गोरक्ष समाचारदाता
दाङ, १२ जेठ । नागरिक अभियन्ता डा. गोविन्द केसीले दुई दिने सत्याग्रहको घोषणा गरेका छन् । नेपाली नक्सामा समेटिएको नेपाली भूमि फिर्ताको प्रक्रिया शुरु गर्न र लकडाउनमा समस्यामा परेका सर्वसाधारणको जीविकाको उचित व्यवस्था गर्न राज्यको ध्यानाकर्षण गराउनका लागि दुईदिने सत्याग्रहको घोषणा गरेको उनले जानकारी दिएका छन् ।
डा. केसी हाल दार्चुलामा रहेर सेवा दिँदै आएका छन् । त्यहीबाट विज्ञप्ति निकालेर उनले मुख्य ती दुई बिषयका साथै शिक्षा, स्वास्थ्य, यातायात क्षेत्रमा सुधारको समेत माग गरेका छन् । उनले आउँदो जेठ २० गतेदेखि दुई दिने सत्याग्रह गर्ने छन् । त्यसैगरी उनले आफ्नो विगतका अनसनमा सरकारसँग भएको सहमति कार्यान्वयन गर्न पनि माग अघि सारेका छन् । गेटा मेडिकल कलेजलाई शीघ्र सञ्चालनमा ल्याउन तथा कर्णाली र राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा शीघ्र एमबीबीएस कार्यक्रम सञ्चालनको व्यवस्था गर्न पनि उनले विज्ञप्तिमार्फत आग्रह गरेका छन् ।