२७ सय ३१ योजनामध्ये बैशाखसम्म ८ सय ३६ मात्र सम्पन्न
इन्द्र डिसी
दाङ, १३ जेठ । बबई गाउँपालिकाले चालु आर्थिक वर्ष २०७६÷०७७ मा क्षमता विकासका लागि ५९ योजना विनियोजन गरेको थियो । तर कोरोनाको कारण योजनामा काम गर्न सम्भव नभएपछि पालिकाले ती योजनाको लागि विनियोजन गरेकोमध्ये ५० लाख रकम कोरोना व्यवस्थापमा खर्च गरेको छ । कार्यपालिकाको बैठकले क्षमता विकासको ५० लाख र अन्य ५ लाख गरेर ५५ लाख रुपैयाँ कोरोना व्यवस्थापनमा लगाउने निर्णय भएको पालिकाले जनाएको छ । ‘चालु वर्षमा क्षमता विकास शीर्षकमा ५९ योजना थिए । त्योमध्ये १६ योजना मात्र सम्पन्न भएका छन्’, योजना शाखाका तिलक केसीले भने– ‘२५ योजनाको रकम कोरोना व्यवस्थापनमा खर्च गर्ने निर्णय भएको छ ।’ पालिकाले चालु आवमा पूर्वाधार शीर्षकमा २ सय ६६ योजना विनियोजन गरेको छ । तीमध्ये २ सय २५ योजना सम्झौता भएका छन् । ४१ योजना सम्झौता हुन सकेका छैनन् । योजना सम्झौताको काम रोकेको पालिकाले सम्झौता भएका योजनाको काम पूरा गर्ने कार्यलाई प्राथमिकतामा भने राखेको छ ।
त्यसैगरेर तुलसीपुर उपमहानगरपालिकाले चालु आवमा साना र ठूला गरेर झण्डै साढे ४ सय योजना विनियोजन गरेको थियो । तीमध्ये ४ सय ५ योजना सम्झौता भएकोमा बैशाखसम्म १ सय २९ योजना सम्पन्न भइसकेको तुलसीपुर उपमहानगरपालिको जनाएको छ । पालिकाले छनोट गरेका योजनाको काम पूरा भए पनि संघ र प्रदेशस्तरीयका योजनाको काम भने पूरा नहुने सम्भावना बढेको छ । ‘निर्वाचन क्षेत्र विकासका केही योजना भर्खरै सम्झौता भएका छन् । ती योजनाको काम चालु आवमा सकिने सम्भावना कम छ’, उपमहानगरपालिकाका एकजना कर्मचारीले भने ।
चालु आर्थिक वर्ष सकिन अब ४५ दिन बाँकी छ । तर, पालिकाहरुमा विकास निर्माणको काम प्रभावकारी रुपमा अघि बढ्न सकेको छैन । विकास निर्माणको कामले गति लिने समयमा कोरोनाको कारण विकासे काममा धक्का लागेको छ । मंसिरपछि नै विकासे काम थाल्ने प्रवृत्ति छ । तर यो पटक लकडाउनको कारण चैतयता विकास निर्माणको काम नै प्रभावित भएको छ । जिल्लाका १० पालिकाले पूर्वाधार निर्माणका लागि चालु आव ०७६÷०७७ मा २ हजार ७ सय ३१ योजना छनोट गरेका थिए । तीमध्ये बैशाखसम्म ८ सय ६३ योजना सम्पन्न भएका पालिकाहरुले जनाएका छन् । पालिकाहरुको यो तथ्यांक केलाउँदा अझै ३३ प्रतिशतभन्दा धेरै योजना सम्पन्न भएका छैनन् । तर असारसम्म ५० देखि ६० प्रतिशत योजनाको काम सम्पन्न भैसक्ने विश्वास भने पालिकाहरुले गरिरहेका छन् ।
केही समययता कोरोना संक्रमणबाट जोगिन निश्चित मापदण्ड पूरा गरेर विकास निर्माणको काम शुरु भएसँगै सम्झौता भएका योजनाको काम शुरु भएका छन् । गत वर्ष जिल्लाका पालिकाहरुले ८० देखि ९० प्रतिशत प्रगति गरेका थिए । तर चालु वर्षमा ६० प्रतिशत काम पूरा भएमा त्यो ठूलो उपलब्धि हुने पालिकाले जनाएका छन् । ‘चालु आवमा पालिकाहरुले ५० देखि ६० प्रतिशत नै योजनाको काम सक्ने सम्भावना छ’, राप्ती गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत शोभाराम रिजालले भने । उनका अनुसार राप्ती गाउँपालिकाले चालु आवमा विनियोजन गरेको २ सय २० योजनामध्ये ८० प्रतिशत योजना सम्झौता भएका छन् । सम्झौता भएकामध्ये ४० प्रतिशत योजना सम्पन्न भइसकेका छन् भने पालिकाले कोरोनाको कारण २० प्रतिशत योजना सम्झौता गर्न सकेको छैन ।
