मनमा रोग कसरी लाग्छ र मनलाई कसरी स्वस्थ बनाउने ?

सुप्रिया मां

मानिसहरु निराश हुँदै जाने र बिस्तारै मनोरोगी हुने क्रम बढीरहेको छ । बढ्दो विकास संगसगै मनोरोगीहरु पनि बढीरहेका छन् । सबै उमेरका व्यक्तिहरुमा यो समस्या देखिन्छ । विश्वका सबै मुलुकहरुमा यो समस्याले भयावह रुप लिदै छ । सबैभन्दा चाडो बढेको रोग हो मनोरोग । सन् १९९० मा विश्व स्वास्थ्य संगठनले गरेको अध्ययनमा मानव जातिलाई पिरोल्ने रोगहरु मध्ये मनोरोग चौथो भएको पत्ता लागेको थियो । ऐलेसम्म यो रोग दोश्रो स्थानमा आइसकेको हुनुपर्छ । हाम्रा सबै रोगहरु साइकोसोमैटिक हुन्छन् । अर्थात मन रोगी भए शरीर र शरीर रोगी भए मनपनि रोगी हुन्छ । मानिसहरुमा मनोरोग किन हुन्छ, यसको समाधान के हो, यो हाम्रो आजको चिन्तनको विषय हो ।

अस्ट्रेलियामा पढ्न जानुभएको एक जना विद्यार्थी भाइले मलाई भन्नुभयो, ‘अस्ट्रेलियामा पढ्न आएको केही समयपछि मलाई पढ्न मन नलाग्ने, नरमाइलो लाग्ने, तनाव भैरहने, उत्साह नहुने, नकारात्मक सोंचहरु आउने र मन निराश हुन थाल्यो र बिस्तारै म डिप्रेश भए । घरमा हुँदा यस्तो हुँदैनथ्यो, यता आएपछि मलाई यस्तो किन भएको होला ?’ यो धेरै मानिसहरुलाई भएको समस्या हो । साधारणतया सबै मानिसहरुमा थोरै प्रतिशत मनको रोग भएकै हुन्छ । कुनै दिन मन खिन्न हुनु र नकारात्मक भावनाहरु आउनु भनेको सामान्य कुरा हो । तर जीवनप्रति असन्तुष्टी बढ्नु, निराशा बढ्नु, नकारात्मक भावनाहरु आइरहनु, मन एकाग्र नहुनु, कुनै कुरामा पनि मन नलाग्नु, उत्साह हराउनु, सानो कुरामा पनि चिन्ता लागिरहनु, तनाव भै रहनु, यस्तो धेरै हुदै गएको छ भने यो राम्रो कुरा होइन । यसले हामीलाई बिस्तारै मनोरोगी बनाउंछ र अवसाद वा डिप्रेशन तिर लैजान्छ । डिप्रेसनको पहिलो चरणमै यसलाई रोक्नुपर्छ । केही कुरा बुझ्यौं र आफ्नो जीवनशैलीमा परिवर्तन गर्छौ भने यसबाट सजिलै पार पाउन सकिन्छ । यसलाई बेलैमा व्यवस्थापन गरिएन भने यस्ले मानिसलाई जीवनभरी दुःख दिन्छ । हामीलाई यस्तो हुनुको पछाडि केही कारणहरु छन् र आफैले प्रयास गर्ने हो भने यसबाट बाहिर आउन पनि सकिन्छ ।

साधारणतया हामी भित्र तिनवटा तहहरु वा तिनवटा अवस्था हुन्छ । (१) मनको तह (२) भावना (Feelings) वा हृदयको तह र (३) आत्माको तह वा भावातित अवस्था । मानिस यो तिनवटै अवस्थामा बारंबार घुमी रहेको हुन्छ । मानिस कुनै बेला मनको तहमा, कुनै बेला भावनामा र कुनै बेला आत्माको तहसम्म पनि पुगेको हुन्छ । तर धेरै जसो मानिसहरु हृदय र आत्माको तहमा नपुिगकन मनको तहमै धेरै घुमिरहेका हुन्छन । मनभन्दा माथि भावनाको अथवा हृदयको तहमा र आत्माको तहमा आउन पाएकै हुदैनन् । यो भावना र आत्माको स्तरसम्म उठ्ने परिस्थिति बनेको हुदैन । विभिन्न कारणले गर्दा मानिस मनमै घुमी रहन्छ । मनको गुण वा स्वभाव हो, वेचैनी, अतृप्ती, असन्तुष्टी, कुनै कुरा प्राप्त भएपछि तुरुन्तै त्यसको मूल्य नमान्नु, जुन कुरा आफूसंग छैन त्यसलाई ठूलो मूल्य दिनु, भूतकालको शोक र भविष्यको चिन्ता गरिरहनु, डर, भय, त्रास र चन्चलता आदि । मनको तहमा मात्र हामी रहेका छौ भने हामीलाई यस्तो भइनै रहन्छ, किनकी मनको गुण र स्वभाव नै त्यस्तै छ । मनको तहमा मात्र रहने मानिसलाई कुनै कुरामा पनि सन्तुष्टी हुदैन । त्यसैगरी मनको अर्को गुण हो जीवनमा भएका नाफा र घाटाको हिसाब गरिरहनु, पुगेको र नपुगेको हिसाब गरिरहनु, अभाव र पूर्णता, भएको र नभएको कुराको हिसाबकिताब गरिरहनु, विगतका नराम्रा कुराहरुको याद गरिरहनु र भविष्यको चिन्ता गरिरहनु आदि सबै मनका आफ्ना स्वभाव र गुणहरु हुन । मानिस मनमा मात्र घुमिरहेको छ र मनले खेलाइ रहेको छ भने उसले आफूलाई पुगेको र नपुगेको, भएको र नभएको, सक्छु र सक्दिन आदि जस्ता कुराहरुमा खेलाई रहेकोहुन्छ । अब केही कुरा जीवनमा नपुग्ने वित्तिकै र आफुले भने जस्तो नहुने वित्तिकै मनले तुरुन्तै निराशा र असन्तुष्टी तिर लैजान्छ । केही राम्रो भयो भने तुरुन्तै उत्तेजित् हुने, धेरैनै खुशी हुने र केही कुरा नराम्रो भयो भने तुरुन्तै विचलित हुने र निराश भै हाल्ने, यस्तो बनाउंछ मनले मानिसलाई । मनमा मात्र धेरै खेल्ने मानिस बिस्तारै मनोरोगी हुँदै जान्छ ।

