भूवन पोख्रेल
मानिस स्वभावैले सामाजिक प्राणी हो । मानिसका लागि समाज र समाजका लागि मानिस एकअर्काका अभिन्न अंग हुन् । अहिले व्यक्ति–व्यक्तिबीचको सामाजिक दूरी कायम गर्न निकै पट्यार लाग्दो भएको छ । लकडाउन आफैमा वाध्यात्मक परिस्थितिमा संक्रामक रोग नियन्त्रणका लागि रोजिएको उत्तम विकल्प हो । कोरोना भाइरस नियन्त्रणको औषधि र भ्याक्सिन उत्पादन भइनसकेको वर्तमान अवस्थामा विश्वभरका मानव समुदाय घरभित्र बन्दी जीवन बिताउन विवश छन् । लकडाउन वास्तवमा सरकारको कठिन र अप्रिय कदम हो । यसको असर मानव जीवनमा प्रत्यक्ष परिरहेको छ । पक्षीझैँ खुला र स्वतन्त्र रुपमा घरबाहिर व्यस्त जीवन बिताउन अभ्यस्त मानव जाति अहिले निरीह प्राणीको रुपमा बन्द कोठामा सीमित छ ।
मानव जातिका प्रविधि, आविष्कार, वैज्ञानिक चमत्कार, खोज, अनुसन्धान आदिले कोराना भाइरसका अघि घुँडा टेक्न विवश छन् । मानव लाचार छ, प्रकृतिमाथिको एकछत्र रजाईँ गर्ने दिन कतै सकिएका त होइनन् भनी बन्दाबन्दीका दिन औला भाँच्दै गन्ती गर्दै टोलाइरहेको छ । सृष्टिको सर्वश्रेष्ठ प्राणी आफूलाई ठान्ने मानव अहिले आफ्नो जीवन रक्षाका लागि दुई हात जोडेर प्रार्थना गरिरहेको छ । आफ्नो एक मुठी स्वासको लागि मात्र नभई विश्व मानव जगतको रक्षाको लागि याचकलेझैँ आफ्ना अञ्जुली फैलाएर जीवनको भीक्षा मागिरहेको छ । अहिले सबैभन्दा ठूलो शत्रु मानव जातिको लागि कोरोना भाइरस बनेको छ । भाइरस विरुद्धको लडाईमा मानव जातिले आफूलाई उभ्याएको र यो लडाईमा सिङ्गो विश्व एक साथ अघि बढेको छ ।
नेपाल पनि कोरोना विरुद्धको लडाईमा दुई महिनाभन्दा बढी लकडाउनको स्थिति झेलिरहेको छ । यी दुई महिनाकाबीचमा व्यक्तिले बेग्लै अनुभव गरेको छ । मृत्युको छायाँमा बन्दी जीवन बिताउन मानव जीवनमा डर, त्रास र आतंक सिर्जना भएको छ । जीवनको मूल्य एकान्त वासमा बस्दा अनुभूति हुने रहेछ । विकास, निर्माण, शिक्षा, उद्योग धन्दा, व्यापार, व्यवसाय, कृषि, होटल, रेष्टुरेन्ट, पर्यटन, यातायात सबै क्षेत्र ठप्प छन् । यी क्षेत्रमा व्यक्तिले गरेको लगानी डुब्ने सम्भावना छ । बैंकमा व्याज चुलिरहेको छ । कर्मचारीलाई तलवभत्ता कसरी खुवाउने, सटरलगायतका घरभाडा कसरी बुझाउने ? पानी, विद्युत महशुल कसरी तिर्ने ? संक्रमणको जाखिमलाई मध्यनजर गरी सरकारले लिएको निर्णयलाई सम्पूर्ण क्षेत्रले साथ दिई लकडाउनलाई पूर्ण सफल बनाए अब सधैं निजी क्षेत्र बन्दाबन्दी गरी थेग्न सक्दैन । सरकारले लकडाउनले थला परेको क्षेत्रमा केही टाउको उठाउन मद्दत पुग्ने गरी राहत प्याकेज ल्याउने नीति चाल्न सकेको छैन । भोलिका दिनमा उद्योग, व्यसाय बन्द हुने स्थितिबाट बचाउन सरकारले व्यवसायीको हितमा कुनै रणनीति चाल्न नसकेको कारण आफ्नो व्यवसाय जोगाउन आफै सामाजिक दूरी कायम गरी सुरक्षात्मक उपाय अपनाएर उद्योग, व्यवसाय, व्यापार सञ्चालन गर्नुको विकल्प व्यवसायीसँग छैन । कोरोनाको रोगबाट बाहिर निस्कँदा भोलि सम्हाल्नै नसकिने गरी निजी क्षेत्र थला पर्ने छ । दुई महिना बितिसक्दा पनि नियन्त्रणका अन्य उपाय देखिएका छैनन् । झन महामारीको भयावह स्थिति देखिँदैछ । कोरानो संक्रमण विदेशिएको व्यक्तिबाट समुदायमा फैलिइसकेको छ । २/४ महिनामा यो रोग नियन्त्रण हुने पनि होइन । संक्रमणको अन्त्यहीन शृंखला बनिरहेको उदाहरण हामीले चाइनाबाट पाइसकेका छौँ ।
रोग निमिट्न्न होला वा रोग निर्मुल होला र उद्योग व्यवसाय सञ्चालन गरौँला भन्ने ढुक्कको स्थिति छैन । निश्चित समय पुगेपछि यो संक्रमण हराउला भन्नु छैन । त्यसर्थ सामाजिक दूरी कायम गरेर उद्योगधन्दा, व्यवसाय सञ्चालन गर्न दिनुको विकल्प सरकारसँग छैन । दिनहुँ ज्यालमज्दुरी गरेर खानेवर्गको भोक मात्र नभई गरीखानेवर्गको अवस्था पनि अब यसरी लकडाउन थपिँदै जाने हो भने निकै भयावह बन्ने छ । गरिखानेवर्ग अहिले बन्दाबन्दीको अवस्थामा हात बँधेर बस्न विवश छ । उसका जहान बच्चाको रोजीरोटी र भरथेगको जिम्मा कसले लिने हो ?
