खुशी कहाँ छ ?

नारायणप्रसाद श्रेष्ठ

खुशी मानिसको अन्तरहृदय भित्र लुकेको चाहना हो । मानिस जतिबेला पनि आफूलाई खुशी र आनन्दित बनाउन चाहन्छ । कर्म र व्यवहारको हरेक पलमा आफूलाई खुशी बनाउने क्षणको प्रतीक्षामा ऊ दौडिरहन्छ । उठ्दा, बस्दा, हिड्दा घुम्दा होस् वा विचार साटासाट गराउने क्षण किन नहोस्, मानिस सधैं आफ्नै खुशी र आनन्द प्राप्तिको लागि कर्म गरिरहेको हुन्छ ।

लाग्छ खुशी नै उसको जीवनको उद्देश्य हो । यसरी जब मानिस आफूलाई खुशी र सुखी बनाउने ध्याउन्नमा समर्पित गर्ने अवस्थामा उत्रन्छ तब त्यसबेला उसको हरेक विचार केवल खुशी मात्र भएर देखापर्न थाल्छ । अरु विचारले कुनै महत्व राख्दैन । ऊ जति पाउँछ त्यत्ति उसले अरु थप पाउने अभिलाषा राख्दै अगाडि बढ्छ । फलस्वरुप उसको विचारमा स्वार्थले प्रवेश पाउने अवसर बढ्छ र ऊ स्वयम् स्वार्थी भएको पत्तै पाउँदैन । उसले आफूलाई स्वच्छ र पवित्र छु भनेर पनि भनिरहेको पनि हुन्छ । तथापि उसको हरेक विचारमा कतै न कतै स्वार्थ प्रतिबिम्ब भइहाल्छ । माया र मोहको बसिभूत भई मानिस एकोहोरो आफूलाई त्यसैमा लगाइरहन्छ । न त उसले त्यसबेला खुशीको महशुस गर्न सक्छ न त खुशीको नजिक पुग्ने उसमा विचार प्रष्फुटन हुन पुग्छ । क्षणिक स्वार्थ र मोहका कारण उसले प्राप्त गर्न खोजेको खुशी केवल वाह्य आवरणमा मात्र बन्न पुग्छ । ऊ केवल वाह्य आवरणमा सजाइएको क्षणिक मोहलाई नै खुशीको संज्ञा दिई त्यसैमा आफूलाई समर्पण गर्न पुगेको हुन्छ । जसले गर्दा ऊ सधैँ काकाकुलझैँ खुशी प्राप्तिभित्र दौडिरहन्छ ।

खुशी के हो ? न त उसले बुझ्ने अवसर प्राप्त गर्न सक्छ न त सुखको अनुभूति गर्ने वातावरण नै बनाउन सक्षम हुन्छ । खुशी नै उसको उद्देश्य हो भने एकपछि अर्को गर्दै ऊ खुशीको लागि तड्पिरहन्छ ।

यसरी जीवनको हरेक पल मानिसले आफूलाई समर्पित गरिरहेका हुन्छन् । तथापित खुशी के हो ? र यो कहाँ पाइन्छ ? त्यसको छेउटुप्पो थाहा नपाउने गरी दौडिरहेका हुन्छन् । मानिस भन्छन्– दुःखपछिको खुशी नै सुख हो । कसैकसैले खुशी मिहिनेतपछि प्राप्त हुने फल हो पनि भन्छन् र कसैले अरुलाई सहयोग दिनु खुशी हो भन्ने गरेको पनि पाइन्छ । र, कतिपयले आनन्द नै खुशी हो भन्ने गरेको पनि सुनिन्छ । वास्तवमा जहाँ आफूलाई आनन्द मिल्छ त्यहाँ खुशी मिल्छ । तर के त्यो आनन्द सधैं दिगो रहन्छ र ? यदि दुःखपछिको सुख, मिहिनेत र परिश्रमपछिको आनन्द, एकले अर्कालाई सहयोग गर्दा प्राप्त हुने सुख नै खुशी हो भने मानिस फेरि पनि सुख प्राप्तिको लागि किन भागदौड गरिरहन्छ ? के संघर्ष र कठिनाइको सामनाबिना खुशी प्राप्त भएको इतिहास कतै छ ? हो, परिश्रमपछि शरीरबाट निस्किएका पसिनाका धारा सुकाउन वा एकछिन आराम गर्दा जीवनले आनन्दको महशुस गरेको हुन्छ । के त्यही आनन्द खुशी हो त ? त्यो आनन्द पनि क्षणभरमा पुनः संघर्ष र परिश्रम गर्दा हराउँदैन र ? यसबाट के बुझ्न सकिन्छ भने दुःखपछिको सुख पनि खुशी रहेनछ । अँध्यारोबिना उज्यालै हुँदैन, दुःखबिना सुख हुँदैन भन्ने आधार मान्ने हो भने यो जीवन उकाली–ओराली भएर चर्खासरी गतिशील भइरहने सत्य होइन र ? कहिले सुख, कहिले दुःख यो त जीवनको सार नै हो । जीवन भनेकै सुख र दुःखको संगम पनि हो ।

