रुकुम पश्चिम हत्याकाण्ड
रुकुम, १३ जेठ । पश्चिम रुकुममा दलित युवकको हत्या भएको तीन दिनसम्म पीडित परिवारले शव बुझन मानेका छैनन् । शव अस्पतालमा राखिएको जिल्ला प्रहरी कार्यालय रुकुमले जनाएको छ । जेठ १० गते पश्चिम रुकुममा प्रेमिकासँग विवाह गर्न भन्दै साथीसहित आएका जाजरकोट भेरी नगरपालिकाका नवराज विकसहित ३ जनाको केटी पक्षको आक्रमणबाट जोगिन नदीमा हाम फाल्दा मृत्यु भएको भनिए पनि घटनाको छानविन हुन भने बाँकी नै छ । परिवारले कुटपिटबाट हत्या गरेर नदीमा फाल्दिएको आशंका गरेको छ । सो घटनामा परेर तीनजना बेपत्ता छन् भने १२ जना घाइते छन् । अन्य २ जनाको शव पनि भेरी नदीमा भेटिएको थियो । सोही घटनामा अन्य ३ जना बेपत्ता छन् । प्रहरीले घटनामा संलग्न भएको आरोपमा वडाध्यक्षसहित ११ जनालाई नियन्त्रणमा लिएको छ ।
यसैबीच राष्ट्रिय मानवअधिकार आयोगकले घटनाको निष्पक्ष छानबिन गरी घटनामा संलग्नलाई कानुनी दायरामा ल्याउन सरकारलाई आग्रह गरेको छ । आयोगले मंगलबार विज्ञप्ति जारी गरी घटनाको छानबिन गर्न माग गरेको हो । आयोगले नेपालको कानुन र विभिन्न अन्तर्राष्ट्रिय कानुनविपरीतको यो घटनालाई जातीय विभेदको पराकाष्ठा भनेको छ । आयोगले घटनामा प्रभावकारी अनुसन्धानको लागि आयोगको कर्णाली प्रदेश शाखा कार्यालय, जुम्लाबाट स्थानीय प्रहरी प्रशासनलाई पत्राचार हुनुका साथै जिल्लास्थित मानवअधिकार अवस्था अनुगमन समितिबाट अनुगमन भइरहेको जनाएको छ ।
यसैबीच मंगलबारको संसद बैठकमा सांसदहरूले घटनाबारे छानबिन गर्न माग गरेका छन् । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले संसदीय छानबिन समिति गठन गर्न सरकारलाई आग्रह गरेको हो । मंगलबार बसेका प्रतिनिधि सभा र राष्ट्रियसभा दुवैमा समितिमा कांग्रेस सांसदहरुले छानबिन समिति गठन गर्न माग गरेको हो । कांग्रेस सांसद मीनबहादुर विश्वकर्माले प्रतिनिधिसभाबाट घटनाको छानबिन गर्नका लागि समिति गठन गर्न माग गरेका थिए । उनले घटनाको सत्यतथ्य छानबिन गर्न र कुनै प्रभावविना दोषीलाई कारबाही गर्नका लागि माग गरेका थिए । सांसद विश्वकर्माले राजनीतिक दबाव र प्रभावमा जिल्ला प्रशासन कार्यालय परेको भन्दै घटनामा संलग्न भनी पक्राउ गरेका मानिसलाई राजनीतिक पहुँचको आधारमा छोड्ने काम नगर्न सरकारको ध्यानाकर्षण गराएका थिए । सांसद प्रकाश रसाइलीले पनि उक्त घटनाको छानबिनका लागि संसदीय छानबिन समिति गठनको माग गरेका थिए । रुकुम र जाजरकोटका सांसदहरूको सहभागितामा छानबिन समिति गठनको माग गरेका हुन् ।
५ सदस्यीय छानविन समिति गठन
यसैबीच गृहमन्त्री रामबहादुर थापाले घटनाको छानविन गर्नका लागि ५ सदस्यीय समिति गठन गरेको जनाएका छन् । घटनाको छानबिन गर्नका लागि गृह मन्त्रालयले सहसचिवको नेतृत्वमा समिति गठन गरेको हो । गृहमन्त्री थापाले दलित युवाले मल्ल थरकी युवतीसँग विवाह गर्न खोज्दा भएको घटनाबारे छानबिन गर्नका लागि समिति गठन भएको संसदलाई जानकारी गराएका हुन् । राष्ट्रियसभाको मंगलबारको बैठकमा गृहमन्त्री थापाले गृह मन्त्रालयका सहसचिवको नेतृत्वमा प्रहरी वरिष्ठ उपरीक्षक, राष्ट्रिय अनुसन्धान विभागका अधिकृत प्रतिनिधि, महान्यायाधिवक्ताको कार्यालयका अधिकृत प्रतिनिधि र गृह मन्त्रालयका उपसचिव रहने गरी ५ सदस्यीय छानबिन समिति गठन गरेको जानकारी दिए । गृहमन्त्रीले जाजरकोटका १९ जनाको समूह केटी भगाउन रुकुम पश्चिम गएको र त्यसै क्रममा केटी पक्षकाले आक्रमण गरेको जानकारी गराएका थिए ।