गोरखा जिल्लाको एउटा गाउँबाट श्रीमान् जागिरे रहेको जिल्लामा आउने क्रममा दाङको तुलसीपुर उपमहानगरपालिका–१८ हेमन्तपुरमा कृषि पेशा सञ्चालन गर्दै आएकी मधुमाया जिसीलाई लकडाउनले ठूलो छटपटीमा पारेको छ । वि.सं. २०६४ सालदेखि नै व्यावसायिक पशुपालनलाई अँगाल्दै आएकी जिसीले लकडाउनको दुई महिनामा मात्रै कम्तिमा २ लाख रुपैयाँ बराबरको क्षति भयो । गोलभेडामा रोग लागेर करिब ३ क्वीण्टल खाडलमा पुर्नुप¥यो । लकडाउनका कारण बंगुरका पाठा बिकेनन्, माउलाई दानाको अभावले बचाउनै मुस्किल भएको छ । त्यसैले समस्त किसानहरुका पात्र मधुमाया पछिल्लो अवस्थामा सरकारको कृषि नीतिप्रति सन्तुष्ट छैनन् । उनकै भनाईमा कृषिलाई निर्यातमुखी बनाउने अभियान किताबका पाना र नेताका भाषणमा मात्र छन् । लकडाउनमा पनि कृषि पेशालाई सरकारले व्यवस्थित गर्न सकेन । किसानका समस्यालाई सम्बोधन गर्न सकेन । जिल्लाका विभिन्न भागमा किसानहरुमा देखिएका समस्या, सरकारको ऋण अनुदान नीति तथा स्थानीय सरकारको कृषि प्राथमिकताका विषयमा केन्द्रित रहेर गोरक्षकर्मी खेमराज रिजालले समग्र किसानका प्रतिनिधिपात्र मधुमाया जिसीसँग गरेको कुराकानीको सार संक्षेप ।
स्वागत छ, तपाईंलाई गोरक्ष सातावार्तामा ।
धन्यवाद, एउटा किसानलाई पत्रिकामा स्थान दिएर समस्या राख्न आमन्त्रण गर्नुभएकोमा ।
कसरी लाग्नुभयो, कृषि पेशामा ?
मैले वि.सं. २०५१ सालमा प्यूठानमा छँदा नै नेपालगञ्जमा पशु स्वास्थ्य कार्यकर्ता तालिम लिएर बसिरहेकी थिएँ । यो क्षेत्रमा केही काम गर्ने सोच थियो । यसै प्रशंगमा वि.सं. २०६४ सालमा घर अघि बनाएको एउटा सेफ्टी ट्याङ्कीको ढलानमा बंगुर पाल्ने सोच बनाएँ । त्यो बेला सेफ्टी ट्याङ्कीमाथि २ वटा बंगुर पाल्यौँ । जिल्लामा बंगुरपालनको सुरुवातीका दिन थिए, ती । कमाई लगानीअनुसार राम्रै भयो । त्यसमा श्रीमान्ले पनि सहमति जनाउनुभयो । त्यसपछि वि.सं. २०६४ सालदेखि व्यावसायिक रुपमै अलि धेरै बंगुर ल्याएर थप व्यवसायीकरण गर्ने सोच बनायौँ । अनि केही वर्ष अघि आरविसी पशुपंक्षी फर्म दर्ता गरेरै बंगुर पालन सुरु ग¥यौँ । किनकि मैले ५१ सालमा नेपालगञ्जमा तालिम लिँदा मैले बंगुरको दानापानी, प्रसुती सेवालगायत स्वास्थ्य सेवा पनि कसरी गर्ने भन्ने सिकेकी थिएँ । त्यसैले सुरुमा म बंगुर पालन पेशामा जोडिएँ । क्रमशः बाख्रापालनलाई पनि केही साइडजबजस्तै बनाउँदै टर्की, फाइटर र लोकल कुखुरा समेतको व्यावसायिक पालन सुरु गर्दै आएकी छु । पछिल्लो समयमा मुलुकमा कोरोनाको लकडाउन सुरु भएसँगै बेमौसमी टमाटर खेती पनि गरेँ । तर यो वर्ष मेरो व्यावसायिक वर्ष हुनसकेन्, लकडाउनसँगै म जस्ता धेरै किसानहरु वर्वादीको अवस्थामा छौँ ।
के–कस्ता अप्ठेराहरु व्यहोरिरहनुभएको छ, लकडाउनको समयमा ?
