दाङ १३ जेठ । पुर्व प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभभापति शेरबहादुर देउवाले पत्रकारहरुलाई निर्धक्क भएर लेख्नका लागि आग्रह गरेका छन् । नेपाल प्रेस युनियनको स्थापना दिवसका अवसरमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले संचार माध्यमले औंल्याएका गल्ती सच्याउंदै अघि बढ्न प्रधानमन्त्रीलाई समेत आग्रह गरेका छन् । ‘स्वास्थ सामग्री खरिद गर्दा गम्भीर भ्रष्टाचार भएको विवरण हाम्रा संचार माध्यमहरुमा आए । तपाईंहरुले निडरता पूर्वक लेख्नु भयो’ देउवाले भने, ‘प्रधानमन्त्रीले धन्यवाद दिएर दोषीलाई कार्वाही गर्नुपर्नेमा उल्टै संचार माध्यम र सामाजिक संजालले अस्थिरता फैलाएको आरोप लगाउनु भयो । म उहाँलाई प्रेस स्वतन्त्रता विरोधी अभिव्यक्ति नराख्न फेरि पनि आग्रह गर्दछु । संचार माध्यमले औंल्याएका गल्ती सच्याउंदै अघि बढ्न प्रधानमन्त्रीले जरुरी छ ।’
लक डाउन भएको दुई महिना पूरा हुँदाको अबस्थमा पनि सरकारले पर्याप्त तयारी गर्न नसकेको देउवाले आक्रोश व्यक्त गरे । ‘प¥याप्त परिक्षण छैन । क्वारेन्टाइन कि गाई गोठ ? शोध्नुपर्ने स्थिति छ । पर्याप्त स्वास्थ सामग्री छैन । अत्यावश्यक राहतको उचित ब्यवस्थापन छैन । बिदेशमा अप्ठ्यारोमा परेका नेपालीलाई उद्दार गर्ने कुनै योजना छैन । यस्तो स्थितिमा मिडियाले अझै खरो ढंगले आवाज उठाउन जरुरी छ’ उनले भने ‘लक डाउनले समाजका सबै गतिविधि बन्द भएका बेला अनियमितता, बेथिति, भ्रष्टाचार र अलोकतान्त्रिक व्यवहार क्रमशः थप बढ्दै जान सक्ने खतरा देखिएका छन् । यस्तो बेला मिडियाले खबरदारीको भुमिका अझै बढाउन जरुरी छ । म निडर भएर आफ्नो कलम चलाउन तपाईंहरुलाई आग्रह गर्दछु । मेरो सदैव साथ तपाईंहरुलाई रहनेछ ।’
पत्रकारका लागि सुरक्षा सामग्री ब्यवस्था गरेर निःशुल्क परिक्षण गर्दै पत्रकारिता क्षेत्रलाई सुरक्षित गर्न देउवाले सरकार समक्ष माग पनि गरेका छन् । त्यसैगरी पत्रकार र मिडिया हाउसलाई राहत योजना ल्याउन पनि उनले सरकारलाई आग्रह गरेका छन् ।