‘अबको सोच ऋणमुक्त कसरी हुने भन्ने छ’
लिलाधर वली
दाङ, १२ जेठ । कुराकानीको अन्त्यमा उनले भने– ‘मरेको कुखुराको फोटो पठाउँछु, त्यही छापिदिनु, अलि–अलि प्रोपोगण्डा नगर्दासम्म सरकारले सुन्दो रहेनछ ।’ उनी अर्थात भरतराज देवकोटा । सामाजिक कार्यकर्ताको पहिचान बनाएका उनले केही समयदेखि कुखुरा पाल्दै आएका छन् र अण्डा उत्पादन गरेर बिक्री गर्छन् ।
उत्पादित अण्डाले बजार पाउन सकिरहेको छैन । बजार पाइहाले पनि मूल्य पाउन सकिरहेको छैन । बिचौलियाले अण्डा खरिद नगरिदिँदा त्यसै बिग्रेर पनि जान थालेको छ । ‘कुहाएर फाले पूरै खेर हो, त्यसैले सस्तोमा भए पनि बेच्न बाध्य छौं’ उनले भने– ‘एउटा अण्डाको लागत मूल्य १०÷११ रुपैयाँ पर्दछ तर
त्यसको आधामा बेच्न बाध्य छौ ।’ आफूले मात्र लकडाउनको अवधिमा ३० लाखको हाराहारीमा घाटा व्यहोर्नु परेको हिसाव सुनाउँदै उनले भने– ‘धेरैको हालत यस्तै छ । कतिले त व्यवसाय नै छाडिसक्नु भएको छ ।’
दाङ अण्डामा आत्मनिर्भर मानिन्छ । यो व्यवसाय आकर्षणको व्यवसायका रुपमा पनि विस्तारित हुँदै गएको थियो । तर, लकडाउनले त्यो रफ्तारमा ‘ब्रेक’ लगाइदिएको छ । सामान्य अबस्थामा दाङमा दैनिक १ लाख २६ हजार अण्डा उत्पादन हुन्थ्यो । अहिले समयमै दाना नपाउँदा त्यो संख्यामा भने केही गिरावट आएको छ । ‘मेरोमा दैनिक १४ पेटी अर्थात २९ सय ४० अण्डा दैनिक उत्पादन हुन्थ्यो, तर आजकल १० पेटी जति मात्र हुन्छ’, देकोटाले भने– ‘सबैकोमा यसरी नै केही घटेको छ ।’ दाङको उत्पादनले राप्ती अञ्चलसँगै सुर्खेत, दैलेख, कैलाली, कञ्चनपुर, पोखरा, बुटवलसम्म पनि बजार पाउँदै आएको थियो । अहिले त्यहाँसम्म पुराउनै समस्या परेको छ ।
फेरि कुखुरा थप्ने सोच छ कि छैन ? भनी जिज्ञासा राख्दा उनले दिग्क मानेको अवाजमा भने– ‘यी सकिए भने जग्गा बेच्ने हो ।’ अबको सोच ऋणमुक्त कसरी हुने भन्ने मात्र रहेको उनले बताए । उनका अनुसार केही व्यवसायीले त जमिन बेचेर ऋणमुक्त हुन थालिसकेका छन् । ‘बस्तु भए त्यसै राखिराखौं, अनुकूलको बेला बेचौंला भन्ने हुन्थ्यो । प्राणी परे यी, यिनको प्राण जोगाउनै प¥यो’, देवकोटाले भने– ‘त्यसैले यी जीवित हुँदासम्म दैनिकरुपमै लगानी बढ्दै जाने हो । उत्पादनले मूल्य नपाउँदा घाटा खाने हो ।’
‘पानी मात्रै खाएर पनि कुखुरा बाँच्दो रहेछन्’, भरतले लकडाउनको शुरुमा यस्तो अनुभव गरे । दाना सकिएपछि ५ दिन जति उनले पानीबाहेक केही पनि दिन सकेनन् । कुराकानीका क्रममा उनले अहिले कुखुरा व्यवसायीहरुले भोगेका समस्या हातका औला भाच्दै गिन्ती गर्न थाले ।
‘कुखुराका लागि दाना पाउन मुस्किल छ । त्यसमा पनि अर्काे समस्या भनेको उत्पादन भएका अण्डा बिक्री गर्न समस्या छ । बिक्री भए पनि मूल्य पाउन सकिएको छैन । कतिपय व्यवसायी आफ्नै समस्याले कुखुरा फर्महरु बन्द गर्न बाध्य भएका छन् । बन्द हुनुको मुख्य कारण लकडाउनका क्रममा कुखुराका दाना ल्याउन समस्या हुनु हो । आफूले पालेको प्राणी
भोकै मर्दाको पीडा पनि हाम्रो अर्को समस्या हो । चालकहरुले गाडी चलाउन नमान्दा, लकडाउनका क्रममा किसानहरुलाई बजारबाट दाना ल्याउन ठूलो समस्या छ ।’
‘आफै घर–घरमा गएर अण्डा बिक्री गर्ने कुरा भएन । आफै अमलेट बनाएर बेच्न पनि सकिँदैन । तरकारीझैं डुलाएर अण्डा खपत गर्न पनि सम्भव छैन । हामीबाट लगेर बेच्नेहरुको भूमिका त त्यहाँ हुन्छ नै । बजारमा २० रुपैयाँमा पर्ने अण्डा हामीले ६ रुपैयाँमा बिक्री गर्नुपर्ने बाध्यता रहेको छ । जवकी एउटा अण्डा
उत्पादन गर्दा त्यसको दोब्री लागत पर्छ’, उनले आफ्नो व्यवसायको ‘कथा’ सुनाउँदै भने । मूल्यका बारेमा सरकारी नीति आवश्यक भएको उनको बुझाइ छ ।
देवकोटाले भने– ‘सरकारले स्पष्ट नीति बनाइदिए किसानलाई सहज हुने थियो । यो अवस्थामा त किसान र उपभोक्ता मर्कामा पर्ने र बिचौलियाले फाइदा लिने खेल मात्र भएको छ । सरकारले उत्पादनका आधारमा किसानलाई अनुदान दिने व्यवस्था गरे सान तथा ठूला दुवै किसानहरुलाई राहत हुने थियो ।’
यो अवस्थाको अन्त्यका लागि सरकारले प्याकेज तयार गर्न पर्ने उनको सुझाव छ । ‘त्यसो गरेमा किसानहरुले निरन्तरता दिन सक्छन्’, उनी भन्छन्– ‘केही अनुदान, सहुलियत ऋण र बजारीकरणमा सहजता ल्याइदिन सक्ने हो भने व्यवसाय मर्दैन ।’ अहिले तत्काल दानाको ढुवानीमा सहजता ल्याउन उनको माग रहेको छ ।