जसले महामारीमा बुबाआमासँगै दुई बहिनी गुमाए

लिलाधर वली
दाङ, १३ जेठ । हाल घोराही–१५ रतनपुर निवासी ६९ बर्षीय माधव गौतम ५८ बर्षअघिको घटनालाई सम्झँदा अहिले पनि भावुक हुन्छन् । जुन घट्नाले उनको परिवारमा ठूलो बज्रपात ल्याएको थियो । २०२० सालको माघ–फागुनको महिनातिर दाङमा विफर भन्ने रोग महामारीका रुपमा फैलिएको थियो । त्यो बेला पनि अहिले फैलिएको कोरोना भाइरसको जस्तै विफरको औषधि बनिसकेको थिएन । औषधि नहुँदा रोग लागेपछि धेरै मानिसहरुको मृत्यु भयो ।

‘त्यसमध्येका चारजना हाम्रो परिवारका सदस्य थिए’, उनी सम्झन्छन्– ‘एकै महिनामा घरका बुबा, आमा र दुई बहिनी गरी चार जनालाई गुमाउनु परेको थियो ।’ बुबा केही दिन पहिले बिते पनि आमा र दुई बहिनीलाई लगातार तीन दिनसम्म गुमाउँदाको पीडा सम्झँदै ६९ बर्षीय गौतम भन्छन्– ‘त्यस्तो पीडा कुनै परिवारले भोग्न नपरोस्, जुन पीडा मैले भोगेको छु । घरमा प्रत्येक दिन मान्छे बित्दाको पीडा कस्तो हुन्छ ? धेरैले अनुभूति गर्न नसक्ने पीडा मैले जीवनमा त्यही बेला भोगेँ ।’

उनीसँगको कुराकानीका क्रममा उनी थुप्रै पटक भक्कानिए । एकपटकको बसाईमा उनले सबै बृतान्त भन्न नै सकेनन् । दोस्रो पटक कोट्याउँदा उनी यसरी खुले– ‘हालको घोराही उपमहानगरपालिका–११ गणेशपुर (तत्कालीन हापुर गाविसको वडा नं. ७) भन्ने ठाउँमा हाम्रो घर थियो । घरमा आठजनाको परिवार थियो । परिवारमा बुबाआमासँगै हामी दुई भाइ र चार बहिनीहरु थियौ । परिवार हाँसी खुशी चल्दै थियो । त्यो बेला जिल्लामा राम्रो उपचार गर्ने अस्पताल थिएन । त्यही बेला दाङमा विफर भन्ने रोग फैलियो । तर त्यस रोगको उपचारका लागि औषधि थिएन । अहिलेको कोरोना भाइरसजस्तै रोग थियो । रोगले महामारीको रुप लिएको थियो । त्यो बेला म १३ बर्षको थिए । म सानो भएकाले त्यो रोगबाट कति जनाले ज्यान गुमाए थाहा भएन । हाम्रो गाउँको नजिकैमा रहेको चौधरी गाउँमा पनि चौधरी केटीहरुको मृत्यु भयो भन्ने सुनिथ्यो । अहिलेजस्तो अवस्था नभएका कारण कतिले ज्यान गुमाए थाहा भएन ।’

उनी सम्झँदै अगाडि थप्छन्– माघको मसान्तमा विफर रोग बुबा (अनिरुद्ध गौतम) लाई लाग्यो । त्यो बेला बुबालाई ज्वरो आउने, शरीरमा फोका उठ्ने गरेको थियो । त्यही रोगका कारण २०२० साल फागुन १ गते बुबाको निधन भयो । बुबा त्यो बेला करिब ३२ बर्षको हुनुहुनथ्यो । बुबाको काज–किरया म र आमाले ग¥यौं । रोगको त्रास भएका कारण सबै मानिसहरु डराउने गरेका थिए ।