मनभन्दा माथि उठेर मानिस जब भावनाको तहमा वा हृदयको तहमा आउंछ, अब नाफा र घाटा, पुगेको र नपुगेको, अभाव र पूर्णता जस्ता कुराहरु भन्दा मानिस माथि उठेको हुन्छ । भावनामा हुँदा नाफा र घाटा जस्ता कुराहरु हुँदैनन् । जीवनका सबै हिसाव कितावका कुराहरु बुद्धि र मनले मात्र गर्दछ, भावनाले गर्दैन । भावनामा रहनु भनेको प्रेमको अनुभव गर्नु हो । कसैले मलाई प्रेम गरिरहेको छ र म कसैलाई प्रेम गरिरहेको छु भन्ने अनुभव गर्नु हो । भावनामा हुँदा मानिस उमंग, उत्साहित, उर्जावान र साहशिलो भएको अनुभव गर्दछ । भावनामा रहँदा मानिस दुःख र सुख भन्दा माथि उठेको हुन्छ र सन्तुष्टी, सुख र प्रेमको अनुभव गरेको हुन्छ । भावनामा रहँदा आफन्तीहरुको प्रेम, प्रकृतिको प्रेम र परिस्थितिको रमाइलो र आनन्दको अनुभव भएको हुन्छ ।

भावनामा प्रवेश गर्ने वित्तिकै मानिसको हृदय खुलेको हुन्छ र मनले मानिसलाई घुमाउन पाउंदैन । भावनामा हुँदा मानिस वर्तमानमा रहेको हुन्छ । भूतकालको शोक र भविष्यको चिन्ता हुदैन । मनस्थिति खुशी, सुखदाई, उत्साह, उमंग, सकारात्मक र रमाएको हुन्छ । भावनामा प्रवेश गर्ने वित्तिकै मनका सबै रोगहरु घट्दै जान्छन् । भावना पनि दुई प्रकारको हुन्छ, सकारात्मक भावना र नकारात्मक भावना । सकारात्मक भावनामा जाने वातावरण बनाउनु पर्छ । नकारात्मक भावनाले पनि मानिसलाई मनोरोगी बनाउंन सक्छ । परिवारमा मिलेर रहँदा र परिवारको प्रेम पाउंदा, साथिहरुसंग हुँदा, रमाइला ठाउँहरु घुम्न जाँदा, चाडपर्व मनाउँदा, कुनैपनि उत्सवका कार्यहरु गर्दा मानिस भावनाको जगतमा रहेको हुन्छ । परिवारमा रहँदा मानिस मनोरोगी हुँन पाउंदैन तर एक्लै पढ्न जाँदा, एक्लै काम गर्न विदेश जाँदा, माया गर्ने व्यक्तिहरु नहुँदा, आफन्तहरुको बिछोड हुँदा, घुम्ने र रमाइलो गर्ने वातावरण नहुँदा र विपरित परिस्थिति हुँदा मानिस भावनामा जान पाएको हुँदैन । यस्तो अवस्थामा मानिस धेरै समय मनमा खेल्न थाल्छ, विस्तारै निराश हुदै जान्छ र मनोरोगी हुन्छ ।

निराशा, उदासीपन र मनोरोगबाट बच्नका लागि हामीले नितान्त आफ्ना लागि पनि केही समय निकाल्नु पर्छ र आफूले प्रयास गरेर भावमा जाने वातावरण बनाइरहनु पर्छ ।

सकारात्मक भाव (Positive feeling) वा भावनामा जाने वातावरण कसरी बनाउने ?

