रुकुम पश्चिमको घटना दलित समुदाय माथीको हिंसा : कांग्रेस

दाङ १३ जेठ ।नेपाली कांग्रेसले रुकुम पश्चिममा भएको नृशंस हत्यामा संलग्नहरुलाई अबिलम्ब कारबाही गर्न माग गरेको छ । कांग्रेसले कानून हातमा लिनेहरुलाई कारबाहीको माग गर्दै भनेको छ, ‘देशलाई नै स्तब्ध बनाएको घटनाको निष्पक्ष र गहिरो छानबिन गरेर कुनै मोलाहिजा बेगर दोषीलाई कडा कार्वाही गर्न नेपाली कांग्रेस माग गर्दछ ।’ संगै कांग्रेसले सो घटनाका सम्बन्धमा ३ वटा प्रश्न उब्जाएको निश्कर्ष निकालेको छ ।

‘हत्याकाण्ड भएको खबर लगत्तै नेपाली कांग्रेस केन्द्रीय कार्यालय निरन्तर रुकुमको पार्टी नेतृत्व, प्रशासन र स्थानीयसंग सम्पर्कमा रहेकोे छ । घटना गम्भीर छ र यसले केही गम्भीर प्रश्नहरु उब्जाएको छ’ कांग्रेस प्रबक्ता बिश्वप्रकाश शर्माले जारी गरेको बिज्ञप्तीमा भनिएको छ ।

कांग्रेसले उठाएका सवालहरु निम्न छन् ।

(१) सामाजिक विभेद र बिसंगतिको प्रश्न
कानूनी रूपमा जातीय विभेद र छुवाछूतलाई दण्डनीय बनाइएको छ, तर नयाँ संविधान पछिको नेपालमा पनि अझै पनि यस्ता घटना हुनु दुःखद छ । नेपाली कांग्रेसले रुकुमको घटनालाई दलित समुदाय माथिको हिंसाका रूपमा लिएको छ । प्रेम सम्बन्धमा जातीय प्रश्न खडा गरेर भएको हत्याको दोषीहरुलाई दण्डित गर्न नेपाली कांग्रेस माग गर्दछ ।

(२) राज्य प्रशासनको भूमिकामा प्रश्न
लक डाउनका समयमा एक जिल्लाबाट अर्को जिल्लामा युवाहरूको समुह जाँदै गर्दा रोक्ने कार्य प्रशासनले गरेको भए सायद यस्तो अप्रिय घटना नहुन सक्दथ्यो । राज्यको उपस्थिति न त्यसबेला देखियो न आक्रमणको घटना हुँदै गर्दा । नेपाली कांग्रेसले यो तथ्यलाई गम्भीरतापूर्वक लिएको छ र प्रशासन अनुपस्थिति उपर केन्द्रिय सरकारको धारणा माग गर्दछ ।

(३) निष्पक्ष अनुसन्धान र दण्डको प्रश्न
केही निश्चित मानिसले गरेको आक्रमणमा पुरै गाउँ समाजलाई बदनाम गराउने र दोषीलाई जोगाउने षड्यन्त्र हुनसक्ने संकेत हामीले पाएका छौं । जातीय विभेदको संकुचित मनोबिज्ञानले निहत्था युवाहरू माथि आक्रमणको कार्य गर्ने जो कोहि हुन्, तिनलाई कुनै ढिलाइ नगरी गहन अनुसन्धानको प्रक्रिया पूरा गरेर कानूनत अधिकतम दण्ड दिन नेपाली कांग्रेस माग गर्दछ ।

कांग्रेसले घटनामा जीवन गुमाएका नवराज बिक, टिकाराम सुनार र गणेश बुढा मगरको आत्माको शान्ति कामना गर्दै भेरी नदिमा बेपत्ता भएका भनिएका अन्य युवाको तदारुकता साथ खोजी गर्न नेपाल सरकार समक्ष आग्रह र माग पनि गरेको छ ।