गोरक्ष समाचारदाता
तुलसीपुर, १४ जेठ । जलविन्दु भएका आँखाका विरामीले नियमित औषधिको प्रयोग गर्नुका साथै समस्या देखिए तुरुन्त अस्पतालमा आउन आँखा अस्पतालले सबैमा अनुरोध गरेको छ । सामान्य हेलचक्राईले जलविन्दुका कारण दृष्टि गुम्नसक्ने भएकाले यसतर्फ सबैले समयमै ध्यान दिनुपर्ने आँखा अस्पतालका चिफ मेडिकल डाइरेक्टर नेत्र विशेषज्ञ डा शुलक्ष्मी कटुवालले जानकारी दिइन् । लामो समयको लकडाउनले औषधिको अभाव तथा अन्य समस्या देखिए सम्बन्धित निकायमा सम्पर्क गरी नियमित औषधि प्रयोग र जाच गर्न उनले सबैमा आग्रह गरेकी छन् ।
‘यदि कसैलाई जलविन्दुको समस्या छ र नियमित औषधि प्रयोग गर्नुभएको छ भने औषधि नछुटाउनहोस्, नियमित प्रयोग गर्नुहोस्, लकडाउनसँगै केही समस्या छ भने पनि सम्बन्धित निकायमा सम्पर्क गर्नुहोस्’–उनले भनिन् । जलविन्दुको समस्या समयमै पहिचान गरी उपचार सुरु गर्नसकेको खण्डमा र चिकित्सकको सुझाव अनुसार नियमित औषधि प्रयोग गरेर यसबाट हुनसक्ने अन्धोपनबाट बच्न सकिने डा कटुवालले बताइन् ।
नेपाल नेत्रज्योति संघ, आँखा स्वास्थ्य कार्यक्रम राप्ती तथा बहादुरगञ्ज अन्तर्गत सञ्चालित राप्ती आँखा अस्पातल, छन्द् कालोबाबु नारायणी आँखा अस्पताल बहादुरगञ्ज र लमही आँखा अस्पताल तथा निजिकैको आँखा अस्पतालमा आवश्यक पारे सम्पर्क गर्न सबैमा आग्रह गरिएको छ । जलविन्दुमा हाल आँखाको भित्री चाँप ‘इन्ट्रा अक्युलर प्रेसर’ को मात्र उपचार गर्न सकिन्छ । यसका लागि आँखामा राख्ने थोपा औषधिहरु अत्यन्त प्रभावकारी रहेका छन् । यी औषधिले प्रेसरलाई केही घटाउन र दीर्घकालीन रुपमा नियन्त्रणमा राख्न मद्दत गर्दछन् । थोपा औषधिहरुले आँखाको भित्री चाँप घटाउन नसकेको अवस्थामा शल्यक्रिया गर्नुपर्ने समेत हुनसक्छ । हरेक ६ महिनामा आफ्नो आँखाको जाँच गराएर जलविन्दुको समयमै पहिचान गरी उपचार गराउनु उपयुक्त हुने डा कटुवालको सुझाव छ ।
जलविन्दु एक किसिमको आँखाको रोग हो । यसले आँखाको दृष्टिसम्बन्धी स्नायु (अप्टिक नर्भ) मा क्षति पु¥याउँछ । जलविन्दुको प्रारम्भिक चरणमा केही लक्षणहरु मात्र देखिने वा कहिलेकाहीँ कुनै पनि लक्षण नदेखिने पनि हुन सक्छ । समय–समयमा आँखाको जाँच नगराउने र सानातिना समस्या भन्दै आँखाको उपचारमा हेल्चक्राई गरेमा जलविन्दुले मानिसलाई दृष्टिविहीन समेत बनाउन सक्छ । विशेषज्ञहरुद्वारा आँखाको भित्री चाँप ‘इन्ट्रा अक्युलर प्रेसर’, आँखाको तरल बग्ने प्रणालीको कोण र अप्टिक नर्भ, पेरिफेरल भिजन भिजुअल फिल्ड टेस्टलगायतको सम्पूर्ण जाँच गराएर जलविन्दु निदान गर्न सकिने नेत्रविशेषज्ञ डा कटुवालले बताएकी छन् ।