दाङका १५ संक्रमितनै भारतवाट आइ क्वारेन्टाइनमा बसेकाहरु

लिलाधर वली

दाङ, १५ जेठ । कोरोना संक्रमण पुष्टि भएका दाङ जिल्लाका बिभिन्न क्वारेन्टाइना रहेका मध्य १५ जना नै भारतवाट आएकाहरु रहेका छन् । भारतवाट आएका र समाजमा घुलमिल नगरेरै उनीहरु क्वारेन्टाइनमा बसेको सम्बन्धित वडाका जनप्रतिनिधिहरुले जानकारी दिएकाछन् । उद्देपि उनीहरु परिवारको संपर्कमा भने रहेको हुनसक्ने अनुमान गरिएको छ । त्यसकारण परिवारको पनि परीक्षण गर्न तर्फ पहल गर्ने जनप्रतिनिधिहरुले जनाएका छन् ।

बैदेशिक रोजगारीका क्रममा भारत गएका नेपालीहरुलाई पालिकाहरुले ल्याउन थालेपछि उनीहरु नेपाल भित्रिएका थिए । घोराही उपमहानगरपालिका वडा नं. १८ का कोरोना पुष्टि भएका ४ जना भारतको दिल्लीबाट जेठको ३ गते आएको वडाध्यक्ष भरत अर्यालले बताए । वडाध्यक्ष अर्यालका अनुसार उनीहरु कृष्णनगर नाकाबाट नेपाल प्रवेश गरेका थिए । नेपाल प्रवेश गरेका उनीहरु भालुवाङसम्म ट्याक्टरमा र भालुवाङबाट घोराहीसम्म घोराही उपमहानरपालिकाको टिप्परमा आएर क्वारेन्टाइनमा बसेको वडाध्यक्ष अर्यालले बताए । ‘हाम्रो वडामा कोरोना संक्रमण देखिएका चारैजना भारतबाट आएका हुन्’, वडाध्यक्ष अर्यालले भने– ‘उनीहरु क्वारेन्टाइनमा बस्दै आएका थिए ।’ उनीहरु १ जना गिठेपानी क्वारेन्टाइन र ३ जना बेलघारी स्कुलमा निर्माण गरिएको क्वारेन्टाइनमा बसिरहेका छन्् ।

त्यस्तै घोराही उपमहानगरपालिका–१० निवासी ३ जना पुरुषहरु पनि जेठको ४ गते दिल्लीबाट कृष्णनगर नाका हुँदै नारायणपुर आएको वडाध्यक्ष चित्रबहादुर डाँगी (निर्मल)ले जानकारी दिएका छन् । ‘जेठको ४ गते सँगै आएका ५ जनामध्ये ३ जनामा कोरोना पोजेटिभ देखिएको छ’, वडाध्यक्ष डाँगीले भने– ‘उनीहरु आएदेखि क्वारेन्टाइनमा बस्दै आएका छन्, परिवारसँग भेट गर्न दिइएको छैन ।’ उनीहरु नाराणपुरमा रहेको सिद्धरत्ननाथ नमूना माध्यमिक विद्यालयमा निर्माण गरिएको क्वारेन्टाइनमा बस्दै आएका थिए । त्यस्तै लमही नगरपालिका कोरोना पोजेटिभ देखिएका ५ जना पनि भारतबाट आएको खुलेको छ । उनीहरु जेठको ९ गते भारतका विभिन्न ठाउँहरुबाट आएर लमही नगरपालिका वडा नं. ५ मा निर्माण गरिएको क्वारेन्टाइनमा बस्दै आएका थिए ।
बुधबार मात्रै देशभर थप १ सय १४ जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको थियो ।