—दैनिकरुपमा रमाइला, सकारात्मक भाव र उत्प्रेरणा दिने खाल्का र आफूलाई मन पर्ने पुस्तकहरु पढ्ने, महान व्यक्तिहरुका जीवनीहरु र खोजमूलक पुस्तकहरु पढ्ने, कविताहरु पढ्ने, गीतहरु र भजनहरु सुन्ने, आफुले जानेका कुराहरु लेखिरहने जस्ता कार्यहरु गरिरहनु पर्छ ।

—बेलाबेलामा रमाइला ठाउँहरु घुम्न जाने, बगैचाहरुमा घुम्ने, परिवार वा साथिहरुलाई लिएर लामो यात्रामा जाने र रमाइलो गर्ने, घर भन्दा बाहिर खुला ठाउँमा जाने, बिहानको घाम ताप्ने, साथिहरु र आफन्तीहरुलाई भेट्ने र सकारात्मक भाव दिने खालका, रमाइला र जीवन विधायक कुराहरु गर्ने ।

—आफूसंग भएको सानोसानो कुराहरुमा अहोभाव (Gratitude) व्यक्त गर्ने ।

—सबै चाडपर्व र विषेश दिनहरुलाई रमाइलो र उत्सव गरेर मनाउने, नाच्ने, गाउने, खुशी व्यक्त गर्ने र घरमा रमाईलो वातावरण बनाइरहने ।

—सबै मानिसहरुसंग राम्रो सम्बन्ध राख्ने, सबैलाई प्रेम गर्ने, आफूले पनि प्रेम पाउने वातावरण बनाउने र सबैसंग मिलेर बस्ने ।

—नकारात्मक साथिहरु, वादविवाद र झगडाबाट आफूलाई सधैं टाढा राख्ने ।

—राम्रा र उत्प्रेरणा दिने खाल्का कोटेशनहरु लेखेर राख्ने र बेला बेलामा पढ्ने ।

—आफूलाई मन पर्ने कुनैपनि खेलहरु खेलीरहने , व्यायाम गर्ने, योगासन र प्राणायामहरु गर्ने, ध्यान गर्ने ।

—हँसाउने र रमाइलो बनाउने खाल्का फिल्महरु हेर्ने, वृत्तचित्रहरु हेर्ने, जोक्सहरु सुन्ने, नयाँ नयाँ कुराहरु सिक्नमा चासो गर्ने आदि ।

भावना सृजना गर्ने कुराहरुमा समय लगानी गर्दा मलाई के नाफा र फाइदा भयो भनेर हेर्नुहुँदैन । गीत सुनेर बस्ने, खेल्ने र रमाईलो गर्ने समय पनि निकाल्नु पर्छ, । यो नाफा र फाइदाको कुरा होइन । यस्ता कुराहरुले हामिलाई मनभन्दा पर लगेर सन्तुष्टी, खुशी र उमंग दिन्छ र मनोरोग हुनबाट हामिलाई बचाउंछ ।

भावनाको तह भन्दा माथि आत्माको तह छ । यो भाव भन्दापनि माथि भावातितको अवस्था हो । यो आत्मावोध (Self–Realization) को अवस्था हो । यो आत्माको तहमा प्रवेश गर्ने हो भने हाम्रा सबै समस्याहरु स्वतहः हराएर जान्छन् । सबै समस्याहरुको समाधान यो ठाउँमा छ । आत्माको तहमा प्रवेश गर्नु भनेको मानिसले आफुलाई महासागर भएको अनुभव गर्नु हो । स्वयम् महासागर भएपछि अब असन्तुष्टी, अतृप्ती, बेचैनी, निराशा जस्ता कुराहरु काहाँ रहन्छन ?, सबै हराउंछन । यो चेतनाको उच्च शीखर हो । यो आत्मावोध, पूर्ण सन्तुष्टी र परमानन्दको अवस्था हो । यो अवस्थामा मन र भावनाहरु सबै शुद्ध हुन्छन् । मनका सबै रोगहरु मात्र होइन शरीरका अरु धेरै रोगहरु पनि स्वतहः हराएर जान्छन् । अध्यात्मको ज्ञान, ध्यान र सत्संगले हामिलाई आत्मावोधमा लैजान्छ । मनबाट माथि उठेर भावनाको जगतमा र त्यो भन्दा पनि माथी आत्मावोधमा जाने हो भने हाम्रा जीवनका सबै समस्याहरु समाधान हुन्छन् । आत्मावोधसम्म जाने वातावरण नमिलेपनि कमसेकम मन भन्दामाथी भावनाको जगतमा जानु पर्छ । विश्वको जुनसुकै ठाउँमा रहे पनि र जस्तोसुकै परिस्थिति भए पनि भावनामा रहिरहने वातावरण हामीले बनाई रहनुपर्छ । यसो गर्न सक्यौं भने हामिलाई मनोरोग लाग्दैन । आजलाई यति नै, हरी ॐ !

सुप्रिया मां आनन्दपथ संस्थाका संस्थापक हुनुहुन्छ ।