खेर जाँदै तरकारी, लगानी र श्रम

शिवराज खनाल
लमही १३ जेठ । नोबेल कोरोना भाइरस (कोभिड–१९) संक्रमणको जोखिम बढेसंगै भएको लकडाउनका कारणले यतिबेला कृषकहरुले ठूलो क्षति व्योहोर्नु परेको छ ।

आफ्नो फर्ममा उत्पादन भएको तरकारी बिक्री नभएपछि उत्पादित तरकारी बङ्गुरलाई दानाको रुपमा प्रयोग गर्न थालिएको छ ।

बिदेशबाट फर्किएका ६ जना युबाहरुले अहिले दाङको घोराही उपमहानगरपालिका वडा नं १३ सेवार बगाले भन्ने स्थानमा ६ बिगाह जग्गा लिजमा लिएर तरकारी खेती गरिरहेका छन् । तरकारी खनजोत, मलबीउ, गोडमेलमा मात्रै हालसम्म २० लाख भन्दा धेरै रकम खर्च भएको उनीहरु बताउछन् । तरकारी टिप्ने ज्याला खर्च छुट्टै लाग्छ । उनीहरुले फलाएको ताजा तरकारी घोराही, तुल्सिपुर ,रोल्पा, हेटौडालगायतको बजारमा जान्छ । तर अहिले १० रुपैयाँमा पनि बिक्री नभएपछि टिपेको तरकारी बङ्गुरलाई दाना बनाउन बाध्य भएको उनीहरु वताउछन् ।

तरकारी टिप्नका लागि कृषकहरुले प्रती ब्यक्ति ५०० रुपैयाँका दरले ८ जना खेताला र स्वयंम आफै पनि खटिएका छन् ।
‘अहिले बङुरपालनगर्ने व्यक्त आउनु हुन्छ दानाका लागि आफै टिपेर लैजानु हुन्छ, तरकारी व्यावसायिहरु आउनु भएको छैन, पहिले तरकारी लैजाने ब्यापारीहरुकहाँ नै गएर हाम्रो तरकारी राख्दिनुहोस भन्ने हो भने अहिले तपाइको बारिमा उत्पादन भएको तरकारी कि कुहिन दिनुस नभए टिपेर खोलामा लगेर बगाइदिनुस अनि ढुक्क सङ सुत्नुहोस भन्छन’ कृषक नोज बहादुर घर्ती मगरले बताए ।

कोरोनासँग लड्न इम्यूनिटी पावर बढाउनुपर्छ भन्ने रेडियोमा सुनेको बताउँदै त्यसका लागि ताजा तरकारी खानुपर्छ भन्ने उनीहरुलाई थाहा छ, त्यसैले ताजा तरकारी बजारमा पुराउन चाहन्छन् । ‘तर अहिले तरकारी नै बिक्री हुन छाडेपछि ब्यापारीहरुले पनि तरकारी खरिद गर्न छाडेका छन्’, घर्ती भन्छन्–’दैनिक घाटा खाएर भएपनि १०/१२ रुपैयाँमा बेच्दै आएको थियौ। तर अहिले बिक्री नै नभएपछि कहाँ लगेर बेचौं ? ४ दिन अगाडि टिपेको टमाटर कार्टुनमै कुहिन लागेका छन् ।’

उनीहरुले मजदुरहरुलाई बारिका तरकारी सित्तैमा दिने गरेका छन् । उनीहरु भन्छन्–“जति टिप्न सक्छ टिप्नुस् आफैंले बिक्री गर्नुस् पैसा पनि आफैंले लिनुस् भनेर सोमबारदेखि बारिका सबै तरकारी खेतालालाई नै दिनथालेका छौ ।” उनीहरु सङ्ग टमाटरमात्रै ३ ट्र्क भन्दा बढी रहेको छ ।