घरमा फर्केर आउँदा …

  •   
  •  

‘मेरो सानैदेखि डाक्टर बनेर सेवा गर्ने रुची थियो । त्यतिबेला उमेर पनि सानो थियो । धेरै कुराहरु थाहा थिएन । जनकपुरमा जानकी मेडिकल कलेजमा हामी एमबिएस प्रथम वर्षमा अध्ययन गरिरहेका थियौँ । त्यही समयमा मधेश आन्दोलन सुरु भयो । २०६४ सालजस्तो लाग्छ’ नेत्र विशेष डा. कौशल पोख्रेलले भने । हामीलाई त्यतिबेला ज्यान मार्ने धम्की आयो । हामी रातारात भागेर काठमाडौं आयौँ । हामीलाई दुई दिनभित्र जनकपुर छोडेर जाउ नत्र मर्छस् भनेर धम्की आएको थियो ।

त्यो बेला निकै डर लागेको थियो । रातारात काठमाडौमा आएर मातापिता र घरपरिवारलाई भेट्न पाउँदा जीवनमै खुशी भएको थिएँ । त्यो दिन अहिले पनि ममा ताजै सम्झना छ । दुई दिनपछि काठमाडौंमा आएर मातापिता र घरपरिवारलाई भेट गर्दा त्यस दिन म निकै खुशी भएको थिएँ । जीवनमा खुशीका पलहरु धेरै छन् । ‘भागेर मातापितालाई भेटेर उहाँहरुसँग खुशी साटेर र ज्यान बचाएको अनुभूति नै मेरो पहिलो खुशी हो’–डाक्टर पोख्रेलले भने । उनले काठमाडौंमा पुगेर मातापिता र परिवारसँग भेट्दा खुशीले आँखा रसाएको सम्झिए । ‘हामी रातारात रिक्सावालाको सहयोग मागेर केही परसम्म पुगेर हिड्दै जनकपुरको ढल्लकेबरसम्म आएर बस चढेर काठमाडौं पुगेका थियौँ’–उनले भने । त्यतिबेला पढाईभन्दा ज्यान ठूलो भएको भन्दै आफूहरु जोखिम मोलेर रातारात भागेको बताए ।

त्यस्तै उनले अर्कोे खुशी दोस्रो वर्षमा अध्ययनसँगै क्लिनीकमा एप्रोन र आला घाँटीमा भिडेर बिरामीहरुसँग जाँदा लागेको बताए । उनले आफू र अन्य साथीहरु एप्रोन र आला घाटीमा भिडेर अस्पतालको परिसरभरि घुमेको बताए । ‘सानैदेखि डाक्टर बन्ने सपना थियो । पहिलो वर्षमा हाम्रो कक्षामा मात्र पढाई भयो, दोस्रो वर्षदेखि क्लिनीकल पोष्टिङ भएको पहिलो दिन मलाई निकै खुशी लागेको थियो । त्यो पोशाक लगाएर आफू उभिँदा गौरव महशुस भएको सुनाए । ‘मैले त्यस दिन आफूले आफैलाई फरक देखेको थिएँ, एप्रोन र आला घाँटीमा भिडेर हिडदा’–उनले भने ।
त्यस्तै उनले एमबिएसको पढाई सकेर पहिलोपटक रसुवाको लामटाङमा जनताको सेवा गर्न पाउँदा अर्को खुशी प्राप्त भएको सुनाए । २०७२ सालको भूइँचालो गएपछि नेपाल सरकारले भोलेन्टियरको रुपमा त्यहाँ खटाएको र आफूले त्यहाँका जनतालाई स्वास्थ्य सेवा दिन पाउँदा खुशी महशुस गरेको सुनाए । ‘त्यहाँ कार्यरत चिकित्सक भूकम्पका कारण घर भत्किएर च्यापिएर घाइते हुनुभएको रहेछ, उहाँको ठाउँम मलाई सेवा गर्न पठाएको थियो, त्यतिबेला पनि म खुशी भएको थिएँ’ –डा. पोख्रेलले भने । त्यो संकटको बेला रसुवाको विकट क्षेत्रमा पुगेर जनताको सेवा गर्ने अवसर मेरो लागि खुशीको अवसर भएको उनले बताए ।

त्यसैगरी पोख्रेलले अर्को खुशी एमडीमा नाम निकाल्दाको लागेको बताए । उनले आँखासम्बन्धी नेत्र विशेषज्ञको रुपमा एमडी पढ्न आफूले पहिले नै रोजेको र त्यसमा नाम निकाल्दा निकै खुशी लागेको बताए । एक वर्षसम्म कोठामा बसेर कडा मिहिनेत गरेको थिएँ’–उनी भन्छन् । मिहिनेतको फल राम्रो आएकोमा खुशी व्यक्त गरे । ‘४ हजारले एमडीको लागि तयारी गर्नुभएको थियो, त्यसमा पनि ३५ जनाको मात्र कोटा थियो, ३५ जनामा म पनि पर्न सफल भएँ’–उनले भने–‘यो भन्दा मेरो लागि अर्को खुशी के हुन्छ जीवनमा ।’

