गणतन्त्र दिवसमा गणतान्त्रिक संस्कृतिको चर्चा

आज गणतन्त्र दिवस । नेपाली जनताले शासन व्यवस्थामा आफ्नो भूमिकालाई न्यून गराउँदै हाबी हुनखोज्ने एउटा शक्ति राजतन्त्रलाई ढालेको दिन । यो दिनको महत्व नेपालको आधुनिक राजनीतिक इतिहासमा निकै नै रहने छ । अझ अध्यताहरुका लागि यो गणतन्त्र दिवसको प्रशंग आफैमा रोमाञ्चक र अनौठो लाग्ने प्रकृतिको छ । बिना रक्तपात नेपालले आफूलाई गणतान्त्रिक संरचना सहितको देशमा रुपान्तरण ग¥यो । यो वातावरण निर्माणका लाग भएका साहदतहरुको मूल्य त अतुलनीय छ नै, तर औपचारिक घोषणा भने अपेक्षा गरेभन्दा फरक र शान्तपूर्ण परिवेशमा हुन पुग्यो । जनताका प्रतिनिधिहरुले जनताको भावनालाई केन्द्रविन्दुमा राखेर निर्णय लिन सक्छन् भन्ने सन्देश प्रवाह गर्ने दिन पनि हो, नेपालको सन्दर्भमा गणतन्त्र दिवस ।

गणतन्त्र त आयो । तर, गातान्त्रिक संस्कृति बसेन भन्ने चिन्ता यतिबेला व्यापक रुपमा रहँदै आएको छ । नवीन पद्धतिले नवीन संस्कृतिको अपेक्षा गरिरहेको हुन्छ । यसमा चुक्यौँ भने नवीन पद्धति पनि उस्तै–उस्तै लाग्छ । आजको हाम्रो समस्या यही हो । नेपालको सन्दर्भमा गणतन्त्र दिवस मनाइरहँदा गणतान्त्रिक संस्कृतिको बारेमा सोच्न र त्यो संस्कृति बसाल्न गम्भीर हुनुपर्ने हुन्छ । त्यसको सुरुवात भने शीतल निवासबाटै हनु पर्दछ । हरेक क्षण र सन्दर्भमा शीतलनिवासभित्र हामीजस्तै दुःख–सुख भोगेको नेपाली नागरिक बसेको छ र उसले शालिनतापूर्वक सबैसँग समान व्यवहार प्रदर्शन गर्छ भन्नेमा जनतालाई आश्वस्त पार्नु नै नेपालको सन्दर्भमा गणतान्त्रिक संस्कार हो । म जनताको प्रतिनिधि हुँ, हिजो राजाले जनताका दुःख महशुस गरेका थिएनन् । मैले त जनताको दुःख देखेको मात्र होइन भोगेको पनि छु, तिनै दुःखलाई सम्बोधन गर्ने प्रक्रियाको अभिभावकत्व मैले ग्रहण गरेको हो भन्ने भावना राष्ट्राध्यक्षमा हुनुपर्छ । र, यसकारण गणतन्त्र स्थापना भएको हो भन्ने बुझेर सरकारले राष्ट्रपतीय संस्थालाई नवीन संस्कृतिको स्रोत बन्नका लागि वातावरण दिनु पर्दछ । नेपालको संविधानले राष्ट्रपतिलाई ‘सेरेमोनियल’ भूमिकामा राखेको छ । यस पदबाट हुने सबै कामको उत्तरदायित्व सरकारलाई हुन्छ । संविधानले नै राष्ट्रपतिको काम, कर्तव्य र अधिकार तोकिदिएको छ । ती काम, कर्तव्य अधिकारको प्रयोगमा संविधानअनुसार सरकारको भूमिका हुन्छ । सरकारले तय गरिदिएको दायरामाथि राष्ट्रपति जान पनि सक्तैनन् । यो संविधानको मर्म हो । अर्थात्, यो संविधानले कोरिदिएको सीमा हो, राष्ट्रपतिको । तर, राष्ट्रपति संस्थाको नेतृत्व गर्ने पात्रको गतिविधि र कार्यशैली आफ्नै प्रकारको हुन्छ र त्यसले गणतान्त्रिक संस्कारको निर्माण गर्छ । जीवनशैली कस्तो बनाउने ? आफ्नो लक्ष्य के राख्ने ? आफ्ना प्राथमिकताहरु के–कस्ता बनाउने ? कस्तो ठाउँमा जाने र कस्तो ठाउँमा नजाने ? आफैले सम्बोधन गर्ने कुराहरुको भाषा कस्तो राख्ने ? नागरिकको तहबाट आएका प्रतिक्रियालाई कसरी लिने ? ती प्रतिक्रियाको सम्बोधन गरिएको अनुभूति नागरिकलाई कसरी दिने ? यी ७ वटा सवालको जवाफले नै नेपालको सन्दर्भमा गणतान्त्रिक संस्कार स्थापना गर्ने हो ।

व्यवहारको निरन्तरताले संस्कार निर्माण हुने गर्छ । नेपाली गणतन्त्र अझै संस्कारको जगमा उभिनसकेको छैन । छोटो अभ्यास अर्थात् व्यवहार प्रदर्शन गर्न मात्र हाम्रो गणतन्त्रले सकेको छ । हाम्रो गणतान्त्रिक संस्कार हामी आफैले बसाल्ने हो । संस्कार सिधै आयात गर्ने विषय होइन । यो त अभ्यास गर्दै जाँदा स्थापित हुने कुरा हो । हामी यसतर्फ अग्रसर हुन सकौँ, गणतन्त्र दिवसको हार्दिक शुभकामना ।