अमरराज आचार्य
दाङ, १४ जेठ । लकडाउनको अवधिमा नेपाल परिवार नियोजन संघ दाङ शाखाले १५ हजार बढीलाई सेवा दिएको जनाएको छ । सन् २०२० को अप्रिल १ देखि मे २० तारिखसम्म १५ हजार ३ सय ९४ जनाले परामर्श तथा सेवा लिएको नेपाल परिवार नियोजन दाङ शाखा प्रबन्धक बसन्त खनालले जानकारी दिए । उनकाअनुसार यस अवधिमा परिवार नियोजन सेवा तथा परामर्श २ हजार ६ सय ३ जनाले लिएका छन् । आयु सेडी ४ जनाले, इम्पान्ट १५ जनाले, पिल्स एक हजार २ सय ४७ जनाले, कण्डम ६ सय ८३ जनाले, डिपो ४ सय ७ जनाले, गर्भ पतन ५१ जनाले सेवा लिएका छन् । यसैगरेर खोप सेवा ८ सय ३७ जना, गर्भवती सेवा तथा परामर्श ६ सय ५४ जना, स्त्री रोगसम्बन्धी सेवा तथा परामर्श एक सय ३६ जना, पिसाव जाँचसम्बन्धी एक सय २१ जनाले सेवा लिएको शाखा प्रबन्धक खनालले बताए ।
संघले कोरोना संक्रमण हुन नदिनका लागि स्वास्थ्य सतर्कता अपनाएर सेवा तथा परामर्श प्रदान गर्दै आएको जनाएको छ । संघले आप्mनो स्रोत साधनको अधिक्तम प्रयोग गरेर सुरक्षित बनाएर सेवा दिइराखेको छ । स्वास्थ्यकर्मीलाई पिपिई तथा सेवा लिन आउनेलाई साबुन–पानीले हात धोएर मात्र भित्र प्रवेशको व्यवस्था गरिएको छ । यसैगरेर अनिवार्य मास्कको प्रयोग, भित्र प्रवेश गर्दा तापक्रम लिने, भौतिक दूरी कायम राख्ने व्यवस्था गरिएको छ ।
महामारीको अवस्थामा सेवा दिने स्वास्थ्यकर्मी तथा अन्य कर्मचारीहरुको कोरोना बिमा गरिएको परिवार नियोजन संघले जनाएको छ । संघको केन्द्रीय कार्यालय नै कोरोना बिमा गरिदिएको हो । ‘यसले काम गर्नेलाई थप हौसला मिलेको छ’–खनालले भने । सेवा प्रदान गदै आएका स्वास्थ्यकर्मीहरुलाई कोरोनाको संक्रमण भए नभएको भनेर स्वाब परीक्षण भने अझै हुन नसकेको उनी बताउँछन् । ‘हामीले स्वास्थ्यकर्मीको स्वाब परीक्षण गर्नका लागि सम्बन्धित निकायसँग माग गरिराखेका छौँ, तर हालसम्म हुन सकेको छैन’ प्रमुख खनालले भने । स्वास्थ्यकर्मी नै संक्रमित भएमा सेवा दिँदा धेरैलाई सर्ने भएकाले स्वाब परीक्षण आवश्यक रहेको उनको भनाई छ । त्यसैले स्वास्थ्यकर्मी सुरक्षित हुनुपर्ने खनाल बताउँछन् ।
आलोपालो व्यवस्था
नेपाल परिवार नियोजन संघले स्वास्थ्यकर्मीलाई आलोपालोको व्यवस्था मिलाएको छ । १४ दिनसम्म अफिसमा काम गर्ने र १४ दिन घरमा बस्ने व्यवस्था गरिएको प्रमुख खनालले भने । ‘यसो गर्दा कुनै पनि स्वास्थ्यकर्मी संक्रमित भएपछि पनि सेवा बन्द नगरेर व्यवथापन गर्न सहज हुन्छ’–खनालले भने । यसले गर्दा नागरिकले सहज रुपमा नै सेवा पाउनसक्ने उनको भनाई छ ।