दिनहुँ हुने आमदानीका स्रोत ठप्प छन् । तर दिनहुँ चाहिने आधारभूत आवश्यक ताका वस्तु खरिद गर्ने क्रम क्षमता घट्दो छ । बाहिरबाट आउने स्रोत लक भएपछि मुखमा माड कसरी लगाउने यसरी विषयमा गम्भीर नहुने हो भने भोलिका दिनहरु निकै असहज बन्ने छन् ।
अहिले हामीले जीवन रक्षालाई पहिलो प्राथमिकतामा राखेर लकडाउन पालना कडाईका साथ गरेका छौँ । जहाँ लकडाउन कडाईका साथ पालन गरियो त्यहाँ संक्रमण कम देखिएको छ । खुकुलो गरिएको ठाउँमा संक्रमणको जोखिम बढ्दै गइरहेको छ । सरकारले परीक्षणको दायरा बढाएर रोग नियन्त्रणतर्फ पाइला चाल्नुको साटो रोग नियन्त्रणको अन्तिम विकल्पको रपमा लकडाउनलाई चुनेको छ । लकडाउन स्थायी समाधान होइन । आपतकालीन उपायको रुपमा लकडाउन लागी गरिएको हो तर नेपालले लामो समयसम्म लकडाउनलाई थेग्न सक्दैन । यहाँको अर्थतन्त्र धरासायी अवस्थामा पुग्दछ, यदि बेलैमा लकडाउन नखुलाउने हो भने ।
लकडाउनको प्रकृति वा स्वरुप सबै क्षेत्रमा एकै किसिमको नबनाई भारतसँग सीमा जोडिएका जिल्लामा लकडाउनमा थप कडाई र चेकजाँचमा तीव्रता ल्याउनुपर्ने देखिन्छ भने अन्य स्थानमा खुकुलो बनाउनुपर्ने अनिवार्य आवश्यकता देखिएको छ । अहिले भारतबाट रोजगारी गुमाएर फर्किनेहरुको लर्को सीमानाकामा देखिन्छ । चेकजाँच बिना नै हुलका हुल नेपाल भित्रिइरहेका छन् । कमसेकम सीमानाकामै चेकजाँचको व्यवस्था मिलाएर क्वारेन्टाइनको प्रबन्ध मिलाउन सकेको भए जोखिम न्यूनीकरणको स्थिति सहज बन्ने थियो । भारतबाट भित्रने नेपालीलाई बिना चेक स्थानीय तहका क्वारेन्टाइनमा लैजाने वर्तमान अवस्थाले थप जोखिम नबढाउला भन्न सकिँदैन । संत्रमित व्यक्तिलाई स्थानीय तहको जिम्मा लगाएर मात्र पुग्देन । स्थानीय स्तरमा निर्माण गरिएका क्वारेन्टाइन मापदण्ड वमोजिम छन् कि छैनन् ? व्यवस्थित गरिएको छ छैन ?