बुबाको १३औं दिनको काम फागुन १३ गते सकियो । बुबाको काम सकिएको केही समयपछि विफरकै कारण आमा (बामादेवी गौतम) बिरामी हुनुभयो । त्यो फागुनको १७–१८ गतेतिरको घटना हो । त्यसपछि दुईवटी बहिनीहरु बिरामी भए । बिरामी भएकी कान्छी बहिनीको त्यही फागुन महिनाको २४ गते निधन भयो । त्यसपछि २५ गते आमा र २६ अर्की बहिनीको मृत्यु भएको हो । त्यो बेला आमा २८ बर्षको हुनुहुन्थ्यो भने कान्छी बहिनी डेढ बर्ष तथा अर्की बहिनी करिब तीन बर्षकी थिइन् । फागुन महिनाको २४, २५ र २६ गते तीन दिनसम्म लगातार एक–एक सदस्य हाम्रो परिवारले गुमाउनुपरेको थियो । त्यो घटनाले हाम्रा परिवारमा ठूलो बज्रपात ल्यायो । १३ बर्षको उमेरमा मलाई घरको जिम्मेवारी सम्हाल्नुपर्ने भयो ।

त्यसपछि बचेका दुई बहिनी र एउटा भाइलाई हुर्काउने जिम्मेवारी मलाई थपियो । कान्छो भाइलाई आई.ए.सम्म पढाए । पढेर भाइ हापुर स्कुलमा शिक्षक भएको थियो । तर केही बर्षपछि भाईको पनि निधन भयो ।

दुःख सम्झाउने अर्को घटना
गौतमका दुःखका दिन त्यतिमा मात्र सकिएनन् । त्यसको ३८ बर्षपछि फेरि अर्काे दुःखद् घटना उनको घरको आँगनमै घट्यो । जुन घटनाले विस्तारै भुल्दै गएको २०२० साल फागुन महिनाको घटना पुनः बल्झाउने काम ग¥यो । जसरी ५८ बर्ष पहिले एकै महिनामा ४ जना घरका सदस्य गुमाएका गौतमले ३८ बर्षपछि पुनः आफ्नै घरको आँगनमा ज्यान गुमाउने चारजना तत्कालीन माओवादीका कार्यकर्तालाई देखे ।

उनी सम्झन्छन्– त्यो बेला सरकार र माओवादीबीच युद्ध थियो । त्यसैले माओवादीलाई घरमा राख्न मान्छेहरु डराउँथे । २०५८ साल माघको अन्त्यतिर हाम्रो घरमा माओवादी बस्नका लागि आए । तर मैले नबस्न आग्रह गरेको थिए । तर उनीहरुले उल्टै मलाई ‘आफूले घरमा बसेर खाने हामीलाई बस्नसमेत नदिने ?’ भनेर थर्काए । त्यसपछि जवर्जस्ती बसे । फागुन १ गते साँझको खाना खाए । उनीहरुले सेनाको डरले सेन्ट्री बस्ने गरेका थिए । तर त्यो सेन्ट्री बस्ने मानिसलाई पत्तै नदिएर सेना हाम्रो घरमै आइसकेको रहेछ । त्यसपछि दोहोर भिडन्त नै भयो । हाम्रो घर भित्रबाट माओवादी र बाहिरबाट सेनाले गोली हान्न थाले । त्यही भिडन्तमा आफ्नै घरको आँगनमा चारजना माओवादीले ज्यान गुमाए । ७ जनालाई गोली लाग्यो । तीन जना भागेछन् ।

त्यसपछि सेनाले मलाई र छोरालाई व्यारेकमा ल्याएर एकरात राखेर सोधपुछ ग¥यो, अनि छोड्यो । त्यही घटनाले गर्दा फेरि माओवादीले धेरै दुःख दिए । सेनालाई सुराकी गरेको आरोपमा पछि कुटपिटसमेत गरे ।

 

तस्विर : छोराबुहारी र नातीहरुका साथमा २० सालको महामारीका पीडित माधवप्रसाद गौतम । छोरो सुनिल गौतमको फेसबुकवाट ।