खल्तीमा पैसा छैन, घरको स्टोरमा दाना सकिएको छ । बंगुर व्याएर पाठापाठी बग्रेल्ती लडिरहेका छन् । पाठा विक्री हुने समयमा नभएपछि आमाको दूधले पुगेन, दर्जन जति पाठा मरिसके, अरु पनि दुब्लाएर मर्ने अवस्थामा छन् । विक्री हुने भनेको रुकुम, प्यूठान र बुटवल थियो, तर लकडाउन भन्दै यस अघि आउने व्यापारी लिन आएनन्, हामीलाई पु¥याइदिन भनेका थिए, तर लकडाउनमा हामीले पाठापाठी त्यहाँ पु¥याउने अवस्था नै रहेन । अहिले खोरमा २५ माउँ, २ वटा भाले, ३ वटा छतुराछतौरी र ६३ वटा बच्चा छन् । पौष्टिक दानापानीको अभावले बच्चाहरु मृत्युको संघारमा रहेका छन् । अर्को समस्या पनि कृषि पेशामा थपिएको छ । तीन कठ्ठामा लगाएको टमाटरले बजार पाएको छैन । तुलसीपुरमा कन्ट्रयाक्ट ग¥यो, दश रुप्पे किलो दिए लैजान्छौँ भन्छन्, त्यसले मूल्य उठ्ने अवस्था पनि छैन ।
सुन्छु यो मेरो मात्र समस्या होइन, देउखुरीमा त तरकारी नबिकेर झनै समस्या छ रे । यस्तो बेलामा पनि बारीमा रहेको तरकारीलाई उपभोक्ताको भान्सासम्म सहज रुपमा पु¥याउन सरकारले किसानलाई कुनै सहुलियत दिन सकेको छैन । बरु राता, नीला, सेता प्राइभेट कारमा अहिले विचौलियाहरुले तरकारी खेरेर गाउँमा लगेर बेचिरहेका छन् । किसानले पाउने मूल्य र उपभोक्ताले तिर्ने मूल्यमा आकाश जमिनको फरक छ ।
यसको मतलव, सरकार किसानहरुका समस्यामा कत्ति पनि गम्भीर छैन र सहयोग गर्न पनि तयार छैन भन्न खोज्नुभएको हो ?
हो, मैले यत्रो फर्म सञ्चालन गरेको दश वर्ष भयो, मैले प्रदेश सरकारबाट एक पटक खोरसुधारका लागि तीन लाख रुपैयाँ जति अनुदान पाएकी हुँ । तर सबै व्यावसायिक किसानहरुले त्यही पनि पाउनसकेका छैनन् । झोलामा कृषि फर्म खोलेका सुकिला मुकिला नेताका आसेपासेले कृषि कर्मका नाममा लाखौँ अनुदान लिएको पनि मैले सुनेकी छुँ, जसको नेताहरुसँग पहुँच हुन्छ उसले बैंकबाट न्यून व्याज दरमा कृषि ऋण पनि पाएकै हुन्छन् । तर खोर र बारीमा वास्तविक रुपमा कृषि कर्म गरिरहेका मजस्ता पहुँच बाहिरका किसानलाई न मन्त्रालयले पत्याउँछ न बैंकहरुले । यो संस्कारबाट वाक्क भएर मैले मलाई अनुदान चाहिएन, तर किसानलाई दिइने सहुलियत व्याजको ऋण त दिनुस् भनेर धेरै पटक कृषि विकास बैंक र राष्ट्रिय वाणिज्य बैंकमा पनि धाएँ । तर पहुँच नहुनेलाई कहिले यो भएन त कहिले त्यो भएन भनेर पञ्छाइन्छ । सहुलियत ऋण वास्तविक किसानले पाएको अवस्थै छैन ।
कृषि मोटरलाई विद्युत छुट गर्ने सरकारको नीति छ भन्ने थाहा पाएर विद्युत कार्यालयमा पनि धाएँ, तर त्यहाँका हाकिमले पनि स्थलगत अनुगमन गर्दा पत्याउनुभएन– भन्नुभयो यहाँ त पशुपालन पनि जोडिएको रहेछ, यस्तोमा विद्युत छुट गर्न मिल्दैन । कस्तो नीति हो, यो सरकारको ? सरकारलाई मेरो एउटै आग्रह छ, यदि नेपाललाई कृषिमा आत्मनिर्भर गराउनु छ भने किसानलाई प्रोत्साहन गर्न आग्रह गर्दछु । सक्नुहुन्छ, किसानलाई सहुलियत दिएर स्वाभिमानी बनाउनुस्, होइन भने खोलामा बगाइदिनुस्, यो पीडामा कृषिलाई व्यवसायीकरण गर्न सकिन्न ।
यो त पछिल्लो समयमा देखिएको राजनीतिक चरित्र र लकडाउनको समस्या भयो, समग्रमा तपाईं एउटा किसान भएका नाताले सुरुवाती दिनमा कमाई कस्तो थियो ?