भोकपछिको खानाले प्राप्त गर्ने आनन्द नै खुशी हो भनी मान्ने हो भने एउटा भोको व्यक्तिलाई सामान्य व्यञ्जन तयार गरी खान देऊ, उसले पेट नभरुञ्जेल खाइरहन्छ । खानाको पहिलो गास उसले जति मीठोसँग खान्छ त्यसपछिको गास उसको लागि कम आनन्दको हुँदै अन्तिम गासले उसलाई खास आनन्द दिँदैन । यदि उसलाई त्यसपछि पनि चौरासी व्यञ्जन तयार गरी खानाको लागि प्रेरित गर्ने हो भने त्यो व्यक्तिको लागि त्यही खाना विष बन्न पुग्दछ । अब भनौँ भोकपछिको खाना के खुशी हो ? खाना खुशी होइन भने के भोक खुशी हो त ? त्यो त झन हुँदै नहुने तर्क हो ।

मानिसको चाहना र इच्छा असीमित भएर देखापरेको हुन्छ । ऊ जति प्राप्त गर्छ त्यति नै उसले प्राप्त गर्ने अवसर खोजिरहन्छ । सुखको कल्पना गरी मानिस विभिन्न मठ, मन्दिर, मस्जिद, गिरिजाघर धाइरहेको पनि हुन्छ । मन्दिरमा भगवान छ, उसले मलाई सुख दिन्छ भनी विभिन्न ठाउँमा भागदौड पनि गरिरहेको हुन्छ । तर पनि उसले सुख र शान्ति पाइरहेको हुँदैन । देश, विदेशको रंगीचंगी दुनियामा रमाउन, घुम्न र आनन्द प्राप्त गर्न जाँदा पनि केही समयपछि ऊ जन्मभूमि घर फर्कनै पर्छ । त्यहाँ पनि उसले क्षणिक आनन्द वाहेक खुशी प्राप्त गर्न सक्दैन । मानिस धन, दौलत, ऐस आरामले सम्पन्न भएर पनि खुशीको लागि दौडिरहेको हुन्छ । एउटा कहानी सुनौँ । यसरी खुशी प्राप्त गर्ने भागदौडमा एकजना महाजन आफूसँग भएको केही खरखजाना र धनदौलत लिई खुशी खोज्न हिडेछन् । यसरी विभिन्न मठ, मन्दिर, सहर घुम्दा पनि उनले त्यो प्राप्त गर्न सकेनछन् । हिड्दै जाने क्रममा एकपटक उनी जंगलको बीच भागमा कुटी बनाई बसेका महात्माकहाँ पुगेछन् । महात्मालाई देखी उनलाई हो न हो, यिनलाई केही कुरा सोध्नुप¥यो भनी जिज्ञाशा जागेछ । त्यहाँ पुगी गुरुचरण प्रणाम गर्दै आफ्ना कुरा बताएछन् । महात्माले भनेछन् ।

तिमी के कामले आएका छौ ? महाजनले भनेछन् – प्रभू मैले धेरै ठाउँमा खुशी खोजेँ, कहीँ पाउन सकेन । मसँग सबै छ, तर खुशी छैन, के गरुँ बताइदिनोस् । यति भनेपछि महात्माले भनेछन्– महाजन तिमी खुशी खोज्न आएका रहेछौ । यो यहाँ होइन । यसै जंगल छेउ एउटा व्यक्ति बसेका छन् । त्यसकहाँ जाऊ र त्यसलाई खुशी के हो सोध । त्यसपश्चात महाजन त्यही आफ्ना धनदौलत लिई हिड्दै त्यहाँ पुगेछन् । त्यहाँ पुगेपछि उनले बाटामा एकजना च्यातिएको कपडा लगाएको व्यक्ति काम गरिरहेको देखेछन् । काम गरिरहेका कामदारलाई देखी महाजनलाई दया आएछ र भनेछन् – ए भाइ ! तिमी कति गरिब रहेछौ ? च्यातिएको कपडामा हिलो, मैलो, धुलाम्य भएर पनि काम गरिरहेका रहेछौ । तिम्लाई थकाई प्यास केही लाग्दैन ? मसँग सबै छ म तिमीलाई सहयोग गर्न चाहन्छु । तिमी केही नभएर यस्तो कष्ट भोगिरहेका हौला । तिमी चाहन्छौ भने धनसम्पत्ति पनि म दिन तयार छुँ । लौ यो नयाँ कपडा लगाऊ, शरीर ढाक, च्यातिएको कपडा हटाउ अनि काम गर । यति महाजनले भनेपछि त्यो व्यक्तिले पुलुक्क महाजनलाई हेरेर भनेछन् – महाजन तिमी धनाढ्य छौ । धनसम्पत्ति तिमीसँग प्रशस्त छ । तिम्रो अनेक चाहना पनि छन् ।