सामाजिक दूरी कायम हुने गरी क्वारेन्टाइनमा प्रबन्ध मिलाए नमिलएको प्रदेश र संघीय सरकारले अनुमान गर्नु पर्छ । स्थानीय सरकार साधनस्रोतलेयुक्त छैनन्, त्यहाँ क्वारेन्टाइनमा डाक्टर, नर्स, सुरक्षाकर्मीको व्यवस्था, पिसिआर र आरडिटीको पर्याप्तता त्यसरी नै डाक्टर, नर्सलगायत अन्य कर्मचारीलाई पिपिईको प्रबन्ध मिलाउन सक्नुपर्छ । यदि सुरक्षात्मक प्रबन्ध नमिलाउने हो भने स्थानीय स्तरमा बनाइएका मापदण्डविहीन क्वारेन्टाइनबाट एउटा व्यक्तिमा भएको संक्रमण अन्य व्यक्तिमा सजिलै सर्ने छ । संक्रमण फैलिएर स्थानीय स्तरसम्म पुग्नसक्ने जोखिम बढेर जान्छ, यदि सुरक्षात्मक उपाय नअपनाउने हो भने । स्थानीय तहमा संक्रमण फैलियो भने भयावह स्थिति निम्तिने छ र त्यो स्थिति आउनुभन्दा अघि सम्बन्धित सबै पक्ष चनाखो भई रोग नियन्त्रणतर्फ पाइला चाल्नुपर्ने देखिन्छ ।
समुदाय स्तरमा संक्रमण फैलनबाट रोक्नका लागि क्वारेन्टाइनहरुलाई थप व्यवस्थित बनाउनुपर्नेतिर सम्बन्धित निकायको चाँडै ध्यान पुग्नुपर्ने देखिन्छ । यदि समुदायस्तरमा संक्रमण फैलियो भने त्यसलाई नियन्त्रण गर्न नेपालको स्वास्थ्य संयन्त्रलाई निकै ठूलो चुनौतीको सामना गर्नुपर्ने छ । नेपालको स्वास्थ्य क्षेत्रको सक्षमतालाई कोरोनाले चुनौती दिने छ । दिन दुई गुणा रात चौगुणाका दरले संक्रमण फैलिएको छ । यसलाई नियन्त्रण गर्न सामाजिक दूरी कायम गर्न सक्नुपर्छ । सम्भावित संक्रमितको परीक्षण हुन पनि सकेको छैन । आइसोलेशनको पनि व्यवस्था पनि राम्रो छैन । तुरुन्त चेक जाँच गरी नेगेटिभ रिपोर्ट आउनासाथ घर पठाउन सक्ने हो भने रोग फैलिने सम्भावना कम हुन्छ । स्वाब परीक्षण गरिसकेपछि नतिजा पोजेटिभ देखिएकालाई आइसोलेशन वार्डमा राख्न नसक्दा अन्य निरोगीलाई रोग सर्नसक्ने जोखिम बढेको छ । स्थानीय प्रदेश र संघीय सरकारबीच समन्वय हुन नसक्दा संक्रमणको जोखिम बढ्ने सम्भावना बढिरहेको छ ।
भारतबाट र तेस्रो मुलुकबाट लाखौँको संख्यामा नेपालभित्रने छन् । स्थानीय तहलाई क्वारेन्टाइनमा बसेकालाई खाजा, खाना, पानी, सरसफाईको व्यवस्थापन गर्न स्थानीय तहलाई खर्च व्यवस्थापन गर्न हम्मे–हम्मे परेको छ । अर्थतन्त्रलाई चलायमान गराउन सुरक्षाका उपायहरु अवलम्बन गरी उद्योग व्यवसाय खोल्नुपर्ने देखिन्छ । लकडाउन खुकुलो पार्न निश्चित शर्त सरकारले अँगाल्नुपर्ने देखिन्छ । लकडाउन खुकुलो पार्दा महामारी तीव्र ढङ्गले बढ्ने स्थिति हुनु हुँदैन ।
भारतले गरेझैँ आन्तरिक उडान यातायात खोलने हो भने संक्रमण भयावह स्थिति हुने छ । नेपालमा स्वास्थ्य क्षेत्रको सक्षमता कम भएको स्थितिमा अन्य विकसित मुलुकको देखासिकी गरी ह्वात्तै लकडाउन खोल्नुको साटो निश्चित मापदण्ड वा शर्त राखेर कुनै ठाउँमा खुकुलो र कुनै ठाउँमा कडा बनाउन सकिन्छ । स्कूल, कलेज, सिनेमाहल, सार्वजनिक यातायत र मानिसको बढी भीडभाड हुने ठाउँ हतारिएर खोल्नु हुँदैन । महामारीको डरलाग्दो क्षतिलाई न्यूनीकरण गर्न परीक्षणको दायरा बढाउनुपर्छ । प्रत्येक स्थानीय तहलाई कोरोनासँग जुध्नसक्ने गरी संघीय सरकारले सक्षम बनाउनुपर्छ । शिथिल बन्न पुगेको अर्थतन्त्र चलायमान बनाउन निजी क्षेत्रका उद्योग व्यवसाय सञ्चालनमा ल्याउन जरुरी छ । तर लकडाउनको मोडल परिवर्तन गरिनु पर्छ ।
नेपालको सीमा भारतसँग खुला छ । लकडाउनपछि भारतबाट संक्रमित नेपाली धमाधम स्वदेश फर्किरहेकाले नेपालमा भयावह स्थिति हुने सम्भावना छ । भारतको स्थिति महामारीको कहालीलाग्दो छ, यसको असर नेपालले भोग्नुपर्ने वाध्यता छ ।