गोरक्ष समाचारदाता
तुलसीपुर, १४ जेठ । निरन्तर दुई महिनाभन्दा लामो लकडाउनका कारण व्यावसायिक वातावरण तहस–नहस भएको तथा उपभोक्ताहरुले पनि अत्यावश्यक दैनिक उपभोग्य सामग्रीहरु पाउन नसकेको अवस्थामा सबैको दैनिकीलाई सहज बनाउने अभ्यास शुरु भएको छ । यसै क्रममा लकडाउनका कारण बन्द भएका तुलसीपुर क्षेत्रका अन्य केही पसलहरु पनि खुल्ने भएका छन् ।
तुलसीपुर उद्योग वाणिज्य संघको बुधवार बसेको बैठकले सातामा दुई दिन फेन्सी, कस्मेटिक्स, प्लाष्टिक तथा भाँडा पसल, जुत्ताचप्पल पसल तथा कपडा पसलसमेत खोल्ने निर्णय गरेको हो । हरेक साता आइतवार र बिहीवार यी पसलहरु खुल्नेछन् । अन्य पसलहरु खुल्ने दिन दैनिक उपभोग्य सामग्री खाद्यान्न र किराना पसल भने बन्द रहने पनि उद्योग वाणिज्य संघले निर्णय गरेको हो ।
संघका अध्यक्ष बीरबहादुर रावत (बीरु)को अध्यक्षतामा बसेको बैठकले हार्डवेयर पसल खोल्ने सम्बन्धमा भने यसअघिकै निर्णयलाई निरन्तरता दिने निर्णय गरेको छ । हार्डवेयर व्यवसायीहरुले पसल नखोले रै गोदामबाट आवश्यक निर्माण सामग्रीहरु यसअघि जिल्ला प्रशासन कार्यालयले तोकेको दिन र समयमा बिक्री वितरण गर्न सक्नेछन् । लामो समयसम्मको लकडाउनका कारण अन्य व्यवसायीहरु समेत आर्थिक मारमा परेको व्यापक गुनासोपछि उद्योग वाणिज्य संघले स्थानीय पालिका, स्थानीय इलाका प्रहरी कार्यालय, जिल्ला प्रशासन कार्यालय तथा जिल्ला प्रहरी कार्यालयसँगको समेत समन्वयमा अन्य पसलहरु पनि खोल्ने निर्णय गरेको हो । यसका लागि उद्योग वाणिज्य महासंघसँगसमेत परामर्श लिइएको संघले जनाएको छ ।
‘लकडाउनलाई पालना गर्दै सामाजिक दूरी कायम राखी तोकिएको बारमा पसलहरु आलोपालो खोल्ने निर्णय भएको हो’, बैठकपछि संघका अध्यक्ष बीरबहादुर रावतले भने । व्यवसायीहरुले ग्राहकहरुसँग कारोवार गर्दा अनिवार्यरुपमा सामाजिक दूरी कायम गर्नुपर्ने पनि उद्योग वाणिज्य संघले जनाएको छ । ‘सामाजिक दूरी कायम गरे नगरेको सन्दर्भमा उद्योग वाणिज्य संघले नियमित अनुगमन गर्नेछ, यसका लागि सचेत हुन आम उद्योगी व्यवसायीहरुलाई हार्दिकतापूर्वक अनुरोध गर्दछौं’, बैठकपछि जारी विज्ञप्तिमा जनाइएको छ ।
त्यसैगरी दाङ जिल्ला उद्योग वाणिज्य संंघले पनि जिल्लाका सबै बजारहरुमा एकरुपताका साथ व्यवसाय सञ्चालनको व्यवस्थापनका लागि घोराही उपमहानगरपालिका र जिल्ला प्रशासन कार्यालयसँग आग्रह गरेको छ । लामो समयसम्मको लकडाउनले आम व्यवसायीहरुलाई आर्थिक भार थपिँदै गएकाले अधिकतम सुरक्षा प्रवन्धका साथ व्यापार व्यवसाय सञ्चालनका लागि अनुमति दिन माग गरिएको संघका अध्यक्ष नारायणप्रसाद भुसालले बताएका छन् । ‘अब जनजीवनलाई क्रमशः सामान्यीकरणतर्फ लैजानुपर्छ भनेर आलोपालो पसलहरु खोल्न व्यवस्थापन गर्नुपर्ने हाम्रो आग्रह हो, यसमा स्थानीय प्रशासनले गम्भीर भएर निर्णय लिने अपेक्षा गरेका छौं’, अध्यक्ष भुसालले भने । दाङ उद्योग वाणिज्य संघले यो विषयमा जिल्ला प्रशासन कार्यालयमै पुगेर छलफलसमेत गरेको थियो । छलफलका क्रममा धेरै व्यवसायीहरु घरबाहल तिर्नसमेत नसक्ने असहज परिस्थितिलाई मध्यनजर गर्दै कोरोनाको संक्रमणबाट समेत जोगिनेगरी व्यवसाय सञ्चालनको माग गरिएको थियो ।
लमही उद्योग वाणिज्य संघले पनि जिल्ला उद्योग वाणिज्य संघ, तुलसीपुर उद्योग वाणिज्य संघसँगकै सहकार्य र स्थानीय पालिका र प्रशासनसँगको समन्वयमा व्यवसाय सञ्चालनका लागि व्यवसायीहरु तयार रहेको जनाएको छ । संघका अध्यक्ष रत्नप्रसाद श्रेष्ठले जिल्लाका अन्य बजारहरुमा जस्तै लमहीमा पनि व्यावसायिक वातावरण बनाउन आफूहरु लागिरहेको अभिव्यक्ति दिए । यसैबीच प्रमुख जिल्ला अधिकारीले कोरोनाको जोखिन अझै उच्च रहेको भन्दै यो विषयमा संकट व्यवस्थापन समितिको बैठकले अन्तिम निर्णय लिने बताएका छन् । कोरोनाको संक्रमणको जोखिम कायमै रहेको अवस्थामा आवश्यक उपभोग्य सामग्रीहरुको आपूर्तिलाई कसरी सहजरुपमा उपलव्ध गराउने भन्ने विषयमा बिहीवार मात्र छलफल हुने र अन्तिम निर्णय लिइने प्रमुख जिल्ला अधिकारी रिजालले बताएका छन् । ‘व्यवसाय सञ्चालनका नाममा थप जोखिमयुक्त वातावरण बनाउन हामी कहिल्यै लाग्नु हुँदैन, अत्यावश्यक बस्तुको आपूर्तिका विषयमा स्थानीय प्रशासन पनि गम्भीर छ’, प्रजिअ रिजालले गोरक्षलाई भने ।