त्यसैगरेर गढवा गाउँपालिकाले चालु आवमा विनियोजन गरेको ३ सय २१ योजनामा ९५ प्रतिशत योजना सम्झौता भएको जनाएको छ । योजना शाखाका कुलराज कुमालका अनुसार ५ प्रतिशत योजना सम्झौता हुन सकेका छैनन् । गढवा गाउँपालिकाले पनि क्षमता विकासको लागि विनियोजन गरेको योजनाको रकम कोरोना व्यवस्थापनमा खर्च गरेको छ । लकडाउनको कारण क्षमता विकासका कार्यक्रम गर्न असभव भएपछि पालिकाहरुले त्यो शीर्षकमा विनियोजन गरेका रकम कोरोना व्यवस्थापनमा खर्च गरेको उनले बताए । पूर्वाधार शीर्षकमा विनियोजन भएकामध्ये सम्झौता भएका योजना जसरी भए पनि सम्पन्न गर्ने दौडमा पालिकाहरु छन् ।
घोराही उपमहागरपालिका १९ का अध्यक्ष हर्कबहादुर घर्तीले पनि वडामा प्राप्त पूर्वाधारबाहेक अन्य शीर्षकमा विनियोजन गरेको योजनाको रकम कोरोना व्यवस्थापनमा खर्च गर्न लागेको बताए । पूर्वाधार शीर्षकका सबै योजना सम्झौता भइसकेका छन्’, वडाध्यक्ष घर्तीले भने– ‘त्योबाहेक अन्य शीर्षकमा विनियोजन गरेको रकम काम गर्न नसक्ने भएपछि कोरोना व्यवस्थापनमा खर्च गरिने भएको हो ।’ चालु आवमा विकासे काममा सबैभन्दा कमजोर दंगीशरण, लमही, राजपुर देखिएका छन् । ती पालिकाहरुले बैशाखसम्म ५० प्रतिशत योजना पनि सम्झौता गर्न सकेका छैनन् ।
बंगलाचुलीले सबैभन्दा धेरै योजना सम्झौता र काम सम्पन्न गरिसकेको छ । बंगलाचुलीले बैशाखसम्म ६१ प्रतिशत योजना सम्पन्न गरिसकेको थियो । त्यो संख्या थप भएको पालिकाले जनाएको छ । पालिकाले चालु आवमा १ सय २२ योजना विनियोजन गरेको थियो । त्यसैगरेर घोराही उपमहानगरपालिकाको लकडाउनले प्रभावित भएको विकासे ग्राफ बढाउँदै लगेको छ । लकडाउनसँगै प्रभावित भएको विकासे काम क्रमशः शुरु भएको उपमहानगरपालिको जनाएको छ । उपमहानगरले चालु आवमा ५ सय बढी योजना विनियोजन गरेको छ ।
पालिकाहरुले गरेको विकास निर्माणको अनुगमन गर्दै आएको जिल्ला समन्वय समिति दाङले कोरोनाका कारण विकास निर्माणको काममा समस्या भएको जनाएको छ । ‘विकास निर्माणको काम शुरु हुने समयमा कोरोनाले मुलुक लकडाउनमा प्रवेश गरेसँगै विकास निर्माणका कामसमेत अवरुद्ध भयो’, समन्वय समितिका प्रमुख जितेन्द्रमान नेपालीले भने– ‘यसको प्रत्यक्ष असर नागरिकको जीवनस्तरमा पर्नेछ ।’ त्यसैगरेर आर्थिक पत्रकार समाज दाङका अध्यक्ष तथा दाङ निर्माण व्यवसायी संघका पूर्व उपाध्यक्ष गोपालप्रसाद घिमिरेले विकास निर्माण रोकिँदा रोजगार बन्द हुने भएकाले त्यसको असर नागरिकमा पर्ने बताए । ‘विकास निर्माणको काम रोकिँदा रोजगारीका अवसर रोकिन्छ’, उनले भने– ‘त्यसको असर महंगी बढ्ने र योजनाको लागतसमेत महंगो हुने भएकाले प्रत्यक्ष असर नागरिकमा पर्छ ।’ उनका अनुसार चालु आ.व.मा पालिकाको विकास निर्माणको लागि विनियोजन गरेको रकम ५० प्रतिशत खर्च हुनेछ । ‘लकडाउनले चैत र बैशाख महिनामा विकास निर्माणको काम हुन सकेन’, उनले भने– ‘त्यो आधारमा यो पटक पूर्वाधारमा विनियोजन गरेको ५० प्रतिशत बजेट खर्च हुने सम्भावना छ ।’ उनका अनुसार गत वर्ष जिल्लाका पालिकाहरुले ६७ प्रतिशत रकम पूर्वाधारमा खर्च गरेका थिए ।