नढाँटी भन्नुपर्दा हामी परिवारका तीनैजना सदस्य र एक जना सहयोगीले यो व्यवसाय गरिरहेका छौँ । यसबाट तीन छोराछोरीको खर्च कटाएर वार्षिक ६ लाख रुपैयाँसम्म बचत समेत गरेका थियौँ । यो अघिल्लो वर्षसम्मको सालाखाला आम्दानी हो । तर यसमा हाम्रो चार जनाको दैनिक ज्याला जोडेका छैनौँ । तैपनि हामी उत्साहित थियौँ । मुलुकमा संघीयता आएपछि केही आशा पनि पलाएको थियो । वडा सरकारले पशु सुत्केरी भत्ता पनि पोहोर सालदेखि दिनथालेको थियो । तुलसीपुर उपमहानगरपालिका—१८ ले एउटा बंगुर व्याएको अवस्थामा सुत्केरी भत्ता भनेर ६ सय रुप्पे दान र एक बोरा दाना दिने पनि गरेको थियो । तर यो वर्ष दिएको छैन । वडामा जाँदा लकडाउनपछि भन्दै पठाइने गरेको छ । तैपनि मैले भारतका विभिन्न सहरहरुमा दैनिक ज्यालामज्दुरी गर्न तथा भारतीयहरुको कोठीमा काम गर्न जानेहरुलाई यहीँ कृषि कर्ममा लाग्न आग्रह गर्दछु । यहाँ आफ्नोपन पनि हुन्छ, कमाई पनि राम्रो हुन्छ ।
कुन सन्दर्भमा अपनत्वको कुरा गर्नुभयो त यो कृषि क्षेत्रमा ?
देख्नुभएन र ! हिंजोआज भारतीय सीमा नाकामा हजारौँ नेपालीलाई खेदेर दशगजामा अलपत्र छाडिएको । अहिले ती नेपाली दाजुभाइमा कति छटपटी होला ? न रोजगार, न उपचार । कम्पनीबाट धपाएर नाकामा ल्याएर अलपत्र पारिएको मैले हिंजो टिभीमा आएको समाचारमा देखेँ । सायद उहाँहरु आफ्नो घर फर्कन चाहनुहुन्छ । उहाँहरु हाम्रै घरछेउको स्कूलमा क्वारेन्टाइनमा बस्दै हुनुहुन्छ रे । उहाँहरुलाई मेरो विनम्र आग्रह के छ भने– उहांहरुको घर पछाडि पनि बाँझो जमिन होला, कान्लाकान्ली होलान्, चारमुरी धानफल्ने खेत पनि होला, खुर्सानी रोप्ने करेशाबारी पनि त होला । गर्न सके यहाँको जमिनमा अझै पनि सुन फलाउन सकिन्छ । हेर्नुस् न मैले यो भिरालो जमिन भाटेर सम्म गराएको एक वर्षपछि टमाटर खेती गरेँ । मौसमको खराबी र हवाहुरीले केही नोक्सान भयो, यो प्राकृतिक प्रकोप हो, सधै यस्तो हुँदैन । उहाँहरुलाई मेरो एउटै आग्रह के छ भने तपाईंले घर अघि बाँझो बारी छाडेर भारतीयहरुको गुलामी गर्न नजानुस्, महिनामा दश हजार कमाउन कुनै बाह्र बज्दैन । तपाईंहरु सायद केही दिन क्वारेन्टाइनमा बस्दै हुनुहुन्छ होला, यहाँ तपाईंको कोरोना उपचार पनि हुने छ । घर फर्केपछि मज्दुरी र ज्यालादारी गर्न कहिल्यै विदेश नजाने प्रण गर्नुस्, मैले तीन कठ्ठामा ६ लाख कमाउन सक्छु भने तपाईंले पनि सक्नुहुन्छ, सरकारलाई सबै मिलेर घच्घच्याउँला, वास्तविक किसानलाई सहुलियती ऋण र अनुदानको माग गरौँला ।
अन्त्यमा गोरक्ष दैनिकमार्फत् आम पाठक, किसान र उपभोक्ताहरुलाई केही भन्न चाहनुहुन्छ कि ?
सबैभन्दा पहिले मलाई किसानका समग्र समस्या हुँदाहुँदै पनि कृषि एउटा आकर्षक र नभई नहुने पेशा हो भन्ने सन्दर्भमा केही कुरा राख्ने मौका दिनुभएकोमा गोरक्ष दैनिक पत्रिका परिवारलाई विशेष धन्यवाद दिन चाहन्छु । त्यसपछि वर्तमान कोरोनाको महामारीमा भएको लकडाउनले नेपाल सरकारलाई पनि एउटा पाठ सिकाओस् भन्न चाहन्छु । समस्या अझै धेरै हुनसक्ने छन् । जेठ, असार अनिकालको पनि महिना हो । यहाँ उत्पादन नगर्ने भारतले कारणबस नाकाबन्दी ग¥यो भने के गर्ने ? लकडाउनले यो पाठ पनि सिकाएको छ भन्ने बुझ्नुहोला । खेतबारी बाँझो नराखेर खेतीपाती गरे दालरोटी र तरकारीका लागि नेपालले दशकौँसम्म विदेशको आश गरिरहनुपर्ने छैन ।