त्यो सँगै डा पोख्रेलले करिब दुई वर्ष पहिले नुवाकोटको आँखा सल्यक्रिया शिविरमा गएर पहिलो पटक शिविरमा आँखाको शल्यक्रिया गरेर उज्यालो प्रदान गर्न पाउँदा खुशी लागेको सुनाए । ‘एकजना बूढीआमाको दुईवटै आँखामा मोतियाविन्दु भएर आँखा बन्द भएको रहेछ, पहिलो दिन शल्यक्रिया भयो, दोस्रो दिन उहाँको आँखाको पट्टी खोल्दा उहाँले मलाई देख्नुभयो’–उनले भने । बूढीआमाले मलाई देखेपछि मेरो नातिजस्तो सानो डाक्टर रहेछ भनेर गाला मुसार्दा किनै खुशी भएको पोख्रेलले सुनाए । ‘उहाँले खुशीले आँखाबाट आसु निकाल्दै मलाई अँगालो हाल्लनुभयो, म पनि निकै खुशी भएँ’–उनी भन्छन् ।

त्यस्तै डा पोख्रेलले एक वर्ष पहिले नेपाल सरकारले गरेको अन्धोपन सर्वेक्षणमा कर्णालीको दुर्गम क्षेत्रमा पुगेर अन्धोपन सर्वेक्षण गर्न पाउँदा खुशी लागेको सुनाए । राप्ती आँखा अस्पतालबाट आफू र नेत्र सहयाकलगायत ३ जनाको टोलीले विकट क्षेत्रमा गएर काम गर्न पाउँदा र त्यहाँको वस्तुस्थिति प्रत्यक्ष बुभ्mन पाउँदा खुशी लागेको सुनाए । उनले त्यहाँ पुग्दा भीरपाखामा आप्mनो ज्यान जोखिममा हालेर पनि काम गरेकोमा खुशी व्यक्त गरे । ‘त्यहाँ एक ठाउँमा जाँदा बाटो नै भुलेर भिरमा पुगेका थियौँ, यता पनि जान नसक्ने उता पनि जान नसक्ने अवस्थामा पुगेपछि अब यही मरिने भइयो भनेर म आत्तिएको थिएँ, तर धन्न बाँचेर आयौँ, यो पनि खुशीको कुरा हो’– उनले भने ।

पहिले बाटो देखिएको र हिड्दै जाँदा बाटो पत्ता नलागेपछि अब मरिने भइयो भनेर आफूहरु मरे पनि मोवाइलबाट पत्ता लाग्छ भनेर मोवाइलको लक समेत खोलेर बसेको उनले सम्झिए । ‘म मरे पनि मोवाइल कसैले भेटाउला र उनीहरु रहेछन् भनेर लक खोले, तर नेटवर्क पनि रहेनछ, बल्ल–बल्ल हामी गन्तव्यमा पुग्ने बाटो भेटाएपछि खुशी भएका थियौँ’–उनले भने ।

त्यस्तै डा पोख्रेलले अर्को खुशी अन्नपूर्ण बेस क्याम्प पहिलो पटक पुग्दा लागेको सुनाए । ७ दिनको ट्राभलमा तीन दिनमा अनपूर्णको बेस क्याम्पमा पुगेर त्यहाँको रमणीय दृश्य हेर्न पाउँदा अर्को खुशी लागेको सुनाए । उनले यस अगाडि कहीँकतै पनि नगएको र नेपाल पनि यस्तो सुन्दर रहेछ भनेर खुशी भएको सुनाए । ‘हामी काठमाडौंमा बसेका मान्छे कहींकतै पुगेका थिएनौ । त्यस्तो स्थानमा पहिलो पटक पुगेर रमाउन पाउँदा निकै खुशी लागेको थियो । हाम्रो देश कति सुन्दर र रमणीय रहेछ भन्ने लागेको सुनाए । त्यस्तै उनले आफू मेडिकल अफिसर हुँदा धेरै गरिब, असहाय विरामीहरुलाई निःशुल्क र आर्थिक अभाव भएका विरामीहरुको उपचारमा लाग्ने खर्च आफूले व्यहोरेर सेवा गर्न पाउँदा लागेको सुनाए । ‘मलाई नाम त्यति सबै थाहा भएन, धेरै व्यखर्ची विरामीहरुलाई आप्mनो पकेटबाट पैसा दिएर सेवा गरेको छु, मलाई यसैमा खुशी लाग्ने गर्दछ’ –पोख्रेलले भने । त्यस्तै उनले बाल्यकालमा आफू चकचके भएको आफन्तको बारीमा मुला चोरेर खाँदा खुशी लाग्ने गरेको सुनाए । ‘घरमा धेरै मुला हुन्थे, मुला उखेलेर मुलाको पात त्यहीँ गाडेर खाने गरेको मलाई अहिले पनि याद छ’– उनले भने ।

२०४६ सालमा सप्तरीमा जन्मेका हाल काठमाडौँ बस्दै आएका नेत्र विशेषज्ञ डाक्टर कौशल पोख्रेल हाल राप्ती आँखा अस्पताल रक्षाचौरमा कार्यरत छन् ।
प्रस्तुती : बालाराम खड्का