तिमी जे पनि गर्न सक्छौ । तिमी सहयोगी पनि छौ । तर तिमीले दिएको यो कपडा म स्वीकार्न सक्दैन । किनभने तिमीले दिएको यो कपडाले मलाई क्षणिक आनन्द त देला तर सुख, शान्ति र खुशी केही दिन सक्दैन । किनभने त्यो कपडा केहीदिन पछि यसरी नै च्यातिने छ । त्यसबेलामा तिमीजस्तो दयावान् त्यसबेला नहुन सक्छ । म फेरि उस्तै हुनेछु । तिमी आज आयौ, तिमी फेरि फर्कँदैनौँ । त्यसबेला म के गर्ने ? तसर्थ महाजन म खुशी र सुखी पनि छु र आनन्दित पनि छु । किनकि मसँग यस्तो दौलत छ जो तिमीसँग छैन । तिमी जुन चहना अनुसार यसरी भड्किरहेका छौ, यो तिम्रो अनगिन्ति चाहनाको परिणाम हो । महाजन अचम्म परेर सोधेछन् – होइन तिमीसँग त्यस्तो के सम्पत्ति छ र यस्तो कुरा ग¥यौ ? व्यक्तिले भने छ – मसँग सन्तोष छ । म न त कुनै चाहना राख्छु न त कसैको प्रवाह गर्छु । मसँग जे छ त्यसैमा रमाएको छु, खुशी छु र आनन्दित पनि छु । यो जड शरीर जन्म–मृत्युसँग गाँसिएको छ । जब म यसको प्रवाह गर्न खोज्छु । मेरा चाहना असीमित हुनसक्छन् । त्यसैले मैले यसलाई कुनै महत्व दिन्न । यसलाई जसरी प्रयोग गरे पनि यो मनको वशमा परिरहन्छ । आराम दिए आराम खोज्छ, परिश्रम गरे परिश्रम खोज्छ । यो यसरी नै जन्म मृत्युसँग गुज्रिरहन्छ । त्यसैले यसको महत्व मैले बुझेको छु । तसर्थ मैले मेरो अन्तरहृदयको मन भित्र सन्तोष राखेको छु ता कि यो कतै नभड्कियोस् । यसरी नै मैले जीवनलाई खुशी गराइरहेको छु । जब यो महाजनले सुने, उनी छाँगाबाट खसेझैँ भए । उनको आँखा रसायो ।

तसर्थ जन्म, मृत्युको इतिहासमा रहेको हाम्रो जीवनको गतिलाई सन्तोषी सदा सुखी भन्ने मान्यताका साथ अगाडि बढाउन जरुरी छ । खुशी न त दौलतमा रहेछ न त दयामै रहेछ । न त परिश्रममा रहेछ न त आनन्दमा रहेछ, खुशी बजारमा खरिद गर्ने वस्तुमा पनि रहेनछ । न त विनाशी शरीरको क्षणिक आनन्दमा नै हुने रहेछ । खुशी त अन्तरमनभित्रकोे आत्मसत्यभित्र लुकेको सन्तोष रहेछ । आनन्द त भौतिक शरीरको चाहना मात्र रहेछ । खुशी प्रकृतिमा रम्ने त्यो आत्मतत्व रहेछ जो भाव या प्रभाव कसैको बसमा प्रभावित नभई कर्म र व्यवहारबाट प्रतिविम्बित हुँदोरहेछ । यो त मनको पवित्र कुनामा रहेको त्यो आत्मसत्य रहेछ । जो सन्तोषमा प्रदर्शन भइरहेको हुँदोरहेछ । जे छ यो नै मेरो उपलब्धि हो र यसैमा रमाउने मेरो उद्देश्य भनी अनुभूति गर्न सक्ने क्षमतामा खुशी हुँदो रहेछ । खुशी जीवनमा आवश्यक रहेछ तर खुशी जीवन होइन रहेछ । त्यसैले प्रत्येक मानव जातिले सन्तोष लिन जान्नु पर्दोरहेछ । सन्तोषले कर्म र व्यवहारलाई अवसरको रुपमा प्रयोग गर्न मनलाई निर्देशन दिइरहेको हुन्छ, जहाँ इच्छा त्यहाँ उपाय खोज्न सिकाइरहेको पनि हुन्छ । तसर्थ यो कुरा सबैले बुझ्न जरुरी छ ।