विद्युत आपूर्तिमा समस्या

लोडसेडिङको ठाउँमा ‘सिस्टममा खरावी’को रोग

हरिदेव वली
दाङ, १३ जेठ । ‘लोडसेडिङ त सकियो, तर बत्ती जाने रोगबाट भने मुक्ति पाउन सकिएन’, घोराही–१८ का दिपेन्द्र बस्नेतले भने– ‘लकडाउनले घरबाटै काम गर्नुपर्ने तर बत्ती नहुँदा समस्या झनै थपियो ।’ दिपेन्द्र एउटा प्राइभेट कम्पनीका जागिरे हुन् । घरबाटै काम गर्न भनेर आएका उनी बत्ती नहुँदा थुप्रैपटक परेसान भएका छन् ।

उनीमात्र हैन, घोराहीकै यशश्वी श्रेष्ठ (सुवेक) कम्प्युटर इन्जिनियर हुन् । उनी अमेरिकाको एक्सोट्रयाक कम्पनीमा काम गर्छन् । दिउँसो दुई बजेदेखि मध्यरातसम्म उनी कम्प्युटरमा अनलाइन बसेरै काम गर्छन् । यो अवधिमा पटक–पटक बत्ती जाँदाको झन्झट उनले व्यहोरिरहेका छन् । यी त पेशाकर्मीहरु भए, लकडाउनका कारण घरमै बसेर समय कटाउन बाध्य इन्टरनेट उपयोगकर्ताले पनि बत्तीको अनियमितताका कारण दिक्क भएका छन् । ‘तुलसीपुरमा त जनप्रतिनिधि गएर बिद्युत कार्यालयलाई थर्काएछन्, यहाँ पनि थर्काउन पर्ने भए जस्तो छ’, घोराही–१५ का गिरिराज अधिकारीले भने– ‘लोडसेडिङ छैन भनेर के गर्नु ?’ ठूला उद्योगधन्दा र प्रतिष्ठानहरु बन्द भएका कारण अहिले बिद्युतको खपत नै कम छ । बिद्युत प्राधिकरणले बिभिन्न योजनाहरुका साथ बिद्युत बढी खपत गर्न उपभोक्ताहरुलाई भन्दै आएको छ । तर, बिद्युतको नियमित आपूर्ति भने हुन सकिरहेको छैन । यसले घरबाटै व्यवसाय गर्न बाध्य भएकाहरु र इन्टरनेटको प्रयोगबाट अध्ययन अनुसन्धान गर्ने तथा समय बिताउनेहरुलाई समस्या थपिदिएको छ ।

गोरक्ष दैनिकमा एकजना इन्जिनिएर यशश्वीले इमेल गरेका छन् । उनले आफ्नो इमेलमा भन्छन्– ‘घोराहीको विद्युत प्राधिकरणबारे कडा न्युज लेख्नुहोस् त, जहिले बत्ती हुन्न । बत्ती भए पनि हाफ भोल्ट मात्र, फोन गरेर बत्ती के भो ? भन्दा सिस्टम गएको हो, हामीलाई था छैन भन्छन् । पत्रकारहरुको ध्यान जाओस् यो विषयमा ।’ गोरक्ष दैनिकलगायतका सञ्चारमाध्यमहरुले पनि भोगेको समस्या र बिद्युत कार्यालयबाट पाउन जवाफ यस्तै नै हो ।

मंलबार विद्युत कार्यालयमा फोन गर्दा पनि यस्तै जवाफ दियो । ‘यो सिस्टम जाने भनेको के हो ? भन्ने गोरक्षको प्रश्नमा टेलिफोन उठाउने कर्मचारीले हाँस्दै भने– ‘मैले १५ बर्ष यहाँ काम गर्दा त यो कुरा बुझ्न सकेन, तपाईलाई फोनमा कसरी बुझाउँ ?’

कार्यालयले बिद्युत आपूर्तिको कुरा प्राविधिक कुरा भएको र सबै नियन्त्रण यहीँबाट हुन नसक्ने भएका कारण समस्या हुने बतायो । ‘अरुको दोष भनौ वा लापरबाही भनौ, त्यसको असर पनि यहाँ पर्छ’ एक कमचारीले नाम नबताउने शर्तमा आग्रह गर्दै भने– ‘सिस्टममा समस्या देखिनु भनेको आपूर्तिमा व्यवधान आउनु हो, त्यो पत्ता लगाएर बनाउने जिम्मा फरक–फरक युनिटलाई हुन्छ त्यसैले हामीले यकिन जवाफ दिन सक्दैनौ र रेडिमेट जवाफ दिनुपर्ने बाध्यता हामीलाई उत्पन्न हुन्छ ।’