठानले पिपिईसहित भिटिएम, मास्क, सेनिटाइजर र पञ्जा लमही नगरपालिका, राप्ती गाँउपालिका, राजपुर गाँउपालिका र गढवा गाँउपालिकालाई सहयोग गरेको हो ।

प्रतिष्ठानकी उपकुलपति प्रा.डा. संगिता भण्डारीले लमही नगरपालिकाका मेयर कुलबहादुर केसी, राजपुर गाँउपालिका अध्यक्ष लोकराज केसी, राप्ती गाँउपालिका अध्यक्ष नुमानन्द सुवेदी र गढवा गाँउपालिकाका अध्यक्ष सहजराम यादवलाई भेटघाट गरी सुरक्षित स्वास्थ्य सामग्री हस्तान्तरण गरेकी हुन ।

स्थानिय तहका प्रमुखहरु र प्रतिष्ठानका चिकित्सकहरुविच कोभिड–१९ विरुद्ध स्थानिय तहले गरीरहेका कामकारवाही र प्रतिष्ठानले गरीरहेको तयारीका वारेमा छलफल भएको थियो । छलफलका क्रममा कोभिड १९ को तयारीसंगै समस्या, स्वाव परीक्षण, पिसिआर जाँच सम्वन्धि चासो र जिज्ञासा राखेपछि प्रतिष्ठानको टोलीले सो विषयमा जानकारी गराएको थियो ।

प्रतिष्ठानको स्याटेलाइट अस्पताल फ्लोरेन्स अस्पताल मार्फत २६० थान भिटिएम पनि सो अवसरमा वितरण गरीएको थियो । हाल त्यस क्षेत्रमा धेरै कोभिड पोजेटिभ देखिएको कारणले कन्ट्रयाक्ट ट्रेसिङको लागि र क्वारेन्टाइनमा रहेका विरामिहरुको स्वाव कलेक्सनको लागि सुरक्षा सामग्री प्रतिष्ठानले प्रदान गरेको छ ।

छलफलकाक्रममा नगर तथा गाउँपालिका प्रमुखहरुले पिसिआर परिक्षण बढाउनका लागि आवश्यक परे पिसिआर मेसिन र ल्याव टेक्निसीयन थपको लागि बजेट प्रदान गर्न तयार रहेको र आवश्यक ठाँउमा पहल गर्ने प्रतिवद्धता जनाएका थिए ।

छलफल कार्यक्रममा टेलिफोनमार्फत प्रदेश ५ का सामाजिक विकास मन्त्री सुर्दशन बरालसंग सम्पर्क हुदा प्रतिष्ठानले आफ्नो ल्यावको क्षमता वढाउने र सो आवश्यक वजेट लगायत अन्य कार्यको लागि मन्त्रालयसंग समन्वय गर्ने बताएको थियो । छलफलमा बोल्दै उपकुलपति भण्डारीले त्यस क्षेत्रको समस्या, कोरोना पोजेटिभ केस वढ्दो रहेका कारण भिटिएम र पिसिआर मेसिनको क्षमता वढाउनु पर्ने धारणा राखेकी थिइन ।

प्रतिष्ठानले पहिले पनि आफ्ना छिमेकी जिल्लाका विभिन्न ठाउ सल्यान, प्युठान, रोल्पामा कोभिड १९ को वारेमा उपकुलपतिसहित चिकित्सक आफै उपस्थित भएर समन्वयसंगै छलफल गर्नुका साथै स्वास्थ्य सुरक्षा सामग्री सहयोग गरेका थिए ।