आत्तिने भन्दा पनि सतर्क बनौं : जनस्वास्थ्य प्रमुख पौडेल

दाङ जेठ १४ । बुधवार जिल्लामा १५ जना कोराना संक्रमणका पोजेटिभ व्यक्तिहरु भेटिएका छन् । कोरोना संक्रमणसँगै जिल्लामा यति धेरै संख्यामा कोरोना संक्रमित फेला परेको यो पहिलोपटक हो । देशभर बुधवारसम्म कोरोना पोजेटिभको संख्या ८ सय ८६ पुगेको छ । भारतबाट नेपाली नागरिक जिल्ला आएसँगै कोरोना पोजेटिभ संख्या समेत बढ्दै गएको छ । यो संख्या थप भएर जाने सम्भावना छ । दैनिक ५/७ सय नागरिक विभिन्न नाका भएर जिल्ला भित्रिने गरेका छन् ।

प्रारम्भिक चरणमा जिल्लामा ६ हजार मानिस भारतबाट आउने आँकलन गरिएको थियो । तर त्यो संख्या बढेर १५ हजार पुग्ने आँकलन गरिएको छ । जनस्वास्थ्य कार्यालय दाङका प्रमुख सुनिता पौडेलले कोरोना संक्रमितको संख्या थपिने सम्भावना भएको भन्दै उच्च मनोबल बनाउन जिल्लावासीमा आग्रह गरेकी छिन् ।

‘उच्च मनोबलले कोरोना जितिन्छ’, प्रमुख पौडेलले भनिन्– ‘कोरोनाको संख्या बढ्यो भन्दैमा आत्तिहाल्ने अवस्था छैन । सचेत र सजक भने हुनैपर्छ ।’ उनका अनुसार बुधवार जिल्लामा कोरोना पुष्टि भएका संक्रमित भारतबाट सिधै क्वारेन्टाइनमा बसेकोले परिवार र समुदायमा फैलाउन पाएका छैनन् । ‘जिल्ला कोरोनाको उच्च जोखिममा नै छ’, उनले भनिन्– ‘अब कोरोना जित्नको लागि उच्च मनोबल बनाउनुभन्दा अर्को विकल्प छैन ।’ लकडाउनलाई पालना गर्दै भौतिक दूरी कायम गरेर बस्नु नै यो संक्रमणबाट बच्ने उपाय भएको भन्दै भौतिक दूरीसँगै सरसफाईमा विशेष ध्यान दिन आग्रह गरिन् । उनले भारत तथा अन्य ठाउँबाट आएका व्यक्ति अनिवार्यरुपमा क्वारेन्टाइनमा बस्नुपर्ने बताइन् । ‘क्वारेन्टाइनमा बसेमा कोरोना देखिएमा पनि समाजमा फैलिन पाउदैन’, उनले भनिन्– ‘यसले कोरोना संक्रमण रोक्न भूमिका खेल्छ ।’

यसअघि जिल्लाका ५ जनामा कोरोना पोजेटिभ पुष्टि भएको थियो ।